Biratnagar, Morang, Nepal
१ असोज २०८३, बिहिवार
+977 21 450305, 515728, 578305
कोशी

आफ्नै गृहजिल्ला र प्रदेशमा एक्लिदै सिटौला

सिटौलाका पुराना सहयात्री शिवाकोटीपछि क्रमशः प्रदेश सभापति उद्धव थापा, झापा सभापति देउमान थेवे, झापा उपसभापति केशवराज पाण्डे, कोशी संसदीय दलका प्रमुख सचेतक गोपाल तामाङ, झापाकै प्रदेश सांसद लख्खीकुमारी गणेश,  झापा सचिवसमेत रहेका सिटौलाकै भाञ्जा नवीन विमली पनि संस्थापनतिर खुलेका छन् ।
उद्‌घोष संवाददाता
१ असोज २०८३, बिहिवार

Advertisement

विराटनगर । कुनै बेला नेपाली कांग्रेसभित्र निर्णायक शक्ति बनेका कृष्णप्रसाद सिटौला अहिले आफ्नै जिल्ला झापा र गृह प्रदेश कोशीमै राजनीतिक रूपमा एक्लिँदै गएका छन् । सिटौलाले लामो समयदेखि बनाएको राजनीतिक घेरा पछिल्लो समय क्रमशः भत्किँदै गएको छ । 

विशेष महाधिवेशनपछि झापामा उनका पुराना सहयात्री र सहयोगीहरू गगन थापाको नेतृत्वतिर धमाधम खुलिरहेका छन् । मोरङमा पनि सिटौला निकट मानिने नेता भीम पराजुलीले आफू संस्थापन पक्षमै रहने घोषणा गरेका छन् । यसले सिटौलाको राजनीतिक आधार मानिएको कोशी प्रदेशमै उनी कमजोर बनेका छन् । 

विशेष महाधिवेशनबाट झापाका पूर्वसभापति सुधीर शिवाकोटी गगनतिर लागेका थिए । शिवाकोटी सामान्य नेता होइनन् । उनी २०५६ देखि २०६४ सम्म दुई कार्यकाल झापा कांग्रेसको सभापति भएका थिए । 

२०४६ र २०६२–६३ को जनआन्दोलनमा झापामा नेतृत्वदायी भूमिकामा रहेका शिवाकोटी २०७० को संविधानसभा निर्वाचनमा झापा–२ बाट निर्वाचितसमेत भएका थिए । शिवाकोटीले विशेष महाधिवेशनकै मञ्चबाट सिटौलालाई उनी गलत मार्गमा अघि बढेको बताएका थिए । 

सिटौलाका पुराना सहयात्री शिवाकोटीपछि क्रमशः प्रदेश सभापति उद्धव थापा, झापा सभापति देउमान थेवे, झापा उपसभापति केशवराज पाण्डे, कोशी संसदीय दलका प्रमुख सचेतक गोपाल तामाङ, झापाकै प्रदेश सांसद लख्खीकुमारी गणेश,  झापा सचिवसमेत रहेका सिटौलाकै भाञ्जा नवीन विमली पनि संस्थापनतिर खुलेका छन् । 

‘गगन र विश्वप्रकाश कांग्रेसका भविष्य हुन्,’ विमलीले भनेका छन् ‘अब पुराना नेताहरुले पार्टी नेतृत्व हाँक्न सक्दैनन् ।’

सिटौलाकै निर्वाचन क्षेत्र मानिने झापा–३ का क्षेत्रीय सभापतिसमेत रहेका उनका पुराना सहयोगी गणेश पोखरेल पनि संस्थापनतिर लागेको झापास्थित कांग्रेस नेताहरुले दाबी गरेका छन् । उनी असोज ३ को वडा सम्मेलनको तयारीमा जुटेको नेताहरुले बताएका छन् । यद्यपि उनले यसबारे औपचारिक रुपमा मुख खोलेका छैनन् ।

झापामा मात्रै होइन मंगलबारबाट मोरङमा पनि सिटौलाका लागि अर्को धक्का थपिएको छ । कांग्रेस संस्थापन इतर पक्षले मोरङका लागि केन्द्रीय प्रतिनिधि तोकेका मोरङका नेता भीम पराजुली संस्थापन पक्षमै उभिने भएका छन् । 

मंगलबार उनले सामाजिक सञ्जालमार्फत यस्तो घोषणा गरेका हुन् । उनले ‘चारतारे झण्डा र रूख जहाँ हुन्छ त्यो मेरो र हाम्रो स्वाभिमानसँग जोडिएको छ,’ भन्दै गगन थापा नेतृत्वमा एकताबद्ध हुन आह्वान गरेका छन् । 

विराटनगर महानगरका पूर्वमेयर तथा कांग्रेसका निवर्तमान केन्द्रीय सदस्य पराजुली कुनै बेला कोइराला समूहमा थिए । त्यसबेलादेखि नै उनी सिटौलानिकट मानिन्थे । 

१४ औं महाधिवेशनमा भने सिटौलासँगै उनी शेरबहादुर देउवा समूहमा पुगेका थिए । उनी संस्थापनतिरै फर्केपछि सिटौला कोशीमा कमजोर बनेका छन् । 

सिटौला गिरिजाप्रसाद कोइरालाको साथ पाएपछि कांग्रेसमा शक्तिशाली बनेका नेता हुन् । २०३३ सालदेखि कांग्रेस राजनीतिमा संगठित रूपमा जोडिएका नेता हुन् । 

२०४३ मा झापा कांग्रेसको उपसभापति भएका उनी २०४६ को जनआन्दोलनका क्रममा झापामा पार्टीका तर्फबाट संयोजक तथा कार्यवाहक जिल्ला सभापति बने । 

बहुदलीय व्यवस्था पुनस्र्थापनापछि झापा कांग्रेसको सभापति भएका थिए । झापाको संगठनमा लामो समय काम गरेर केन्द्रीय राजनीतिमा पुगेका सिटौला पछि कांग्रेसको केन्द्रीय राजनीतिमा प्रभावशाली नेताका रूपमा स्थापित भए । उनी महामन्त्रीसमेत बने । 

माओवादीलाई शान्ति प्रक्रियामा ल्याउने क्रममा कांग्रेसका तर्फबाट महत्वपूर्ण सहजीकरण गरेका सिटौला पछि उपप्रधान तथा गृहमन्त्री बने । संविधानसभामा संविधानको मस्यौदा समितिको नेतृत्वसमेत गरे ।

उनको सबैभन्दा ठूलो राजनीतिक शक्ति भने १३ औं महाधिवेशनपछि देखियो । २०७२ को १३ औं महाधिवेशनमा तत्कालीन संस्थापन समूहबाट विद्रोह गरेर सिटौलाले छुट्टै समूह खडा गरे । 
सभापतिमा उम्मेदवारी दिएका उनले ३२४ मत पाएर तेस्रो स्थान हासिल गरे । 

पहिलो चरणमा कुनै उम्मेदवारले बहुमत नल्याएपछि दोस्रो चरणमा सिटौलाको समर्थन निर्णायक बन्यो र उनले शेरबहादुर देउवालाई समर्थन गरे । त्यही समय सिटौलाको समूह कांग्रेसभित्र ‘थर्ड पोल’ का रूपमा स्थापित भयो ।

गगन थापा त्यही समूहबाट महामन्त्रीका उम्मेदवार बनेका थिए । उमाकान्त चौधरीलगायत नेता पनि सिटौलाको समूहमा थिए । त्यसपछिका वर्षमा कांग्रेसको आन्तरिक शक्ति समीकरणमा सिटौलाको समूहले एउटा छुट्टै प्रभाव बनायो । 

कतिपय विषयमा सिटौला समूह जता उभिन्थ्यो, त्यतै शक्ति सन्तुलन बदलिने अवस्था बनेको थियो । त्यही प्रभावका कारण सिटौलाले पार्टीभित्र मात्र होइन, सरकारमा समेत आफ्नो प्रभाव विस्तार गरे । तर १४ औं महाधिवेशनसम्म आइपुग्दा त्यो समीकरण बदलियो ।

१३ औं महाधिवेशनमा सिटौलाको समूहबाट महामन्त्रीको उम्मेदवार बनेका गगन थापा १४ औं महाधिवेशनमा शेखर कोइराला समूहबाट महामन्त्रीमा प्रतिस्पर्धा गरे । 

सिटौलाले आफ्नो समूहबाट प्रदीप पौडेललाई देउवा समूहको महामन्त्री उम्मेदवार बनाए । तर पौडेल पराजित भए । यससँगै सिटौलाले लामो समय बनाएको छुट्टै संगठनात्मक शक्ति कमजोर हुन थाल्यो । 

गगनसँगको सम्बन्धमा आएको यही दूरी अहिलेको कांग्रेस समीकरणको एउटा महत्वपूर्ण पृष्ठभूमि हो । 

१३ औं महाधिवेशनमा सिटौलाको प्यानलबाट महामन्त्रीमा उठेका गगन अहिले कांग्रेसको सभापति छन् । विशेष महाधिवेशनबाट गगन थापाको नेतृत्वमा नयाँ केन्द्रीय कार्यसमिति बनेपछि कांग्रेसको संस्थापन र देउवा पक्षबीच विवाद थप गहिरिएको छ । 

विशेष महाधिवेशनबाट आएको नेतृत्वलाई निर्वाचन आयोगले मान्यता दिएपछि देउवा पक्ष त्यसविरुद्ध अदालत पुगेको थियो । सर्वोच्च अदालतले विशेष महाधिवेशनबाट आएको नेतृत्वलाई मान्यता दिने निर्णय पुनरावलोकनका लागि बाटो खोलेपछि अहिले पनि कांग्रेसभित्र दुई धारको विवाद कायम छ । 

यही नयाँ समीकरणमा सिटौला भने गगन नेतृत्वको विशेष महाधिवेशनको विपक्षमा उभिए । उनलाई राष्ट्रियसभा दलको नेताबाट हटाइयो । अहिले  उनको पुरानो समूहका धेरै नेता भने गगन नेतृत्वको संस्थापनतिर लागिसकेका छन् । 

‘सिटौलाको राजनीतिक जीवनको सबैभन्दा बलियो आधार झापा हो । यही जिल्लाबाट उनले कांग्रेस संगठनमा आफ्नो राजनीतिक यात्रा अघि बढाएका थिए,’ कुनैबेला सिटौला निकट मानिने झापा कांग्रेसका नेता लोकराज ढकाल भन्छन् ‘तर, गलत निर्णय र ढिपीले उहाँ अब असान्दर्भिक बन्ने दिशातिर लाग्नुभयो ।’

View : 45

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved