बजेट २०८३-८४
विराटनगर । नेपाल उद्योग परिसंघ (सीएनआई) कोशी प्रदेशका अध्यक्ष पवन सारडाले सरकारले प्रस्तुत गरेको आर्थिक वर्ष २०८३/८४ को बजेटलाई दूरदर्शी, विकासमुखी र आम नेपालीको भविष्य निर्माण गर्ने खालको बजेट भएको बताएका छन् ।
बजेटबारे प्रतिक्रिया दिँदै उनले खेलकुद पूर्वाधार विकासका लागि फुटबल र क्रिकेटप्रेमी युवालाई लक्षित गरी ठूला रंगशाला निर्माणको अवधारणा ल्याइनु सकारात्मक पक्ष भएको बताए। विकासका विविध आयामलाई समेट्दै सरकारले खेलकुद क्षेत्रलाई पनि प्राथमिकतामा राखेको उनको भनाइ छ ।
सारडाले उद्योग तथा लगानीका क्षेत्रमा देखिएका प्रशासनिक जटिलता हटाउने प्रयास बजेटले गरेको उल्लेख गरे ।
विगतमा उद्योग स्थापना, जलविद्युत् आयोजना सञ्चालन तथा अन्य ठूला लगानीका परियोजनामा विभिन्न निकायबाट सिफारिस र स्वीकृति लिन लामो समय लाग्ने समस्या रहेको भन्दै उनले कतिपय उद्योगीले दुई–तीन वर्षसम्म प्रक्रिया पूरा गर्नुपर्ने अवस्था भोग्दै आएको बताए। बजेटले यस्ता झन्झटिला प्रक्रियालाई सरलीकरण गर्ने संकेत दिएको र यसले लगानीकर्ताको मनोबल बढाउने विश्वास व्यक्त गरे।
उनले समग्रमा यो बजेट निजी क्षेत्र, उद्योग–व्यवसाय र आम नागरिक सबैका लागि सकारात्मक रहेको बताए। अब २१ खर्ब रुपैयाँको बजेट सफल बनाउन सरकार मात्र नभई निजी क्षेत्र, कर्मचारीतन्त्र र आम नागरिक सबैको जिम्मेवारी रहने उनको धारणा छ ।
राजस्व चुहावट, अवैध व्यापार, भन्सार छली तथा कर छलिजस्ता गतिविधि नियन्त्रण गर्न सके बजेट कार्यान्वयनमा ठूलो सहयोग पुग्ने उनले बताए। सरकारको राजस्व वृद्धि गर्ने लक्ष्य पूरा गर्न यस्ता विकृति नियन्त्रण अपरिहार्य रहेको उनको भनाइ छ ।
सरकारी कर्मचारीको तलब वृद्धिले कर्मचारीहरूको मनोबल बढाउने विश्वास व्यक्त गर्दै उनले श्रमिक, युवा तथा उद्यमशीलतालाई प्रोत्साहन गर्ने विभिन्न कार्यक्रम पनि बजेटमा समेटिएको बताए ।
डिजिटल भुक्तानी प्रणाली विस्तार तथा पारदर्शी आर्थिक कारोबारलाई प्रोत्साहन गर्ने नीति पनि स्वागतयोग्य रहेको उनको धारणा छ ।
विगत तीन दशकदेखि बजेट सुन्दै र निजी क्षेत्रको प्रतिनिधित्व गर्दै आएको उल्लेख गर्दै सारडाले यसपटकको बजेटले निजी क्षेत्रको मनोबल उल्लेखनीय रूपमा बढाएको बताए । सरकारले उद्योग, व्यापार र लगानीका क्षेत्रमा देखिएका समस्यालाई सम्बोधन गर्ने स्पष्ट संकेत दिएको उनको भनाइ छ ।
नेपालसँग तीव्र आर्थिक वृद्धि हासिल गर्ने पर्याप्त सम्भावना रहेको उल्लेख गर्दै उनले भारत र चीनजस्ता विशाल अर्थतन्त्रबीच अवस्थित नेपालमा हिमाल, पहाड, तराई, नदी–नाला तथा प्राकृतिक स्रोतको प्रचुर सम्भावना रहेको बताए। सही नीति र प्रभावकारी कार्यान्वयन भए नेपालले उच्च आर्थिक वृद्धि हासिल गर्न सक्ने विश्वास उनले व्यक्त गरे ।
विशेषगरी नयाँ उद्योग स्थापना प्रक्रियालाई सरल बनाउने, अनावश्यक प्रशासनिक खर्च र समयको दुरुपयोग कम गर्ने तथा उद्योग र व्यापारबीचको नीतिगत स्पष्टता कायम गर्ने प्रयास बजेटको महत्वपूर्ण उपलब्धि भएको उनको भनाइ छ । यसले आगामी दिनमा नयाँ उद्योग स्थापना र लगानी विस्तारमा थप उत्साह पैदा गर्ने उनले बताए ।
View : 309
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved