सुन्दरहरैँचा । मोरङको सुन्दरहरैँचा नगरपालिकामा स्थानीय तहबाटै भूमि प्रशासन तथा व्यवस्थापनसम्बन्धी सेवा प्रवाह सुरु गरिएको छ । नगरपालिकाको भूमि व्यवस्थापन शाखामार्फत सेवा प्रवाह गर्ने उद्देश्यले सोमबार आयोजित कार्यक्रमबीच सेवाको शुभारम्भ गरिएको हो ।
नगरपालिकाले भूमि प्रशासन तथा व्यवस्थापन सम्बन्धी सेवा स्थानीयस्तरबाटै उपलब्ध गराउने उद्देश्यले सेवा सुरु गरेको जनाएको छ । सेवा सञ्चालनमा आएसँगै जग्गा तथा भूमि व्यवस्थापनसम्बन्धी विभिन्न कामका लागि सेवाग्राहीलाई सहज हुने अपेक्षा गरिएको छ ।
कार्यक्रमका सभापति तथा सुन्दरहरैँचा नगरपालिकाका प्रमुख केदारप्रसाद गुरागाईंले नगरवासीलाई स्थानीयस्तरबाटै सहज, सरल र प्रभावकारी रूपमा भूमि प्रशासनसम्बन्धी सेवा उपलब्ध गराउने उद्देश्यले सेवा सुरु गरिएको बताए ।
उनले आवश्यक कागजातसहित सम्बन्धित शाखामा सम्पर्क गरी सेवा लिन सेवाग्राहीलाई आग्रह गरे ।
नगरपालिकाले भूमि प्रशासन तथा व्यवस्थापनसम्बन्धी सेवा प्रवाहलाई व्यवस्थित, पारदर्शी र प्रभावकारी बनाउँदै सेवाग्राहीको समय तथा लागत बचत गर्ने लक्ष्य लिएको जनाएको छ । कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेशराज कार्कीले स्वागत मन्तव्य राखेका थिए ।
कार्यक्रममा प्रमुख अतिथि जिल्ला समन्वय समिति मोरङका प्रमुख अजम्बर राईले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
त्यस्तै, नापी कार्यालय मोरङ विराटनगरका नापी अधिकृत मिथलेस यादव, नापी कार्यालय बेलबारीका प्रमुख सुदर्शनसिंह धामी, भूमि प्रशासन कार्यालय बेलबारीका प्रमुख दीपक कोइराला तथा भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा समन्वय प्रशासन मन्त्रालयका उपसचिव रोशनशंकर घिमिरेलगायतले भूमि प्रशासन तथा व्यवस्थापन सेवा स्थानीय तहबाटै सञ्चालन हुँदा सेवाग्राहीलाई पुग्ने सहजताका विषयमा धारणा राखेका थिए ।
कार्यक्रमका अवसरमा सेवाग्राहीलाई जग्गाधनी प्रमाणपूर्जासमेत वितरण गरिएको थियो ।
View : 30
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved