Biratnagar, Morang, Nepal
२५ फागुन २०८२, सोमवार
+977 21 450305, 515728, 578305
समाज

भाइको जमिनमा दाइको भोगचलन

न्यायिक समितिमा निवेदन
उद्‌घोष संवाददाता
१४ जेठ २०८१, सोमवार

प्रदीप र मनीषको नाममा रहेको जमिनमा उपकरण लगाएर माटो खनिदै । तस्वीर: उद्घोष

विराटनगर । एकाघरका दाजुभाइको जमिन भोगचलनमा समझारी नभएपछि विराटनगरको एक परिवारले दाजुको परिवारलाई कारवाही हुनुपर्ने माग गर्दै स्थानीय सरकार गुहारेको छ ।

मोरङ कटहरी–४ मा साढे ६ बिघा जमिन दाजुको परिवारले भोगचलन गरेर भाइको परिवारलाई सुबिधाबाट बिमुख गरेको जनाउँदै कटहरी गाउँपालिकाको न्यायिक समितिमा आइतबार निवेदन परेको छ ।

दाजु जयनारायण भगत र उनका छोरा सन्तोष भगतले जमिनमा प्रवेश नै गर्न नदिएको जनाउँदै भाइ प्रदीप भगतका छोरा मनीषले समितिमा कारवाहीका लागि निवेदन दिएका छन् । उनले आफ्नो जमिन आफूले नै प्रयोग गर्न पाउनुपर्ने वातावरण बनाई दिन आग्रह गरेका छन् ।

निवेदनमा जयनारायण र उनका छोरा सन्तोषले १६ वर्षदेखि जमिनको भोगचलन गरेको र आफ्नो जमिन घेराबेरा गर्न समेत नदिएको मनीषले जनाएका छन् । 

हाल सो जमिनको माटो खनेर बेचबिखन गरिदै आएको र रोक्न अनुरोध गर्दा धाकधम्की दिइने गरिएकाले न्याय पाउनका लागि निवेदन दिइएको जनाइएको छ । आफ्नो जमिनको मुखमा खाडल खनेर प्रवेशमै अवरोध गरिएको उनले जनाएका छन् ।

अरुलाई बिक्री गर्न नदिई सस्तो मूल्यमा जमिन प्रतिवादीले आफूसँग खरिद गर्न चाहेकाले कारवाही र न्यायको अपेक्षासहित निवेदन दिएको मनीषले बताएका छन् । उनले जमिन खनेर माटो निकालिएकाले त्यसको क्षतिपूर्तिको समेत माग गरेका छन् । 

‘म बिरामी भई रहने भएकाले छोरा मनीषको नाममा बकस गरी दिएर आराममा रहेको बेला दाजुको परिवारले जमिनमा प्रवेश नै गर्न नदिएपछि न्याय माग्न जानुपरेको हो’ प्रदीपले भने, ‘जमिनमा आए हातखुट्टा भाँचिदिन्छौं भनेका छन् ।’

पारिवारिक समस्या गाउँपालिकामा मात्रै हैन जिल्ला प्रशासन कार्यालयमा पनि पुगेको छ । प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईलाई पनि जानकारी गराइएको बताउँदै उनले आफ्नो जमिनमा दाजुको परिवारले हाल खनेर माटो बिक्री गरिरहेको प्रदीपले बताए । 

दाजुभाइको विवादमा जेलिएको जमिनमा एसीसी इँटा उद्योगले प्रयोग गर्दै आएको छ । दाजु र भतिजले इँटा उद्योग सञ्चालन गरे पनि जमिनवापत वार्षिक रुपमा धान दिने सर्त उल्लङ्घन गरेको उनले जानकारी दिए । 

इँटा उद्योगको बीचमा पर्ने जमिनबाट सार्वजनिक बाटो र मुल बनाइएको छ । सरकारको लगानीको बाटो र पुलमा उद्योगले यसअघि ढाट लगाएर सर्वसाधारणलाई निषेध गरेपछि प्रहरीले हस्तक्षेप गरेर खुलाएको थियो । 

सार्वजनिक बाटो र पुललाई नै निजी बनाउने दाजुको परिवारले आफ्नो जमिनमा पाइलासमेत टेक्न नदिएको र जमिनमा आए खुट्टा काट्ने धम्की दिएको प्रदीपले दाबी गरेका छन् ।

View : 879

Udghosh Daily प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१० सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१
अध्यक्ष : मोहन भण्डारी
सम्पादक : बन्धु पोखरेल

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved