विराटनगर । पूर्वाञ्चल विश्वविद्यालयले रसुवा, नुवाकोट, धादिङ र गोरखा लगायतका जिल्लाहरूमा हालै आएको भीषण बाढीका कारण प्रभावित नागरिकहरूको राहत तथा पुनस्र्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आर्थिक सहयोग गर्ने निर्णय गरेको छ ।
विश्वविद्यालय कार्यकारी परिषद्को शनिबार बसेको बैठकले पदाधिकारी, सम्पूर्ण शिक्षक तथा कर्मचारीहरूको भदौ महिनाको तलबबाट निश्चित रकम कट्टा गरी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा रहेको राहत कोषको खातामा जम्मा गर्ने निर्णय गरेको हो ।
गत भदौ १० गते रसुवाको रसुवागढी, भोटेकोशी नदी तथा तल्लो तटीय क्षेत्रमा आएको बाढीले पु¥याएको ठूलो जनधनको क्षतिप्रति विश्वविद्यालय परिवारले गहिरो दुःख व्यक्त गरेको छ ।
निर्णय अनुसार उपकुलपति र रजिस्ट्रारको एक महिनाको तलब तथा डीन, परीक्षा नियन्त्रक, प्राध्यापक र प्रशासकको आधा महिनाको तलब कट्टा गरिनेछ ।
त्यसैगरी सह–प्राध्यापक र मुख्य अधिकृतको सुरु तलबमानको १० दिनको, उप–प्राध्यापक, वरिष्ठ अधिकृत, सहायक प्राध्यापक, शिक्षण सहायक तथा अधिकृतको ७ दिनको, मुख्य सहायक र सहायकको ५ दिनको तथा सवारी चालक एवम् कार्यालय सहयोगी लगायतका श्रेणीविहीन कर्मचारीहरूको सुरु तलबमानको २ दिनको तलब कट्टा गरी राहत कोषमा पठाइने रजिस्ट्रार डा. रमेशबाबु काफ्लेद्वारा जारी सूचनामा उल्लेख छ ।
विश्वविद्यालयले आफ्ना सम्पूर्ण सम्बन्धन प्राप्त कलेज तथा क्याम्पसहरूलाई समेत विपद् प्रभावित परिवारहरूको राहत तथा पुनर्स्थापना कार्यमा स्वेच्छिक रूपमा आर्थिक सहयोग उपलब्ध गराउन आग्रह गरेको छ ।
View : 142
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved