Biratnagar, Morang, Nepal
२३ जेठ २०८३, शनिवार
+977 21 450305, 515728, 578305
स्वास्थ्य

मोरङमा पाठेघर क्यान्सरविरूद्ध एचपीभी खोप अभियान

उद्‌घोष संवाददाता
२२ माघ २०८२, बिहिवार

विराटनगर । स्वास्थ्य कार्यालय मोरङले पाठेघरको मुखको क्यान्सर रोग विरूद्धको एचपीभी (ह्युमन प्यापिलोमा भाइरस) खोप अभियान माघ २५ गतेदेखि सञ्चालन गर्ने भएको छ । 

अभियान अन्तर्गत मोरङ जिल्लाका सरकारी तथा गैरसरकारी विद्यालयमा कक्षा ६ मा अध्ययनरत १२ हजार ७ सय ५५ जना बालिकालाई खोप लगाइनेछ ।

जिल्ला खोप समन्वय समिति मोरङले बुधबार विराटनगरमा आयोजना गरेको अभिमुखीकरण कार्यक्रममा समितिका सदस्य सचिव तथा स्वास्थ्य कार्यालय मोरङका प्रमुख योगराज घिमिरेले माघ २५ गतेदेखि अभियान सुरू हुने जानकारी दिए । ३ देखि ५ दिनभित्र सम्पन्न गर्ने लक्ष्यसहित उक्त अभियानका लागि जिल्लाभर ८२७ वटा खोप केन्द्र तोकिएको छ ।

गत वर्ष अभियानमा छुटेका बालिकालाई समेत यसपटक खोप कार्यक्रममा समेटिने घिमिरेले बताए । उनका अनुसार गत वर्ष मोरङमा करिब ५० हजार बालिकालाई एचपीभी खोप लगाइएको थियो ।

पाठेघरको मुखको क्यान्सरका कारण नेपालमा हरेक वर्ष करिब एक हजार दुई सय महिलाको ज्यान जाने गरेको उल्लेख गर्दै घिमिरेले स्थानीय तहहरूले ३० वर्ष माथिका महिलालाई प्राथमिकता दिएर नियमित भीआईए जाँच पड्ताल गरिरहेको जानकारी दिए । 

लक्षित समूहका कुनै पनि बालिका नछुट्ने गरी अभियान सञ्चालन गरिने उनको भनाइ छ ।

कार्यक्रममा जिल्ला समन्वय समिति मोरङका प्रमुख अजम्बर राईले लक्षित समूहका सबै बालिकाको पहुंच सुनिश्चित गर्न सरोकारवाला निकायलाई आग्रह गरे । 

उनले पाठेघरको मुखको क्यान्सर विरूद्धको खोप सुरक्षित र प्रभावकारी रहेको भन्दै कुनै संकोच नगरी अभियानमा सहभागी गराउन आग्रह गरे ।

निजी अस्पताल सञ्चालकहरूको संस्था अफिनका कोशी प्रदेश अध्यक्ष डा.शंकर अधिकारीले खोप कार्यक्रमको विस्तार शतप्रतिशत पुर्याउने गरी अभियान सञ्चालन गर्न सुझाव दिए । 

नेपाल सरकारले अघिल्लो वर्षदेखि अर्वुदरोग विरुद्धको एचपीभी खोप अभियान सञ्चालन गर्दै आएको छ । गत वर्ष र यस वर्ष अभियानको रूपमा खोप सञ्चालन गरिए पनि आगामी वर्षदेखि यसलाई नियमित राष्ट्रिय खोप कार्यक्रम अन्तर्गत समेट्ने सरकारको निर्णय छ ।

विश्व स्वास्थ्य संगठनले सन् २०३० सम्म पाठेघरको मुखको क्यान्सर निवारण गर्ने लक्ष्य लिएको सन्दर्भमा नेपाल सरकारले पनि सोही लक्ष्यअनुसार प्रतिबद्धता व्यक्त गर्दै खोप र जाँच पड्ताल कार्यक्रमलाई प्राथमिकताका साथ अघि बढाउँदै आएको छ ।

View : 476

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved