Biratnagar, Morang, Nepal
१२ असोज २०८३, सोमवार
+977 21 450305, 515728, 578305
कोशी

उद्योगको लागत घटाई अर्थतन्त्र प्रतिस्पर्धी बनाउन उद्योगमन्त्री समक्ष उद्योग संगठनको आग्रह

उद्‌घोष संवाददाता
११ असोज २०८३, आइतवार

Advertisement

विराटनगर । उद्योग संगठन मोरङले संघीय सरकारका उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दीपकुमार साहसमक्ष औद्योगिक तथा आर्थिक समृद्धिका लागि उद्योगको लागत घटाउँदै उत्पादन तथा उत्पादकत्व वृद्धि गर्ने वातावरण निर्माण गर्न आग्रह गरेको छ ।

उद्योग संगठन मोरङको कार्यसमिति र मन्त्री साहबीच भएको छलफलमा संगठनका अध्यक्ष नन्दकिशोर राठीले सुनसरी–मोरङ औद्योगिक करिडोरसहित समग्र औद्योगिक क्षेत्रको लागत, पूर्वाधार, निर्यात तथा प्रतिस्पर्धात्मक क्षमतासँग सम्बन्धित विषय प्रस्तुत गर्दै तत्काल नीतिगत सुधार र कार्यान्वयन तहमा प्रभावकारी पहल गर्न आग्रह गरेका हुन् ।

अध्यक्ष राठीले औद्योगिक प्रयोजनका लागि प्रयोग हुने विद्युतमा लगाइएको मूल्य अभिवृद्धि कर (भ्याट) पुनरावलोकन गरी हटाउन माग गरे । विद्युत उद्योगको उत्पादन प्रक्रियाको आधारभूत आवश्यकता भएकाले विद्युतमा भ्याट थपिँदा विशेषगरी निर्यातमुखी, साना तथा मझौला, खाद्य र औषधि उद्योगको उत्पादन लागत बढ्ने उनले बताए ।

त्यसैगरी, सुनसरी–मोरङ औद्योगिक करिडोरमा सुख्खा याममा देखिने विद्युत् अवरोध, लो–भोल्टेज तथा ट्रिपिङको समस्या अन्त्य गरी गुणस्तरीय र नियमित विद्युत् आपूर्ति सुनिश्चित गर्न संगठनले आग्रह गरेको छ ।

भारतले नेपाली जुटजन्य वस्तुमाथि आगामी अक्टोबरदेखि हालको भन्दा चार गुणासम्म एन्टी–डम्पिङ शुल्क लगाउने विषयमा अनुसन्धान गरिरहेको उल्लेख गर्दै संगठनले त्यसलाई रोक्न कूटनीतिक पहल गर्न सरकारसमक्ष आग्रह गरेको छ ।

भारतले कच्चा तथा तयारी खाने तेलको आयातमा महसुल घटाएपछि नेपालबाट निर्यात हुँदै आएको प्रशोधित तेलमा पर्न सक्ने प्रभावप्रति पनि संगठनले सरकारको ध्यानाकर्षण गराएको छ। नेपाली तेल उद्योगमा भएको लगानी, रोजगारी र निर्यात संरक्षणका लागि वैकल्पिक नीतिगत उपाय अवलम्बन गर्न संगठनले माग गरेको छ ।

त्यस्तै, लामो समयदेखि निर्माण अलपत्र रहेको कटहरी–विराटनगर हुलाकी सडकको करिब ६ किलोमिटर खण्ड तत्काल सम्पन्न गर्न तथा सुनसरीको अमडुवामा प्रस्तावित विशेष आर्थिक क्षेत्र निर्माण प्रक्रिया शीघ्र अघि बढाउन पनि संगठनले सुझाव दिएको छ ।

View : 49

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved