Biratnagar, Morang, Nepal
२३ जेठ २०८३, शनिवार
+977 21 450305, 515728, 578305
समाज

२२ लाख खर्चिएर विराटनगरको ट्राफिक लाइट पुनः सञ्चालन गरिंदै

गत भदौ २४ गते जेनजी प्रदर्शन क्रममा पाँचै स्थानमा ट्राफिक लाइट तोडफोड भएपछि अहिले मेनरोड र कोशी राजमार्गमा जडित  पाँचवटै स्थानका ट्राफिक लाइट बन्द छन् ।
उद्‌घोष संवाददाता
१ वैशाख २०८३, मङ्गलवार

विराटनगरको मेनरोडस्थित जलजला चोकमा जडान गरिएको ट्राफिक लाइट । तस्वीर : बाबुराम/उद्घोष

विराटनगर । जेनजी प्रदर्शनका नाममा तोडफोड गरिएको विराटनगर बजार क्षेत्रको पाँचवटा ट्राफिक लाइट पुनः सञ्चालनका लागि २२ लाख रूपैयाँ बढी खर्च हुने भएको छ । 

महानगरपालिकाले ७७ लाख रूपैयाँको लागतमा पाँच स्थानमा ट्राफिक लाइट गरेर सञ्चालनमा ल्याएको थियो । तर गत भदौ २४ गते जेनजी प्रदर्शन क्रममा पाँचै स्थानमा ट्राफिक लाइट तोडफोड भएपछि अहिले मेनरोड र कोशी राजमार्गमा जडित  पाचवटै स्थानका ट्राफिक लाइट बन्द छन् । 

ट्राफिक लाइट तोडफोड हुँदा करीव २२ लाख रूपैयाँ बराबरको क्षति पुगेको महानगरपालिकाले जनाएको छ । 

क्षति पुगेका ट्राफिक लाइटलाई जडान गर्ने कम्पनीका प्राविधिकहरूले मर्मत गरी बैशाख दोस्रो साताभित्र सञ्चालन गर्ने तयारी गरिएको महानगरपालिका इन्जिनियर अर्जुन थापाले जानकारी दिए ।

जेनजी प्रदर्शनकारीकै निसानामा परेको प्रदेश सरकारले निर्माण गरी सञ्चालनमा ल्याएको बरगाछीको ट्राफिक लाइट पुनः मर्मत गरी सञ्चालनमा ल्याइएपनि हाल बन्द छ ।

तर महानगरपालिकाले जडान गरेका पाँच स्थानका ट्राफिक लाइट भने अहिलेसम्म मर्मत गरी सञ्चालनमा आएका छैनन् ।

विराटनगर बजार क्षेत्रभित्रको अस्तव्यस्त सडक यातायातलाई व्यवस्थित गर्न महानगरपालिकाले विराटनगरको रोडशेष चोक, तीनपैनी चोक, जलजला मोड, घाँस चोक र कञ्चनबारीमा ट्राफिक लाइट जडान गरेको थियो ।

कोशी प्रदेशको राजधानी शहर समेत रहेको विराटनगर महानगर क्षेत्रभित्र बढ्दो सवारी साधनको चापले ट्राफिक व्यवस्थापनको समस्या जटिल बन्दै गएपछि ठूलो खर्च जुटाएर ट्राफिक लाइट जडान गरिएको थियो । 

तर जेनजी आन्दोलनको सरोकारकै नभएको ट्राफिक लाइटमा आन्दोलनमा उत्रिएका प्रदर्शनकारीले तोडफोड गरेपछि अहिले पुनः जनताकै करबाट संकलित भएको रकम खर्च गर्नुपर्ने अवस्था उत्पन्न भएको हो ।

विराटनगर महानगरभित्र दैनिक करिव ९५ हजार सवारी साधन गुड्ने गरेको अनुमानका आधारमा आधुनिक प्रविधियुक्त ट्राफिक लाइट जडान गरिएको थियो । सोही अनुसार ईथ्री यार्सा जेभी काठमाडौंले ट्राफिक लाइट जडानको ठेक्का पाएर जडान समेत सम्पन्न गरेको थियो ।

जेनजी प्रदर्शनकारीले ट्राफिक लाइटका उपकरणमा आगजनी र तोडफोड गरी लाइट, एमसीबी र स्वीच अनअफ बोर्ड फुटाएका थिए । उनीहरूले ट्राफिक लाइट जडित पोलको तार काटेर पोलमा समेत क्षति पुर्याएका थिए ।

आन्दोलनकै मौका छोपेर ट्राफिक लाइटका लागि जडान गरिएका ब्याट्री तथा इन्भर्टर पनि चोरी भएका थिए ।

जिल्ला ट्राफिक कार्यालय मोरङका प्रमुख प्रहरी निरीक्षक सन्तोष न्यौपानेले विराटनगरका सवै ट्राफिक लाइटमा क्षति पुगेका कारण ट्राफिक व्यवस्थापनमा समस्या भइरहेको बताए । उनले महानगरपालिका र प्रदेश सरकारसँगको समन्वयमा अहिले सवै ट्राफिक लाइट मर्मत गरी सञ्चालन गर्ने तयारी भइरहेको जानकारी दिए ।

‘क्षति पुगेका लाइटहरूको आवश्यक सामान मगाउने काम भइरहेको जानकारीमा आएको छ, सायदै दुई हप्ताभित्र ६ वटै ट्राफिक लाइट सञ्चालन हुन्छन् भन्ने हाम्रो विश्वास छ’ उनले भने, ‘ट्राफिक लाइट सञ्चालनमा आएपछि ट्राफिक प्रहरीसहित ट्राफिक नियमका बारेमा सवारी साधन प्रयोगकर्तालाई सचेतनाको काम सुरू गर्नेछौं ।’

उनले अहिले ट्राफिक लाइट नहुँदा ट्राफिक प्रहरीले म्यानुअल रूपमा परिचालन भई ट्राफिक व्यवस्थापनको काम गरिरहेको जानकारी दिए । 

उनले ट्राफिक लाइट सञ्चालन भएपछि कम जनशक्तिबाट पनि ट्राफिक व्यवस्थापनको काम सहज रूपमा हुने बताए ।

View : 169

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved