विराटनगर । मधेशी समुदायको सामाजिक तथा राजनीतिक उत्थानका निम्ति समुदायबिच आपसी एकता र सहकार्य आवश्यक रहेको विराटनगरमा आयोजित एक कार्यक्रमका वक्ताहरुले बताएका छन् ।
मधेशी उत्थान विचार मञ्चले विराटनगरमा आयोजना गरेको मधेशी एकता सम्मेलनमा बोल्ने वक्ताहरुले यस्तो बताएका हुन । एकता र सहकार्यबाटै जुनसुकै लक्ष्य हासिल गर्न सकिने भएकाले समुदायबीचको भावनात्मक एकता अपरिहार्य रहेको उनीहरुले बताएका छन् ।
सो अवसरमा बोल्दै संविधानसभा सदस्य पवनकुमार सारडाले मधेशीहरु अधिकार सम्पन्न हुने सवालमा विगत भन्दा अवस्था केही फेरिए पनि अझै पनि कर्मचारीतन्त्रको शीर्ष स्थानहरुमा समुदायको उपस्थित नगन्य रहेको दाबी गरे ।
जनता समाजवादी पार्टीका मोरङ अध्यक्ष मो.नसरुलले राजनीतिक पहुंचबाटै समुदायको उन्नयन सम्भव रहेकाले समुदायबाट सक्षम नेतृत्व निर्माणका लागि काम गर्नुपर्ने बताए ।
कार्यक्रम संयोजक उमेश यादवले मधेशीहरु विभिन्न जातीय समुदायमा विभाजित रहेका कारण अपेक्षित उपलब्धि हासिल हुन नसकेको बताउँदै भावनात्मक रुपमा एकजुट भएर अघि बढ्नु आवश्यक रहेको उल्लेख गरे ।
युवा अभियन्ता पंकजकुमार बर्माले मधेशी उत्थानका निम्ति समुदायभित्र रहेका बिकृति तथा बिसंगतिहरुको अन्त्य गर्न समेत सामुहिक पहल आवश्यक रहेको बताए ।
नेकपाका वसिम आलमले स्वार्थ परक एकता नभई स्वच्छ भावनाबाट प्रेरित एकता र सहकार्यबाट मात्र उपलब्धि हासिल गर्न सकिने बताए ।
देव सेवा समितिका अध्यक्ष राजेन्द्रप्रसाद देवले मधेशी समुदायका कैयन मुद्दाहरु साझा समस्या रहेकाले मञ्चको कार्यसमिति बिस्तार गरेर अघि बढ्नुपर्ने सुझाव दिए ।
बुद्धिजीवी नन्दलाल साहको सभापतित्वमा भएको कार्यक्रममा नेपाली कांग्रेस मोरङका कार्यवाहक सभापति भक्तिनाथ माझी र राप्रपाका नेता प्रह्लादप्रसाद साह लगायतको उपस्थिति थियो ।
View : 90
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved