Biratnagar, Morang, Nepal
७ जेठ २०८१, सोमवार
+977 21 450305, 515728, 578305
समाज

विराटनगरका संस्थागत विद्यालयहरूले शुल्क बढाउन नपाउने

शिक्षा समितिका अध्यक्षसमेत रहेका मेयर नागेश कोइरालाको अध्यक्षतामा बसेको बैठकले शैक्षिक सत्र २०८१ का लागि शुल्क नबढाउने निर्णय गरेको हो ।
उद्घोष सम्वाददाता
३ वैशाख २०८१, सोमवार

विराटनगर । विराटनगर महानगरपालिकाले शैक्षिक सत्र २०८१ का लागि संस्थागत विद्यालयहरूले शुल्क बढाउन नपाउने निर्णय गरेको छ । नगर शिक्षा समितिको बैठकले अघिल्लै शैक्षिक सत्रको शुल्कलाई निरन्तरता दिने निर्णय गरेको हो । 

शिक्षा समितिका अध्यक्षसमेत रहेका मेयर नागेश कोइरालाको अध्यक्षतामा बसेको बैठकले शैक्षिक सत्र २०८१ का लागि शुल्क नबढाउने निर्णय गरेको हो ।

महानगरले विद्यालयको विभिन्न सुविधालाई आधार मानेर क, ख र ग श्रेणी विभाजित गरेको छ । सोहीअनुसार संस्थागत विद्यालयले लिने शुल्क निर्धारण गरेको छ ।

जसमा ग श्रेणीको आधारभूत तह (५ कक्षासम्म) १ हजार ७ सयदेखि २ हजार २ सय, आधारभूत तह (कक्षा ६–८) २ हजार २ सयदेखि २ हजार ७ सय र माध्यमिक तह (कक्षा ९–१२ सम्म) २ हजार ७ सयदेखि ४ हजारसम्म शुल्क लिन पाउने छन् । 

त्यस्तै शिक्षा निमावली २०५९ को अनुसूची २२ को खण्ड ख को उपखण्ड ७ बमोजिम प्रक्रिया पूरा गरी विद्यालयले प्रदान गरेको सेवा सुविधाका आधारमा ख वर्गका विद्यालयका लागि अधिकतम थप २५ प्रतिशतसम्म र क वर्गका विद्यालयका लागि थप अधिकतम ५० प्रतिशतसम्म शुल्क लिन पाउने महानगरको शैक्षिक प्रशासन महाशाखा प्रमुख कृष्ण भट्टराईले जानकारी दिए । 

उनले आर्थिक मन्दीलगायतका कारणले अभिभावकलाई आर्थिक भार नपरोस् भनेर अघिल्लो शैक्षिक सत्रको शुल्कलाई निरन्तरता दिने निर्णय गरिएको बताए । 

त्यस्तै बैठकले ‘सबै बालबालिकाको विद्यालयमा सहभागिता, गुणस्तरीय शिक्षा प्राप्तिको सुनिश्चितता’ नाराका साथ व्यापक रुपमा विद्यार्थी भर्ना अभियान सञ्चालन गर्ने निर्णय गरेको छ । 

वैशाख ७ गतेसम्म सघन भर्ना अभियान सञ्चालन गर्ने साथै छुटपुट विद्यार्थीका लागि बैशाखभर भर्ना अभियान जारी राख्ने, सामुदायिक विद्यालयहरूले भर्ना भएका सबै विद्यार्थीलाई निःशुल्क उपलब्ध गराउने, विद्यार्थी भर्नाका लागि विद्यालयहरूले आˆनो सेवा क्षेत्रभित्र व्यापक प्रचारप्रसार तथा सूचना प्रवाह गर्नुपर्ने निर्णय पनि शिक्षा समितिको बैठकले गरेको छ ।

View : 93

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved