Biratnagar, Morang, Nepal
२३ जेठ २०८३, शनिवार
+977 21 450305, 515728, 578305
कोशी

इटहरी गोल्डकप

सातदोबाटो युथ क्लबलाई ६-१ ले हराउँदै प्लानिङ ब्वाइज फाइनलमा, फागुरामले गरे ४ गोल

उद्‌घोष संवाददाता
५ वैशाख २०८३, शनिवार

सुनसरी । १६औं संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण इटहरी गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि प्लानिङ ब्वाइज युनाइटेड र गछिया युवा समाज मोरङबीच प्रतिस्पर्धा हुने भएको छ ।

इटहरी रंगशालामा शनिबार राति सम्पन्न दोस्रो सेमिफाइनलमा प्लानिङ ब्वाइजले सातदोबाटो युथ क्लब ललितपुरलाई ६–१ गोलको फराकिलो अन्तरले पराजित गर्दै फाइनलमा स्थान पक्का गरेको हो ।

यसअघि शुक्रबार भएको पहिलो सेमिफाइनलमा गछिया युवा समाजले साबिक विजेता मछिन्द्र फुटबल क्लबलाई हराउँदै उपाधि भिडन्त तय गरिसकेको थियो ।

प्लानिङ ब्वाइजको जितमा कप्तान फागुराम थारु नायक बने । उनले ह्याट्रिकसहित व्यक्तिगत ४ गोल गर्दै टोलीलाई प्रभावशाली जित दिलाए। यस्तै रोमन भुजेल र प्रतापसिंह राईले एक–एक गोल थपे ।

खेलको चौथो मिनेटमै रोमन भुजेलले कर्णरबाट सिधै गोल गर्दै प्लानिङ ब्वाइजलाई अग्रता दिलाएका थिए ।

२८औं मिनेटमा कप्तान फागुराम थारुले गोल गर्दै अग्रता दोब्बर बनाए। त्यसको चार मिनेटपछि उनले व्यक्तिगत दोस्रो गोल गर्दै पहिलो हाफमै टोलीलाई ३–० को आरामदायी अवस्थामा पुर्‍याए ।

दोस्रो हाफको सुरुआती मिनेटमै सातदोबाटोका सकल रेग्मीले एक गोल फर्काए पनि त्यसले खेलको दिशा बदल्न सकेन ।

दोस्रो हाफको १९औं मिनेटमा फागुरामले ह्याट्रिक पूरा गरे भने त्यसको चार मिनेटपछि पुनः गोल गर्दै व्यक्तिगत चौथो गोल गरे ।

दोस्रो हाफको खेलको ३३औं मिनेटमा प्रतापसिंह राईले गोल थपेपछि प्लानिङ ब्वाइजले ६–१ को शानदार जित निकालेको हो ।

उत्कृष्ट प्रदर्शन गरेका फागुराम थारु प्लेयर अफ द म्याच घोषित भए। उनलाई जिल्ला होटल तथा पर्यटन व्यवसायी संघ सुनसरीका अध्यक्ष तेजबहादुर पुरीले नगद १० हजार रुपैयाँ प्रदान गरे ।

राष्ट्रिय जागृति क्लबद्वारा आयोजित प्रतियोगिताको विजेताले १० लाख रुपैयाँ र उपविजेताले ५ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।

View : 131

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved