विराटनगर । उद्योग संगठन मोरङले आयोजना गर्न लागेको ‘विराट एक्स्पो २०२६’ को मुख्य प्रायोजक तोकिएको छ । संगठनले एक्स्ट्रिम इनर्जी ड्रिंकलाई मुख्य प्रायोजकका रुपमा अनुबन्ध गरेको हो । एक्स्ट्रिम इनर्जी ड्रिंक्स र उद्योग संगठन मोरङबीच बिहीबार औपचारिक सम्झौतापत्रमा हस्ताक्षर समेत सम्पन्न भएको छ ।
सम्झौतासँगै म्याक्स टाइगर इनर्जी ड्रिंक ‘इनर्जी पार्टनर’ तथा वामवाम हाइड्रेसन ड्रिंक ‘हाइड्रेसन पार्टनर’ का रूपमा विराट एक्स्पोसँग जोडिएका छन् ।
आगामी पौष २ देखि ११ गते सम्म संगठनले विराटनगरमा विराट एक्स्पोको यो नवौं संस्करण गर्न लागेको हो । करिब तीन दशकदेखि उद्योग संगठन मोरङले आयोजना गर्दै आएको विराट एक्स्पो पूर्वी नेपालको महत्वपूर्ण औद्योगिक तथा व्यापारिक प्रदर्शनीका रूपमा स्थापित छ ।
संगठनका अध्यक्ष नन्दकिशोर राठीले एक्स्ट्रिम इनर्जी ड्रिंकसँगको सहकार्यले विराट एक्स्पोको प्रभाव र पहुँच अझ विस्तार हुने बताए । उनले एक्स्पो उत्पादन र सेवाको प्रदर्शन मात्र नभई उद्योग, व्यापार, उद्यमशीलता, लगानी, रोजगारी र नयाँ अवसरलाई जोड्ने साझा मञ्च भएको बताए ।
यस वर्षको एक्स्पोलाई परम्परागत प्रदर्शनीभन्दा फराकिलो बनाउँदै लर्न एण्ड वर्क, बिल्ड, कनेक्ट, इन्फ्लुएन्स, व्यापार विस्तार र मनोरञ्जन लगायतका विभिन्न अवसरसँग जोडिने संगठनले जनाएको छ ।
एक्स्पोमा उद्योगी, व्यवसायी, उद्यमी, लगानीकर्ता, विद्यार्थी, युवा तथा नीति निर्माताको सहभागिता रहनेछ । एक्स्पोलाई दुई लाख ५० हजारभन्दा बढी आगन्तुकले अवलोकन गर्ने अपेक्षा निर्धारण गरेको जनाइएको छ ।
‘विराट एक्स्पो २०२६’ का संयोजक विपीन काबराले मुख्य प्रायोजकका रूपमा एक्स्ट्रिम इनर्जी ड्रिंकको सहभागिताले एक्स्पोमा थप ऊर्जा र आकर्षण थप्ने बताएका छन् । उनले यस साझेदारीलाई ब्राण्ड प्रवद्र्धनमा मात्र सीमित नराखी एक्स्पोका विभिन्न गतिविधि र अवसरसँग जोडिने बताए ।
एक्स्ट्रिम इनर्जी ड्रिंककी व्यापार प्रमुख सोनिया राणाले विराट एक्स्पोको नवौं संस्करणमा मुख्य प्रायोजकका रूपमा सहकार्य गर्न पाउनुलाई महत्वपूर्ण अवसरका रुपमा लिएको बताइन् । उनले एक्स्पोका विभिन्न गतिविधिमार्फत साझेदारीलाई प्रभावकारी र अर्थपूर्ण बनाउने प्रतिबद्धता गरिन् ।
विराट एक्स्पो २०२६ ले उद्योग, व्यापार, प्रविधि, लगानी, उद्यमशीलता र नयाँ पुस्ताका अवसरलाई एउटै मञ्चमा जोड्ने लक्ष्य लिएको जनाइएको छ ।
View : 53
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved