विराटनगर । पूर्व सभापति शेरबहादुर देउवा र नेता शेखर कोइराला पक्षले लगातार भाग खोज्दै असहयोग कायम राखिरहदा कांग्रेस सभापति गगन थापाले पार्टीभित्रको एकताले मात्रै अब नपुग्ने चेतावनी दिएका छन् ।
बुधबार विराटनगरमा आयोजित कोशी प्रदेशस्तरीय निर्वाचन समीक्षा कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उनले पार्टीभित्र एकता आवश्यक भएको तर त्यसले मात्रै अबको कांग्रेसलाई नपुग्ने बताएका हुन् ।
‘हामी मिल्नुको विकल्पै छैन, मिलाइन्छ । तर, हामी मिलेर मात्रै पुग्दैन, हामीलाई छोडेका १० लाख मतदातासम्म पुग्नुपर्नेछ । गुमेको विश्वास फिर्ता ल्याउनु पर्नेछ,’ उनले भने ‘नयाँ पुस्तासँग संवाद बढाउनुपर्नेछ । पार्टीलाई चार पुस्ताको समन्वयमा अघि बढाउनु पर्ने छ । हामीलाई अनुभव पनि चाहिन्छ, नयाँ ऊर्जा पनि चाहिन्छ ।’
पार्टीभित्र देखिएको असन्तुष्टि र विवादलाई लिएर उनले कार्यकर्तालाई ‘दास होइन, सचेत सदस्य’ का रूपमा व्यवहार गर्न पनि भनेका छन् ।
विशेष महाधिवेशन आयोजना हुँदै गर्दा थापाले कांग्रेस लास र दासहरूको पार्टी होइन भनेका थिए । यसअघि पनि पुराना नेताहरूको शैलीप्रति असन्तोष जनाएका थापाले विराटनगरमा पनि त्यसलाई दोहो¥याएका छन् ।
लामो समय एउटै क्षेत्रमा काम गरेका नेता चुनावमा नयाँ उम्मेदवारका पक्षमा नउत्रिने प्रवृत्तिमाथि प्रश्न उठाउँदै उनले भने ‘कुनै नेता चार–पाँचपल्ट चुनाव लड्नुभयो, त्यो ठाउँका कार्यकर्ताले दिनरात झोला बोकेर हिंडे । तर आज त्यही ठाउँमा अर्को साथी उम्मेदवार बन्दा एकपल्ट मत पनि नमाग्ने कुरा गर्न पाइन्छ ? कार्यकर्ता दास होइन, ऊ पनि पार्टीको सदस्य हो ।’
कांग्रेसको आगामी भूमिकाबारे बोल्दै उनले भने ‘हामी अहिले प्रमुख प्रतिपक्षमा छौं । सरकारले राम्रो काम गर्छ भने साथ दिन्छौं, जहाँ चुक्छ त्यहाँ खबरदारी गर्छौं । जहाँ बोल्नुपर्छ बोल्छौं, जहाँ लड्नुपर्छ लड्छौं—यही कांग्रेसको चरित्र हो ।’
थापाले कांग्रेस एक–दुई निर्वाचन परिणामले विचलित हुने पार्टी नभएको उल्लेख गर्दै संघर्षको इतिहास स्मरण गराए । ‘एउटा चुनाव हार्दैमा खुम्चिने र जित्दैमा उफ्रिने हुँदैन’ उनले भने, ‘हामी संघर्षबाट आएको पार्टी हौं ।’
थापाले कांग्रेसको अहिलेको मुख्य संकट ‘पहिचान र छवि’ को भएको बताएका थिए ।
‘हामीलाई अहिले पुरानो, भ्रष्ट र अक्षम भनेर चित्रण गरिएको छ । यसमा के–के सुधार गर्नुपर्ने हो, हामीले गम्भीर समीक्षा गर्नुपर्छ,’ विगतमा गैर–कम्युनिस्ट र गैर–राजावादी राजनीतिक धारको स्वाभाविक केन्द्र कांग्रेस नै रहेको स्मरण गर्दै थपे ‘पहिले ३०–३५ प्रतिशत ठाउँ स्वाभाविक रूपमा कांग्रेसको थियो । तर अहिले समाज बदलिएको छ, मतदाता बदलिएका छन् । यही परिवर्तनका कारण कांग्रेसले आफ्नो राजनीतिक स्थान, पहिचान र प्रस्तुति पुनः परिभाषित गर्नुपर्ने अवस्था आएको छ ।’
थापाले प्रतिस्पर्धी दलसँग जुध्न संगठनात्मक रूपमा बलियो हुनुपर्नेमा जोड दिए ।
भारतको उदाहरण दिंदै उनले भने, ‘जसरी ममता बनर्जीले ज्योति बसुको पार्टीलाई चुनौती दिन त्यस्तै संरचना बनाइन्, त्यसैगरी प्रतिस्पर्धामा उत्रनुपर्छ ।’
थापाले पार्टीभित्र प्रविधिको प्रयोग बढाउनु पर्नेमा जोड दिंदै पार्टी त्यही दिशामा अघि बढेको बताए ।
कार्यक्रममा बोल्दै महामन्त्री गुरुराज घिमिरेले क्रियाशील सदस्यलाई अधिकारबाट वञ्चित गर्न नखोजिएको बताएका छन् ।
‘नेतृत्वप्रति सदस्यको विश्वास गुमेपछि परिणाम नकारात्मक आउँछ । ६०–४० को गुट सकियो । ठीक छ अब राजनीतिक एकता गरौं । पार्टी घरेलु मामला हैन, नौलाख क्रियाशीलको मामला हो ।’
पार्टीलाई पुनर्जीवन दिन ग्रासरूट अभियान चलाउन खोजेको उनले बताए ।
अर्का महामन्त्री प्रदीप पौडेलले अब पार्टीलाई रूपान्तरण गरेर अघि बढाउने बताएका छन् । पौडेलले कांग्रेसलाई बलियो बनाउनकै लागि नेतृत्व बदलेको बताए ।
‘कांग्रेसको नीति र नेतृत्व बदल्नुको उद्देश्य पार्टीलाई अझ बलियो बनाउनु हो,’ उनले भने ।
View : 106
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved