विराटनगर । नेपाली कांग्रेसको गाउँ नगर अधिवेशन अन्तरगत कोशीका दुई उपमहानगर समितिको नेतृत्व टुंगिएको छ । धरान र इटहरी उपमहानगर समितिको नेतृत्व सर्वसम्मत चयन भएको हो ।
धरान उपमहानगर समितिको सभापतिमा नरेन्द्रकुमार राई (प्रवीण) चयन भएका छन् । उनको नेतृत्वको ३७ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन भएको जनाइएको छ ।
इटहरीमा बिहीबार विकास केसी सर्वसम्मत नगर सभापति चयन भएका हुन् । सभापतिका दाबेदार बालकृष्ण विष्टले उम्मेदवारी फिर्ता लिएपछि केसी सर्वसम्मत भएका हुन् ।
सभापतिका लागि बुधबार केसी र विष्टकै उम्मेदवारी दर्ता भएको थियो । तर दुवैबीच बिहीबार विहान सहमति भएसँगै नगर समिति चयन भएको जनाइएको छ ।
इटहरी उपमहानगर समितिको सभापतिका लागि उम्मेदवारी दर्ता गरेका कोविदजंग कार्कीले सहमतिका लागि भन्दै बुधबार नै फिर्ता लिएपछि केसी र बिष्ट प्रतिष्पर्धी बनेका थिए ।
सभापतिमा निर्वाचित भएका केसी यसअघिका दुईवटा अधिवेशनमा हेमकर्ण पौडेलसँग सभापतिमै पराजित भएका थिए । नेविसंघका पूर्व केन्द्रीय उपसभापतिसमेत रहेका केसी हाल जनता बहुमुखी क्याम्पस इटहरीको अध्यक्ष छन् । इटहरी नगर समितिको पदाधिकारी र सदस्यहरू समेत सर्वसम्मत गर्ने प्रयास भइरहेको जनाइएको छ ।
यता, धरान नगर सभापतिमा राई सर्वसम्मत भएसँगै उपसभापतिमा हिमाल श्रेष्ठ, महिला उपसभापतिमा शिला बज्राचार्य, सचिवमा सागर प्रसार्इँ र कोषाध्यक्षमा शिखा चेम्जोङ लिम्बू चयन भएका छन् ।
धरानका २० वटै वडामा वडा कार्यसमिति तथा क्षेत्रीय प्रतिनिधिको निर्वाचन निर्विरोध सम्पन्न भएको जनाइएको छ ।
शपथ ग्रहणपछि बोल्दै सभापति राईले कांग्रेसभित्र अव गुटबन्दी अन्त्य भएको बताए । उनले वडा तहदेखि नगर अधिवेशनसम्म सर्वसम्मत नेतृत्व चयन हुनुले पार्टीभित्र एकताको सन्देश प्रवाह भएको बताउँदै १५ औं महाधिवेशनका लागि कुनै पनि गुट उपगुट बाँकी नरहेको घोषणा गरे ।
नगर सभापति राईले आगामी निर्वाचनमा पार्टीले अघि सारेका उम्मेदवारलाई गुट उपगुटकै कारण पराजित हुने अवस्था आउन नदिने प्रतिबद्धता समेत जनाए ।
गत स्थानीय निर्वाचनमा कांग्रेसका किशोर राई पराजित हुनुमा पार्टीभित्रकै गुट उपगुट प्रमुख कारण रहेको दाबी गर्दै सभापति राईले अब भने कांग्रेस एकजुट भएको बताए ।
View : 55
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved