Biratnagar, Morang, Nepal
२५ फागुन २०८२, सोमवार
+977 21 450305, 515728, 578305
राष्ट्रिय

जेनजी प्रदर्शनमा प्रहरीको गोली लागेर १९ जनाको गयो ज्यान

उद्‌घोष संवाददाता
२३ भदौ २०८२, सोमवार

विराटनगर । जेनजी समुहको प्रदर्शनलाई नियन्त्रण गर्ने क्रममा प्रहरीले गोली चलाउँदा सोमबार १९ जनाको मृत्यु भएको छ ।

सरकारले फेसबुकसहित दुई दर्जन सामाजिक सञ्जाललाई बन्द गरिदिएपछि नेताका छोराछोरीले बिलासी जीवन बिताएको भन्दै जेनजी समुहले प्रदर्शन चर्काएका थिए ।

प्रदर्शनका क्रममा प्रहरीले गोली चलाउँदा सोमबार साँझसम्म १९ जनाको मृत्यु भएको जनाइएको छ । 

ट्रमा सेन्टरमा उपचाररत ग्लोबल कलेजमा अध्ययनरत ठेगाना नखुलेका १९ वर्षीय श्रीयाम चौलागाईं, बाँकेका २१ वर्षीय सुलभराज श्रेष्ठ, कीर्तिपुरका ४२ वर्षीय बुद्धि तामाङ, ठेगाना नखुलेका २९ वर्षीय गौरव जोशी र २९ वर्षकै ठेगाना नखुलेका स्टप अधिकारीको मृत्यु भएको छ । 

काठमाडौं मेडिकल कलेजमा उपचाररत मध्ये सौरम किशोर श्रेष्ठ र सुवास पोखरेल नामका युवकको मृत्यु भएको जनाइएको छ । अन्य मृतकको पहिचान खुलेको छैन ।

काठमाडौंको बानेश्वरकेन्द्रित प्रदर्शनका क्रममा संसद भवन प्रवेश गर्न खोजेपछि प्रहरीले स्थिति नियन्त्रणमा लिन गोली चलाएको हो । 

गोली लागेर घाइते भएका मध्ये ट्रमा सेन्टरमा ८, एभरेस्ट हस्पिटलमा ३, सिभिल अस्पतालमा ३, केएमसीमा २ र त्रिवि शिक्षण अस्पतालमा १ जनाको मृत्यु भएको छ । त्यस्तै सुनसरीको इटहरीमा प्रहरीले चलाएको गोली लागेर प्रदर्शनमा उत्रिएका दुईजनाको मृत्यु भएको छ ।

प्रदर्शनका क्रममा विभिन्न अस्पतालमा ३४७ जना घाइतेको उपचार भइरहेको जनाइएको छ । 

सिभिल हस्पिटलमा १००, ट्रमा सेन्टरमा ५९, एभरेस्ट हस्पिटलमा १०२, केएमसीमा ३७, त्रिवि शिक्षण अस्पतालमा १८, दमक अस्पताल ७, वीर अस्पतालमा ६, पाटन अस्पतालमा ४, विराट मेडिकल कलेजमा ४, नर्भिक अस्पतालमा ३, धरानस्थित बीपी प्रतिष्ठानमा २, गण्डकी मेडिकल कलेजमा १ जनाको उपचार भइरहेको छ । 

घाइते मध्ये ट्रमा सेन्टरका उपचाररत १० जना र एभरेस्ट अस्पतालमा उपचाररत ४ जना गम्भीर रहेको जनाइएको छ । उनीहरू मध्ये धेरैको टाउको र छातीमा गोली लागेको छ ।

View : 391

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved