Biratnagar, Morang, Nepal
१७ भदौ २०८३, बुधवार
+977 21 450305, 515728, 578305
कोशी

कस्मेटिक सामानभित्र लुकाएर ल्याउँदै गरेको पाँच हजार क्याप्सुल लागुऔषध बरामद

उद्‌घोष संवाददाता
१६ भदौ २०८३, मङ्गलवार

Advertisement

विराटनगर । मोरङको रंगेली नगरपालिका–५ धनापट्टीस्थित सीमा नाकाबाट सशस्त्र प्रहरीले कस्मेटिक सामानभित्र लुकाएर ल्याइएको पाँच हजार क्याप्सुल लागुऔषध बरामद गरेको छ ।

सशस्त्र प्रहरी बल, नेपाल बीओपी धनापट्टीबाट खटिएको चेकप्वाइन्ट टोलीले मंगलबार भारतबाट नेपालतर्फ आउँदै गरेका एक व्यक्तिलाई शंकास्पद अवस्थामा देखेपछि चेकजाँच गर्न खोजेको थियो ।

मन्दिरको साइटतर्फको बाटो हुँदै टाउकोमा झोला बोकेर नेपाल प्रवेश गर्दै गरेका ती व्यक्तिले सुरक्षाकर्मीले चेकजाँच गर्न खोजेपछि झोला छाडेर भारततर्फ फरार भएको सशस्त्र प्रहरीले जनाएको छ ।

सुरक्षाकर्मीले उक्त झोला खोलेर जाँच गर्दा कस्मेटिक सामानभित्र लुकाइछिपाइ राखिएको लागुऔषध क्लारिओ २५० का २५० पत्ता अर्थात २ हजार ५०० क्याप्सुल र ट्रामाडोलका २५० पत्ता (२ हजार ५०० क्याप्सुल) फेला परेको जनाइएको छ ।

बरामद गरिएको लागुऔषध तथा अन्य सामान आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय रंगेलीमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ । फरार व्यक्तिको समेत पहिचान तथा खोजी भइरहेको प्रहरीले जनाएको छ ।

View : 36

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved