विराटनगर । करिब डेढ दशकदेखि युवा पुस्तामाझ चर्चामा रहेको उपन्यास ‘समर लभ’ अब विराटनगरको रंगमञ्चमा उतारिएको छ ।
सुविन भट्टराईको चर्चित उपन्यासमा आधारित नाटक शनिबारदेखि वीरेन्द्र सभागृहमा मञ्चन सुरु भएको हो ।
कान्तिपुर थिएटरले पहिलोपटक विराटनगरमा ल्याएको नाटकको पहिलो प्रस्तुतिमै रंगमञ्चप्रेमीको उल्लेख्य उपस्थिति देखिएको थियो । उपन्यासका अतीत शर्मा र साया शाक्यका पात्रलाई कलाकारले रंगमञ्चमा प्रस्तुत गरेका छन् ।
सम्राट भुजेलको नाट्य रूपान्तरण तथा निर्देशन रहेको नाटकमा सागर खनालले अतीत र बास्ना तिम्सिनाले सायाको भूमिका निर्वाह गरेका छन् ।
विनिता घिमिरे, ब्रबिम बस्नेत, रक्षा गौतम, सनम श्रेष्ठ र जानकी बजगाईंसहितका कलाकारको अभिनय रहेको नाटकमा चलचित्र निर्देशक तथा अभिनेता अर्पण थापाले पनि पहिलोपटक रंगमञ्चमा अभिनय गरेका छन् ।
करिब एक घण्टा ५० मिनेट लामो नाटकमा प्रेम, आकर्षण, प्रतीक्षा, दूरी र बिछोडलाई अभिनयसँगै प्रकाश, संगीत र दृश्य संयोजनमार्फत प्रस्तुत गरिएको छ । निर्देशक भुजेलले ‘समर लभ’लाई प्रेम, समय, दूरी र सम्झनाबीचको यात्राका रूपमा रंगमञ्चमा उतारिएको बताए ।
उपन्यासकार भट्टराईले काठमाडौंमा मात्र सीमित रहेको ‘समर लभ’ पहिलोपटक विराटनगरमा मञ्चन हुनुलाई आफूले महत्वपूर्ण अवसरका रूपमा लिएको बताए ।
विराटनगरका दर्शकबाट पनि काठमाडौंमा जस्तै माया पाउने अपेक्षा रहेको उनको भनाइ छ ।
कान्तिपुर थिएटरका प्रमुख कार्यकारी अधिकृत प्रकाश पुरीका अनुसार यसअघि विराटनगरमा मञ्चन गरिएको ‘सेतो धरती’ले पाएको प्रतिक्रियापछि ‘समर लभ’ ल्याइएको हो ।
नेपाली रंगमञ्चलाई काठमाडौं बाहिरका दर्शकमाझ पु¥याउने उद्देश्यले अन्य सहरमा पनि नाटक प्रस्तुत गर्ने तयारी भइरहेको उनले बताए ।
कान्तिपुर थिएटरको यो छैटौँ प्रस्तुति हो । विराटनगरमा शनिबार र आइतबार गरी छवटा शो तय गरिएको छ । दुवै दिन बिहान ११ बजे, दिउँसो २ बजे र साँझ ५ बजे नाटक मञ्चन हुनेछ ।
टिकटको मूल्य ३००, ५०० र १ हजार रुपैयाँ तोकिएको आयोजकले जनाएको छ ।
View : 26
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved