विराटनगर । संखुवासभाको मकालु गाउँपालिका–३ हेदाङ्नामा ३६८ वटा चौंरीको पुच्छर (चमर) सहित एक ट्याक्टर प्रहरीले नियन्त्रणमा लिएको छ ।
भन्सार छली ल्याएका ती चमरको कूल मूल्य पाँच लाख ५० हजार मूल्य बराबर हुन आउने प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी निरीक्षक धनबहादुर राजवंशीले उत्तरी क्षेत्रको किमाथाङ्का नाकाबाट अवैध रूपमा भन्सार छलेर ल्याइएका चौंरीको पुच्छरसहित ट्याक्टर नियन्त्रणमा लिएको जानकारी दिए ।
इलाका प्रहरी कार्यालय हेदाङ्नागढीले कोशी राजमार्गअन्तर्गत खाँदबारी–किमाथाङ्का सडक खण्डको हेदाङ्ना चेकपोष्टमा भोटखोला गाउँपालिकाको हुङ्गुङबाट खाँदबारीतर्फ आउँदै गरेको १–०२–००३ त १२१७ नम्बर ट्याक्टर जाँच गर्ने क्रममा चौंरीको पुच्छर फेला परेको हो ।
घटनामा संलग्न रहेको आरोपमा ट्याक्टर चालक चिचिला गाउँपालिका–१ निवासी २० वर्षीय दिनेश राईलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
भन्सार छली ल्याइएको चौंरीको पुच्छर कसको हो, भन्ने अहिलेसम्म खुल्न सकेको छैन । नियन्त्रणमा लिएको अवैध चौंरीको पुच्छर किमाथाङ्का भन्सार कार्यालय खाँदबारीमा बुझाइएको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय हेदाङ्नाको गस्ती टोलीले चौंरीको पुच्छर र ट्याक्टर नियन्त्रणमा लिएर थप अनुसन्धान तथा आवश्यक कानुनी प्रक्रिया अघि बढाएको जनाइएको छ ।
View : 74
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved