विराटनगर । प्रदेशकै सबैभन्दा ठूलो सरकारी अस्पताल कोशी अस्पतालले आफ्नै ब्लड बैंक (रक्तसञ्चार सेवा) स्थापना गर्ने भएको छ ।
बिरामीको बढ्दो चापसँगै दैनिक रगत अभावका कारण बिरामी र उनका आफन्तले सास्ती खेपिरहेकै बेला आकस्मिक अवस्थाका बिरामीलाई समयमै रगत उपलब्ध गराउन आफ्नै संरचनामा ब्लड बैंक बनाउने प्रक्रिया सुरु गरिएको अस्पतालले जनाएको छ ।
अस्पताल प्रशासनका अनुसार अस्पतालले ब्लड बैंक सञ्चालनका लागि आवश्यक सामग्री खरिदका लागि गत पुस महिनामा अस्पतालले आह्वान गरेको बोलपत्रमार्फत ब्लड बैंकका लागि आवश्यक पूर्वाधार निर्माण, उपकरण जडान तथा सेवा सञ्चालनको व्यवस्था गरिने जनाएको छ ।
२४ लाखको बजेटमा निर्माण गर्न लागिएको सो ब्लड बैंक अस्पतालमै स्थापना भएपछि रगत संकलन, परीक्षण र भण्डारणको प्रक्रिया छिटो हुने भएकाले आकस्मिक सेवामा सुधार आउने अपेक्षा गरिएको अस्पतालका प्रशासन प्रमुख त्रिलोचन न्यौपानेले बताए ।
‘अहिले हामी बाह्य निकायमा निर्भर छौं, जसका कारण कतिपय अवस्थामा रगत अभाव हुन्छ,’ प्रशासन प्रमुख न्यौपानेले भने, ‘अस्पतालमै ब्लड बैंक सञ्चालनमा आएपछि बिरामीलाई छिटो र सहज रूपमा सेवा दिन सकिन्छ ।’
ब्लड बैंक सञ्चालनका लागि आवश्यक कर्मचारीको पनि दरवन्दी खुलाइसकेको र छनोट प्रक्रियामा रहेको न्यौपानेले जानकारी दिए ।
प्रदेशकै जेठो र ठूलो सरकारी अस्पताल कोशी अस्पतालमा टाढाका जिल्लाहरू र छिमेकी भारतीय शहरहरूबाट समेत बिरामीहरू उपचारका लागि आउने भएकाले त्यहाँ रगतको आवश्यक अत्यधिक रहेको अस्पतालमा कार्यरत चिकित्सकहरु बताउँछन् ।
आवश्यकता अनुसार समयमै रगत उपलब्ध हुन नसक्दा उपचारमा कठिनाइ आउने गरेको चिकित्सकहरुको भनाइ छ ।
अस्पालमा प्रसूति र सल्यक्रिया सेवा अत्यन्तै आपत्कालीन हुने भएकाले रगत अभाव हुँदा यो बिभाग सबैभन्दा बढी समस्यामा पर्ने गरेको अस्पतालकी स्त्री तथा प्रसूति रोग विभागकी प्रमुख डा. अञ्जु देव बताउँछिन् ।
‘हामीकहाँ प्रसूति र शल्यक्रियाका बिरामीमा रगतको अत्यधिक आवश्यकता हुन्छ,’ डा. देव भन्छिन्, ‘तर अभावका कारण कतिपय अवस्थामा बिरामी भर्ना गर्नुअघि नै एक पोका रगतको व्यवस्था गर्न लगाउनुपर्ने बाध्यता हुन्छ ।’
उनका अनुसार अस्पतालको आफ्नै ब्लड बैंक नहुँदा रेडक्रसमा निर्भर हुनुपर्ने अवस्था छ ।
‘कहिलेकाहीं निजी अस्पतालहरूले आफ्ना बिरामीलाई प्राथमिकता दिँदा यहाँका गरिब बिरामीहरू मारमा पर्छन्,’ उनी भन्छिन् ।
डा. देवले प्रसूति सेवालाई अत्यन्तै संवेदनशील र आकस्मिक सेवा भएको उल्लेख गर्दै अस्पतालले नै ब्लड बैक स्थापना गर्ने भएपछि धैरै बिरामीलाई आफैं रगत खोज्नुपर्ने बाध्यताबाट राहत मिल्ने बताइन् ।
प्रादेशिक रक्तसञ्चार सेवा विराटनगरका अनुसार कोशी प्रदेशमा दैनिक करिब ९०० देखि १००० युनिटसम्म रगतको माग हुने गरेको छ । विशेषगरी मोरङ जिल्लाका अस्पतालहरूमा रगतको माग अत्यधिक हुने गरेको छ ।
त्यसमाथि पनि पछिल्लो समय निर्वाचन जस्ता राजनीतिक गतिविधिमा मानिसहरू केन्द्रित हुँदा नियमित रक्तदान कार्यक्रमहरू ओझेलमा परेका छन्, यति मात्र होइन रेडक्रसमा राजनीतिक मानिस हावी हुँदा व्यवस्थापनमा हुने कमजोरीका कारण पनि रगत संकलनमा आएको गिरावटले अभावलाई अझ चर्काएको रेडक्रस सरोकार समाजका सुरबहादुर श्रेष्ठ बताउँछन् ।
View : 179
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved