Biratnagar, Morang, Nepal
२४ असोज २०८३, शनिवार
+977 21 450305, 515728, 578305
कोशी

जोगबनीतर्फ जाने दशैंको पैसा रोक्ने प्रयास, विराटनगरमा सुरू भयो ‘विराट ट्रेड फेयर’

उद्‌घोष संवाददाता
२३ असोज २०८३, शुक्रवार

Advertisement

विराटनगर । दशैंको किनमेलका नाममा सीमापारिको भारतीय बजार जोगवनीतर्फ जाने नेपाली उपभोक्ताको ठूलो रकमलाई विराटनगरमै खर्च गर्ने वातावरण बनाउन बिहीबारदेखि ‘विराट ट्रेड फेयर’ सुरू भएको छ । 

विराट व्यापार संघको आयोजनामा विराटनगरको मेनरोडस्थित जैन भवनमा सुरू भएको नौ दिने ट्रेड फेयरले स्थानीय बजारलाई चलायमान बनाउने र स्वदेशी उत्पादनको खपत र प्रवद्र्धन गर्ने लक्ष्य लिएको छ ।

दशैंलाई नै केन्द्रमा राखेर आयोजना गरिएको ट्रेड फेयरमा घरेलु तथा साना उद्यमीदेखि विभिन्न क्षेत्रका उत्पादक तथा व्यवसायीका स्टल राखिएका छन् । खाद्यान्न, कपडा, जुत्ताचप्पल, फर्निचर, टायल्स, विद्युतीय गाडी तथा स्कुटर, इन्टेरियर डिजाइनिङका सामग्रीदेखि स्थानीय तथा अर्गानिक उत्पादनसम्मलाई मेलामा प्राथमिकता दिइएको छ ।

स्टलहरूमा सहुलियत दर तथा विशेष छुटमा सामान बिक्री सुरू भएको आयोजकले जनाएको छ । कोशी प्रदेशमा उत्पादित ढाका, अल्लो लगायतका स्थानीय घरेलु उत्पादनलाई प्राथमिकताका साथ प्रदर्शनी तथा बिक्रीमा राखिएको छ ।

दाल चामल, चिनीलगायत खाद्यान्नसमेत सरकारी मूल्यमा खरिद गर्न सकिने व्यवस्था मिलाइएको दाबी छ । यसले दशैंका लागि आवश्यक दैनिक उपभोग्य वस्तु एउटै स्थानबाट खरिद गर्न सकिने वातावरण बनाएको जनाइएको छ ।

ट्रेड फेयरको उद्घाटन गर्दै कोशी प्रदेश सभाका सभामुख अम्बरबहादुर विष्टले संघको प्रयास सकारात्मक भए पनि विराटनगरको बजारलाई अझ प्रतिस्पर्धी र आकर्षक बनाउनुपर्ने बताए ।

उनले भारतीय बजारसँग प्रतिस्पर्धा गर्न मूल्यमा मात्र नभई सेवा, सुविधा र बजारको समग्र वातावरणमा पनि सुधार आवश्यक रहेको बताए । ‘भारतीय बजारको भन्दा थोरै फरक पारेर सामान बिक्री वितरण गर्नुपर्छ’ उनले भने ।

विराटनगरको बजार विस्तार अपेक्षाअनुसार हुन नसकेकोतर्फ पनि सभामुख विष्टले ध्यानाकर्षण गराए । विराटनगरमा पर्यटकीय आकर्षण तथा सार्वजनिक पूर्वाधारको कमीले पनि बाहिरबाट आउने उपभोक्तालाई लामो समय रोक्न नसकेको उनको भनाइ थियो ।

‘काली मन्दिर पनि प्रवद्र्धन भएको छैन, विराटनगरमा एउटा पार्क पनि छैन, के हेर्न आउने त ?’ उनले प्रश्न गर्दै विराटनगरको बजार विकाससँगै समग्र शहरी पूर्वाधार र आकर्षण विस्तार गर्नुपर्ने बताए ।

विराटनगरका व्यवसायीले लामो समयदेखि सीमावर्ती भारतीय बजार जोगबनीमा नेपाली उपभोक्ताको बढ्दो निर्भरतालाई स्थानीय व्यापारको प्रमुख चुनौतीका रूपमा उठाउँदै आएका छन् । दशैं, तिहारजस्ता ठूला चाडपर्वमा यो प्रवृत्ति अझ तीव्र हुने गरेको व्यवसायीहरूको भनाइ छ ।

विराट व्यापार संघका अध्यक्ष प्रमोद जिन्दलले दशैंको समयमा विराटनगरबाट ठूलो रकम जोगबनीतर्फ जाने गरेको भन्दै स्थानीय बजारमै उपभोक्तालाई आकर्षित गर्ने उद्देश्यले ट्रेड फेयर आयोजना गरिएको बताए ।

उनका अनुसार दशैं उपभोगको ठूलो पर्व भएकाले यो समयमा हुने खर्चको ठूलो हिस्सा स्थानीय बजारमा कायम राख्न सकिए त्यसको प्रत्यक्ष लाभ स्थानीय व्यवसायी, उत्पादक, श्रमिकदेखि राज्यको राजस्वसम्म गरेको छ ।

‘स्वदेशी बजारमा खरिद गर्दा उपभोक्ता र व्यवसायी दुवैलाई फाइदा हुन्छ,’ जिन्दलले भने, ‘स्थानीय बजारलाई बलियो बनाउन यस्ता गतिविधिले महत्वपूर्ण भूमिका खेल्छन् ।’

असोज ३० गतेसम्म सञ्चालन हुने ट्रेड फेयरले दशैंको समयमा विराटनगरको व्यापारिक गतिविधि बढाउनुका साथै उपभोक्ताको खर्च स्थानीय बजारमै परिचालन गर्न सहयोग पुग्ने आयोजकको अपेक्षा छ ।

ट्रेड फेयरलाई केवल सामान बिक्री गर्ने कार्यक्रमका रूपमा मात्र नभई विराटनगरलाई पुनः ‘सपिङ डेस्टिनेसन’ का रूपमा स्थापित गर्ने प्रयासका रूपमा अघि बढाइएको अध्यक्ष जिन्दल बताउँछन् ।

स्थानीय बजारमा आवश्यक वस्तु, सेवा र मनोरञ्जनका विकल्प एकै ठाउँमा उपलब्ध गराएर चाडपर्वको किनमेलका लागि उपभोक्तालाई विराटनगरमै रोक्ने रणनीति रहेको छ ।

विराटनगरको बजार विस्तारका लागि यो विषय दीर्घकालीन चुनौतीसँग जोडिएको व्यवसायीहरू बताउँछन् । सीमापारिको बजारमा नेपाली उपभोक्ता जानुका पछाडि मूल्य, सामानको विविधता, बजारको आकर्षण र सहज किनमेललगायतका कारण रहेकाले स्वदेशी बजारले यी पक्षमा सुधार गर्नुपर्ने उनीहरूको भनाइ छ ।

नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउतले ट्रेड फेयरजस्ता गतिविधिले खुम्चिएको व्यापारलाई चलायमान बनाउन सहयोग पुग्ने बताए ।

चाडपर्वको समयमा ठूलो रकम स्वदेशी बजारबाट बाहिर गइरहेको उल्लेख गर्दै उनले स्थानीय बजारमा उपभोक्तालाई आकर्षित गर्न मूल्य र बजार व्यवस्थापनमा ध्यान दिनुपर्ने बताए ।

उनले वस्तुको अधिकतम खुद्रा मूल्य (एमआरपी) कार्यान्वयनलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिए । बजार र व्यापार विस्तार हुँदा व्यवसायीको कारोबार मात्र नभई सरकारको राजस्वसमेत बढ्ने उनको भनाइ छ । ‘ठूला उद्योगहरूले उत्पादन कटौती गरेको अवस्थामा साना उद्यमीले समेत यस्ता ट्रेड फेयरमार्फत अवसर पाएका छन्,’ राउतले भने ।

यसले ट्रेड फेयरलाई तत्कालीन बिक्री बढाउने माध्यमसँगै साना तथा घरेलु उद्यमीका उत्पादनलाई बजारसँग जोड्ने अवसरका रूपमा पनि स्थापित गरेको उनको भनाइ छ ।

उद्योग संगठन मोरङका अध्यक्ष नन्दकिशोर राठीले ट्रेड फेयरले स्थानीय उत्पादन प्रवद्र्धनमा सहयोग पु¥याएको बताए । उद्योगी–व्यवसायीले सहकार्यको भावनासहित अघि बढ्नुपर्ने भन्दै उनले यस्ता गतिविधिले स्थानीय अर्थतन्त्रलाई बलियो बनाउन योगदान दिने बताए ।

नेपाल उद्योग परिसंघ कोशी प्रदेशका वरिष्ठ उपाध्यक्ष प्रकाश मुन्दडाले विराट व्यापार संघले करिब १५ वर्षपछि ट्रेड फेयर आयोजना गरेको प्रयास सराहनीय रहेको बताए । बजारलाई चलायमान बनाउन निजी क्षेत्रका सबै संस्था र व्यवसायीबीच सहकार्य आवश्यक रहेको उनको भनाइ थियो ।

ट्रेड फेयरमा आयातित वस्तुसँगै कोशी प्रदेशमा उत्पादित वस्तुलाई विशेष प्राथमिकता दिइएको छ । ढाका, अल्लो, मह तथा अन्य स्थानीय र अर्गानिक उत्पादनका स्टलले घरेलु उत्पादनलाई बजारसँग जोड्ने अवसर सिर्जना गरेका छन् ।

कोशी प्रदेश सभाकी सांसद मीना श्रेष्ठले विराटनगरलगायत स्वदेशी बजारमै सामान खरिद गर्न उपभोक्तालाई आग्रह गरिन् । घरेलु उत्पादनको प्रवद्र्धन र स्थानीय उद्यमीलाई बजार उपलब्ध गराउन सबै पक्षले भूमिका खेल्नुपर्ने उनको भनाइ थियो ।

प्रदेश योजना आयोगका उपाध्यक्ष तारानाथ निरौलाले बजारलाई सक्रिय बनाउन सबैले आफ्नो ठाउँबाट काम गर्नुपर्ने बताए । निजी क्षेत्र देशको आर्थिक मेरूदण्ड भएको उल्लेख गर्दै उनले उत्पादनको गुणस्तरलाई प्रभावकारी रूपमा प्रवद्र्धन गर्नुपर्नेमा जोड दिए ।

कोशी प्रदेशका उद्योग, कृषि तथा सहकारीमन्त्री रामप्रसाद महतोले पनि घरेलु उत्पादनको प्रवद्र्धनमा सबैले ध्यान दिनुपर्ने बताए ।

विराट ट्रेड फेयरको मुख्य जोड स्थानीय बजारमा उपभोक्ताको खर्च कायम राख्नु हो । स्थानीय बजारमा खर्च गरेको रकम व्यापारीको आम्दानी हुँदै श्रमिक, ढुवानीकर्ता, उत्पादक, सेवा प्रदायक र अन्य व्यवसायसम्म पुग्ने भएकाले स्थानीय बजारको चलायमानले नै अर्थतन्त्रमा टेवा पुग्ने निजी क्षेत्रको विश्वास छ ।

दशैंमा हुने ठूलो उपभोगलाई स्थानीय उत्पादन र व्यवसायसँग जोड्न सके विराटनगरको अर्थतन्त्रमा यसको गुणक प्रभाव पर्न सक्ने उनीहरू बताउँछन् । व्यापार बढे व्यवसायीको कारोबार र रोजगारीसँगै सरकारी राजस्वमा समेत योगदान बढ्ने व्यवसायीहरूको भनाई छ ।

ट्रेड फेयरको सफलता केवल कति सामान बिक्री भयो भन्ने आधारमा मात्र नभई स्थानीय उत्पादनको बजार विस्तार, उपभोक्ताको खर्च स्थानीय अर्थतन्त्रमा कायम राख्ने क्षमता र विराटनगरको व्यापारिक पहिचान पुनःस्थापित गर्ने दिशामा कति प्रभावकारी भयो भन्ने आधारमा समेत मापन गर्नुपर्नेमा संघले जोड दिएको ट्रेड फेयरका संयोजक भवेश पौडेलले बताए ।

दशैंको किनमेललाई केन्द्रमा राखेर सुरू भएको यो मेलाले तत्कालीन रूपमा विराटनगरको बजारमा चहलपहल बढाउने अपेक्षा गरिएको उनको भनाइ छ ।

View : 61

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved