पोखरा । अभिनेता दयाहाङ राईका लागि ‘पेन्सन पट्टा’ एउटा फिल्म मात्र होइन, नेपाली समाजको एउटा परिचित कथा हो ।
भदौ २६ गतेदेखि प्रदर्शनमा आउन लागेको फिल्मबारे पोखरामा आयोजित पत्रकार सम्मेलनमा राईले ‘पेन्सन पट्टा’ले दर्शकलाई आफ्नै जीवन, परिवार र समाजसँग जोड्ने बताएका छन् ।
फिल्ममा दयाहाङले निर्वाह गरेको पात्रको कथा लाउरे परिवारसँग जोडिएको छ । तर, आफ्नो वास्तविक जीवनमा भने लाउरे परिवारसँग कुनै पारिवारिक सम्बन्ध नरहेको उनले स्पष्ट पारे ।
यद्यपि, नेपाली समाजमा लाउरे परिवारका कथा आफूले नजिकबाट देखेको उनको भनाइ छ ।
‘लाउरेसँग मेरो पारिवारिक सम्बन्ध छैन । तर छिमेक र नेपाली समाजमा लाउरे परिवारका कथा धेरै छन्,’ दयाहाङले भने ।
उनका अनुसार ३०–४० वर्षअघिको नेपाली समाजमा ‘पेन्सन पट्टा’को आफ्नै महत्व थियो । भूतपूर्व गोर्खालीहरूले देश र समाजका लागि गरेको योगदानसँग जोडिएको पेन्सन र त्यसले परिवारमा पार्ने प्रभाव फिल्मको कथाको महत्वपूर्ण पाटो बनेको छ ।
तर ‘पेन्सन पट्टा’को कथा पेन्सनमै सीमित छैन । हराएको पेन्सन पट्टा खोज्ने घटनासँगै फिल्मले प्रेम, भावना, पारिवारिक सम्बन्ध र सामाजिक संरचनाका तहहरूलाई उधिनेको दयाहाङ बताउँछन् ।
‘पेन्सन पट्टा हरेक समाजको कथा हो । यसले इमोसन, प्रेम र समाजको स्ट्रक्चरलाई बोल्छ,’ उनले भने, ‘हराएको पेन्सन पट्टा खोज्नु र त्यससँगै समाजको परिवेशलाई बोल्नु चलचित्रको विशेषता हो ।’
दयाहाङका लागि फिल्ममा काम गर्नु नेपाली समाजलाई अर्को कोणबाट बुझ्ने अवसर पनि बनेको छ । चरित्रमार्फत समाजका विभिन्न मनोविज्ञान बुझ्न पाएको बताउँदै उनले फिल्मलाई सरल तर गहिरो कथाका रूपमा व्याख्या गरे ।
‘सिनेमाको चरित्रमार्फत आम नेपाली समाजलाई थोरै भए पनि बुझ्न पाएको छु । पेन्सन पट्टा निकै सरल रूपमा प्रस्तुत गरिएको कथा हो । हरेक वर्गका मानिसले बुझ्न सक्छन् र आफ्नो घरको व्यथा मान्न सक्छन्,’ उनले भने ।
फिल्मका लेखक तथा निर्देशक माओत्से गुरुङले आमाको पेन्सन नपाउँदा नेपाली समाजका धेरै परिवारले भोगिरहेको समस्यालाई कथाको आधार बनाएका छन् ।
गोर्खालीको निधनपछि परिवारले पाउनुपर्ने पेन्सन सहज रूपमा प्राप्त गर्न नसक्दा उत्पन्न हुने पारिवारिक समस्या, सम्बन्धको उतारचढाव र सामाजिक परिवेश फिल्ममा प्रस्तुत गरिएको छ ।
‘आमाको पेन्सन नमिल्दा समाजका धेरै परिवारमा समस्या छ । त्यसलाई चलचित्रमार्फत प्रस्तुत गर्नुपर्छ जस्तो लाग्यो र कथा बन्यो,’ गुरुङले भने, ‘यो आम समुदायको कथा हो । पेन्सन पट्टा तपाईँ–हाम्रै समाजको विषयवस्तु हो ।’
फिल्ममा काम गरेपछि लेखनतर्फ आफ्नो रुचि झन् रहेको दयाहाङले स्वीकारे । तर, तत्काल निर्देशनमा जाने आँट भने नआएको उनले बताए ।
‘लेखन मन पर्छ, तर आँट्न सकिरहेको छैन । अहिलेलाई काम नै गरौँ भन्ने लाग्छ,’ उनले भने ।
माओत्से गुरुङको लेखन तथा निर्देशनमा बनेको ‘पेन्सन पट्टा’मा दयाहाङसँगै गौमाया गुरुङ, विल्सन विक्रम राई, बुद्धि तामाङ, स्वर्गीय सुनिल थापा, माया गुरुङ, विश्वास गुरुङ, सोल गुरुङ, मनिका गुरुङ, डिभी गुरुङ, पञ्चसुब्बा गुरुङ (दिलु) लगायतका कलाकारको अभिनय छ ।
पोखराको ताङतिङ र आसपासका क्षेत्रमा छायांकन गरिएको फिल्म भदौ २६ गतेदेखि देशभर प्रदर्शनमा आउनेछ ।
View : 42
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved