Biratnagar, Morang, Nepal
९ भदौ २०८३, मङ्गलवार
+977 21 450305, 515728, 578305
कोशी

‘बीपी र विद्रोहका ती दिन’माथि विराटनगरमा विमर्श

लेखक-पत्रकार धर्म गौतमद्वारा लिखित पुस्तक ‘बीपी र विद्रोहका ती दिन’ माथि सोमबार विराटनगरमा विमर्श गरिएको हाे ।
उद्‌घोष संवाददाता
८ भदौ २०८३, सोमवार

Advertisement

विराटनगर । इलामका लेखक-पत्रकार धर्म गौतमद्वारा लिखित पुस्तक ‘बीपी र विद्रोहका ती दिन’ माथि सोमबार विराटनगरमा विमर्श गरिएको छ । नेपाल पत्रकार महासंघ मोरङको सभाकक्षमा लेखक गौतमको उपस्थितिमा आयोजित कार्यक्रममा पुस्तकले समेटेको राजनीतिक इतिहास, बीपी कोइरालासँगको उनको सामीप्य र पञ्चायती व्यवस्थाविरुद्धको संघर्षका अनुभवबारे चर्चा गरिएको हो ।

कार्यक्रममा लेखक गौतमले ‘बीपी र विद्रोहका ती दिन’ पूर्ण रूपमा बीपी कोइरालाको जीवनी नभई आफूले भोगेको राजनीतिक समय, बीपीसँगको निकटता र पञ्चायती व्यवस्थाविरुद्धको संघर्षका क्रममा देखे-भोगेका घटनाको संस्मरणात्मक दस्तावेज भएको बताए । उनले पुस्तकमार्फत प्रजातान्त्रिक आन्दोलनका कठिन दिन, तत्कालीन राजनीतिक परिवेश र बीपी कोइरालाको व्यक्तित्वलाई आफ्नै अनुभव र दृष्टिकोणबाट प्रस्तुत गर्ने प्रयास गरेको बताए ।

गौतमका अनुसार बीपी कोइरालाले पञ्चायती व्यवस्थाविरुद्ध आह्वान गरेको सशस्त्र संघर्ष, त्यसक्रममा भएका राजनीतिक गतिविधि तथा प्रवासमा नेपाली प्रजातान्त्रिक आन्दोलनले भोगेका कठिनाइ पुस्तकका महत्वपूर्ण विषय हुन् । राष्ट्रियता संकटमा परेको निष्कर्षसहित बीपी कोइराला २०३३ पुस १६ गते राष्ट्रिय मेलमिलापको नीति लिएर भारतबाट नेपाल फर्किएका थिए । उनी स्वदेश फर्किनुअघि नेपाल पठाइएका तीन विश्वासपात्रमध्ये आफू पनि एक रहेको प्रसंग गौतमले पुस्तकमा समेटेका छन् ।

आफ्नो राजनीतिक जीवनयात्रा र बीपीसँगको सम्बन्धलाई स्मरण गर्दै गौतमले नयाँ पुस्तालाई प्रजातान्त्रिक आन्दोलनको इतिहास बुझाउन पुस्तक लेखेको बताए । उनले भने, 'बीपी कोइराला उच्चस्तरको राजनेता भएर पनि उहाँको जीवन अत्यन्त सरल र कार्यकर्ताहरूप्रति अभिभावकत्व प्रदान गर्ने खालको रहेको कुरा पुस्तकमा स्मरण गरेको छु ।'

बनारसमा रहँदादेखि प्रवासका कठिन दिनसम्म प्रजातन्त्रका लागि भएका संघर्षका अनेक प्रसंग पुस्तकमा समेटिएको उनले बताए । इलामबाट सुरु भएको आफ्नो राजनीतिक यात्रा नक्सलबारी, बिहार र बनारस हुँदै काठमाडौंसम्म पुगेको प्रसंगलाई पनि गौतमले पुस्तकको महत्वपूर्ण पाटोका रूपमा प्रस्तुत गरेका छन् ।

किताब पब्लिसर्सद्वारा प्रकाशित कृतिमा गौतमले आफ्नो राजनीतिक जीवनका क्रममा देखे-भोगेका महत्वपूर्ण घटना, तत्कालीन राजनीतिक परिवेश र पञ्चायती व्यवस्थाविरुद्धको संघर्षलाई संस्मरणका रूपमा प्रस्तुत गरेका छन् । बीपी कोइरालासँगको सान्निध्य, सशस्त्र संघर्ष, भूमिगत जीवन, पक्राउ तथा कारावासका अनुभवदेखि सशस्त्र विद्रोह हुँदै राष्ट्रिय मेलमिलापको नीतिसम्मको राजनीतिक यात्रालाई पुस्तकमा समेटिएको छ ।

विमर्शमा सहभागी वक्ताहरूले प्रत्यक्ष रूपमा राजनीतिक संघर्ष र त्यस समयको सामाजिक-राजनीतिक परिवेश भोगेका व्यक्तिको संस्मरण भएकाले पुस्तकको ऐतिहासिक महत्व रहेको बताए । उनीहरूले व्यक्तिगत अनुभव र तत्कालीन राजनीतिक घटनालाई जोडेर लेखिएको यस्ता कृतिले नेपाली राजनीतिक इतिहासका कतिपय कम चर्चामा आएका पाटालाई नयाँ पुस्तासम्म पुर्‍याउन सहयोग गर्ने धारणा राखे ।

कार्यक्रममा प्रा. डा. मेदनीप्रसाद शर्मा, कविराज न्यौपाने, बाबुराम तिमल्सिना, प्राज्ञ विवश पोखरेल, प्राध्यापक कृष्ण पोखरेल र विराटनगर जेसीजका अध्यक्ष कविराज दाहाललगायतले पुस्तकबारे धारणा राखेका थिए ।

धर्म गौतम पत्रकारिता र लेखन क्षेत्रमा लामो समयदेखि सक्रिय छन् । उनी नेपाल पत्रकार महासंघ इलाम शाखाका संस्थापक सभापति हुन् । पत्रकारिताका क्रममा स्थानीय समाज, राजनीति र समसामयिक विषयमा कलम चलाउँदै आएका गौतमले लेखनमार्फत इलाम तथा नेपालको राजनीतिक इतिहासका विभिन्न पक्षलाई नजिकबाट प्रस्तुत गर्दै आएका छन् ।

कार्यक्रमको संयोजन पत्रकार मोहन भण्डारीले गरेका थिए भने नेपाल पत्रकार महासंघ मोरङकी अध्यक्ष सुशीला पाठकले अध्यक्षता गरेकी थिइन् ।

View : 239

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved