विराटनगर । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट आक्रान्त बनेका पीडितको राहत तथा उद्धारका लागि विराटनगरमा आज आइतवार) देखि नाटक मञ्चन हुने भएको छ ।
विपदमा परेका नागरिकलाई मल्हम लगाउने उद्देश्यसहित आरोहण गुरुकुल विराटनगरले आर्थिक सहयोग सङ्कलनार्थ ‘सिफारिस’ नाटक मञ्चन गर्ने भएको हो ।
गत भदौ १० गते भोटेकोशी र त्यसको तल्लो तटीय क्षेत्रमा आएको भीषण बाढीले अकल्पनीय मानवीय तथा भौतिक क्षति पु-याएको थियो ।
सङ्कटको यस घडीमा परस्पर हातेमालो गर्दै सामाजिक उत्तरदायित्व निर्वाह गर्न रङ्गमञ्चलाई माध्यम बनाइएको आरोहण गुरुकुल विराटनगरका अध्यक्ष भैरव क्षेत्रीले जानकारी दिए ।
‘विपत्तिमा परेका दाजुभाइ–दिदीबहिनीलाई साथ दिन हामीले आफ्नो कर्म अर्थात् नाटकलाई रोजेका हौँ,’ अध्यक्ष क्षेत्रीले बताए ।
धीरज राईको कथामा आधारित सो नाटक विराटनगर–८, हाटखोलास्थित बालकृष्ण पोखरेल नाटकघर (आरोहण गुरुकुल) मा यही आइतबारदेखि बुधबारसम्म दैनिक अपराह्न ५ बजे मञ्चन हुनेछ ।
नाटक अवलोकनका लागि रु. ३००, रु. ५०० र रु. १,००० को टिकट दर निर्धारण गरिएको छ भने अध्ययनरत विद्यार्थीहरूका लागि विशेष सहुलियतको व्यवस्था मिलाइएको छ ।
मञ्चनबाट सङ्कलन हुने सम्पूर्ण रकम एकमुष्ट रूपमा नेपाल सरकारको आधिकारिक विपद् उद्धार तथा राहत कोषमा जम्मा गरिने आयोजकको भनाइ छ ।
कलाकार रविन चिमोरियाले कलामार्फत मानवीय सेवामा जोडिने यो अभियानमा सम्पूर्ण दर्शक, कलाप्रेमी तथा सहयोगी मनहरूलाई नाटक हेरेर बाढी पीडितको राहत कोषमा योगदान पु-याउन सम्पूर्ण कलाकारले हार्दिक अपिल गरेको बताए ।
View : 106
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved