Biratnagar, Morang, Nepal
२५ फागुन २०८२, सोमवार
+977 21 450305, 515728, 578305
राजनीति

प्रधानमन्त्री दाहालले असार २८ मा पाँचौं पटक विश्वासको मत लिने

उद्‌घोष संवाददाता
२१ असार २०८१, शुक्रवार

काठमाडौँ, २१ असार । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले यही असार २८ गते शुक्रबार प्रतिनिधिसभामा विश्वासको मत लिने व्यवस्थाका लागि संसद् सचिवालयलाई पत्राचार गरेका छन् । उनले आफ्नो कार्यकालमा त्यस दिन पाँचौं पटक विश्वासको मत लिन लागेका हुन् ।

प्रधानमन्त्री दाहालले सङ्घीय संसद्का महासचिवलाई शुक्रबार पत्र पठाएर उक्त दिन विश्वासको मतका लागि प्रतिनिधिसभासमक्ष प्रस्ताव राख्नुपर्ने भएकाले आवश्यक व्यवस्था मिलाउन अनुरोध गरेका हुन् ।

“मेरो नेतृत्वमा संवत् २०७९ पुस ११ गते गठित सरकारमा सहभागी दलहरुमध्ये एक दलले आफ्नो समर्थन फिर्ता लिएको हुँदा नेपालको संविधानको धारा १०० को उपधारा (२) बमोजिम ३० दिनभित्र प्रधानमन्त्रीले विश्वासको मतका लागि प्रतिनिधिसभासमक्ष प्रस्ताव राख्नुपर्ने प्रावधान भए अनुरुप उक्त विषय संवत् २०८१ साल असार २८ गतेको प्रतिनिधिसभा बैठकको कार्यसूचीमा समावेश गर्ने व्यवस्थाका लागि अनुरोध छ”, प्रधानमन्त्रीले लेखेको पत्रमा भनिएको छ ।

सत्ता गठबन्धनमा आएको फेरबदलका कारण अहिले नेपाली कांग्रेस र नेकपा एमालेबीच नयाँ सरकार बनाउने विषयमा सहमति भइसकेको छ । आधिकारिक रुपमा सार्वजनिक हुन बाँकी रहेको सहमतिमा कांग्रेसले माओवादीसँग सत्ता सहकार्य गरिरहेको नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्रीमा स्वीकार गर्दै अघि बढ्ने भनिएको छ । उनीहरुबीच संविधान संसोधनको विषयमा मुख्यतया सहमति भएकोले सत्ता गठबन्धनको सहमति भएको जनाइएको छ ।

View : 388

Udghosh Daily प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१० सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१
अध्यक्ष : मोहन भण्डारी
सम्पादक : बन्धु पोखरेल

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved