Biratnagar, Morang, Nepal
२३ जेठ २०८३, शनिवार
+977 21 450305, 515728, 578305
कोशी

मोरङ–४ मा रास्वपाका राजवंशीको २५ बुँदे प्रतिबद्धता

राजवंशीले कृषि क्षेत्रलाई प्राथमिकतामा राखेका छन् । व्यावसायिक तथा आधुनिक कृषि प्रणालीको विकास, उत्पादनको प्रशोधन र बजारीकरणमार्फत किसानलाई उचित मूल्य सुनिश्चित गर्ने योजना अघि सारेका छन् ।
उद्‌घोष संवाददाता
१५ फागुन २०८२, शुक्रवार

विराटनगर । मोरङको क्षेत्र नम्बर ४ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रतिनिधिसभा सदस्य उम्मेदवार सन्तोष राजवंशी २५ बुँदे चुनावी प्रतिबद्धता गर्दै चुनावी अभियानमा जुटेका छन् । 

कृषि, युवा रोजगारी, शिक्षा, स्वास्थ्य, पूर्वाधार, सामाजिक न्याय र सुशासनलाई आफ्नो प्रतिवद्धताको केन्द्रमा राख्दै उनले क्षेत्र नम्बर ४ को विकासका लागि योजनाका खाका प्रस्तुत गरेका हुन् ।

राजवंशीले कृषि क्षेत्रलाई प्राथमिकतामा राखेका छन् । व्यावसायिक तथा आधुनिक कृषि प्रणालीको विकास, उत्पादनको प्रशोधन र बजारीकरणमार्फत किसानलाई उचित मूल्य सुनिश्चित गर्ने योजना अघि सारेका छन् । 

किसान परिचयपत्र, बिना धितो सुलभ कृषि ऋण, सिंचाइ तथा मल–बीउको सहज उपलब्धता, साथै डुबान र नदी नियन्त्रणमार्फत दीर्घकालीन समाधानको पहल गर्ने प्रतिबद्धता जनाएका छन् ।

युवालाई स्वदेशमै अवसर सिर्जना गर्ने उद्देश्यसहित व्यावसायिक खेतीमा आकर्षित गर्ने विशेष कार्यक्रम, सुलभ ऋण र सीपमूलक तालिम सञ्चालन गरिने उल्लेख छ । 

वैदेशिक रोजगारीमा जाने युवालाई सीप प्रदान गर्ने तथा विदेशबाट फर्किएका युवालाई स्टार्टअप व्यवसायमा जोड्ने योजना पनि उनले अघि सारेका छन् ।

शिक्षातर्फ बेरोजगार उत्पादन गर्ने प्रणाली अन्त्य गर्दै व्यावसायिक तथा सीपमूलक शिक्षाको संस्थागत विकास, सूचना प्रविधि (आईटी) शिक्षालाई व्यवहारिक बनाउने, बाल पोषण कार्यक्रम प्रभावकारी बनाउने तथा वैज्ञानिक बाल शिक्षा कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ ।

स्वास्थ्य क्षेत्रमा पालिका अस्पतालहरूको स्तरोन्नति, स्वास्थ्य बीमा कार्यक्रमको प्रभावकारी कार्यान्वयन तथा गुणस्तरीय सेवा विस्तार गर्ने योजना समावेश छन् । ज्येष्ठ नागरिकका लागि सम्मानित जीवन निर्वाहको कार्यक्रम ल्याइने पनि उल्लेख गरेका छन् ।

पूर्वाधार विकासअन्तर्गत नेताचोक–कसेनी–बाउनीदेखि विसार खोलासम्म सिंचाइ नहरको सडक निर्माण, कटहरी गाउँपालिका सडक खण्डअन्तर्गत हुलाकी राजमार्ग निर्माणमा पहल, औद्योगिक क्षेत्रको समस्या समाधान, साप्ताहिक हाटबजार व्यवस्थापन र बैजनाथपुर रंगशालाको स्तरोन्नति गर्ने योजना प्रस्तुत गरिएका छन् ।

महिला सशक्तीकरणका लागि स्टार्टअप र घरेलु उद्योगमार्फत आत्मनिर्भर बनाउने, जातीय तथा सामाजिक विभेद अन्त्यका लागि अभियान सञ्चालन गर्ने, दलित, मुस्लिम, महिला, अल्पसंख्यक तथा पिछडावर्गलाई सम्मानपूर्वक बाँच्ने वातावरण निर्माण गर्ने प्रतिबद्धता जनाएका छन् ।

त्यस्तै, सुकुम्बासीका समस्या समाधानका लागि शिक्षा, स्वास्थ्य र आर्थिक प्याकेज कार्यक्रम ल्याउने तथा एकीकृत बस्ती निर्माण गर्ने योजना पनि उनले अघि सारेका छन् । भौतिक पूर्वाधार निर्माणमा स्थानीयको माग अनुसार योजना ल्याई समयमै सम्पन्न गर्ने नीतिगत व्यवस्था गरिने प्रतिवद्धना जनाएका छन् । 

त्यसैगरी लागुऔषध दुव्र्यसन नियन्त्रण, प्राकृतिक तथा धार्मिक पर्यटकीय स्थलको विकास, व्यावसायिक खेलकुदको प्रवद्र्धन, सहकारी क्षेत्रमा देखिएका समस्याको नीतिगत समाधान र सहकारी पीडितलाई न्याय दिलाउने प्रतिबद्धता राजवंशीले जनाएका छन् ।

‘ज्येष्ठ नागरिकको अनुभव, युवाको शक्ति र महिलाको सामथ्र्यलाई साथ लिएर क्षेत्रको समग्र परिवर्तन गर्ने उनको दाबी छ । 

साथै सबै धर्म, संस्कार र संस्कृतिको सम्मान गर्दै आपसी सद्भाव र एकता कायम गर्ने उनले प्रतिबद्धता व्यक्त गरेका छन् ।

राजवंशीले आफ्नो प्रतिबद्धता कार्यान्वयनमुखी हुने दाबी गर्दै मतदातासँग सहयोग र समर्थनको अपिल गरेको बताएका छन् । 

उनले पुराना पार्टीले मुलुकलाई निकास दिन नसकेको भन्दै व्याप्त भ्रष्टाचार र राजनीतिक अस्थिरता अन्त्य गर्न रास्वपा बलियो पार्टीका रुपमा अघि सरेको दाबी गरेका छन् ।

View : 229

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved