कांग्रेस अनुशासन समिति बैठक
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिले नेता पूर्णबहादुर खड्कालाई ७ दिने स्पष्टीकरण सोधेको छ । पार्टीको नक्कली लेटरप्याड प्रयोग गरेर आफूलाई 'कार्यवाहक सभापति' दाबी गर्दै पटक-पटक विज्ञप्ति निकालेको भन्दै विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगन थापा पक्षधर अनुशासन समितिले खड्कामाथि कारबाहीको प्रक्रिया स्वरुप स्पष्टिकरण सोधेको हो ।
सानेपामा बुधबार बसेको अनुशासन समितिको बैठकले खड्कालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको समितिका संयोजक तारामान गुरूङले जानकारी दिए ।
यसअघि चैत १४ गते अनाधिकृत वक्तव्य जारी गर्दा समितिले खड्कालाई चैत १८ गते 'एक पटकका लागि' भन्दै सचेत गराएको थियो ।
आफूसँग नभएको जिम्मेवारी उल्लेख गरेर नक्कली लेटरप्याड प्रयोग गरेको भन्दै समितिले त्यसो नगर्न निर्देशन दिएको दाबी गरिएको छ । तर, उक्त चेतावनीलाई बेवास्ता गर्दै खड्काले चैत ३० गते पुनः सोही हैसियतमा अर्को विज्ञप्ति जारी गरेपछि अनुशासन समिति स्पष्टीकरण सोध्न बाध्य भएको जनाइएको छ ।
अनुशासन समितिका अनुसार खड्काको यो कदम नेपाली कांग्रेसको विधान २०१७ (संशोधनसहित) को धारा ३४ को उपधारा ८ (घ) विपरीत रहेको जनाइएको छ ।
कांग्रेसभित्रको यो विवादको जरो भने पार्टीको आन्तरिक शक्ति संघर्ष र विशेष महाधिवेशनसँग जोडिएको छ ।
तत्कालीन सभापति शेरबहादुर देउवाले असोज २८ गते तत्कालीन उपसभापति खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएका थिए । तर, गत पुसमा सम्पन्न विशेष महाधिवेशनबाट खड्काले नेतृत्व गरिररहेको कांग्रेसलाई पन्छाएर गगन थापाको नेतृत्वमा नयाँ कार्यसमिति चयन भइसकेको छ ।
निर्वाचन आयोगले उक्त विशेष महाधिवेशनलाई आधिकारिकता दिएपछि देउवा पक्ष सर्वोच्चमा छ । आयोगको निर्णयको विरोधमा देउवा पक्ष सर्वोच्च अदालत गएको र सो मुद्दा हाल विचाराधीन अवस्थामा रहेका कारण तत्कालिन अवस्थाको कार्यवाहक सभापति मानिएका खड्काले समानान्तर रुपमा गतिविधि अघि बढाएका थिए ।
मुद्दा विचाराधीन रहेको यही अवस्थालाई देखाउँदै खड्काले आफू नै आधिकारिक कार्यवाहक सभापति रहेको दाबी गर्दै विज्ञप्ति निकाल्दै आएका थिए । तर संस्थापन (गगन थापा नेतृत्व) पक्षले भने यसलाई 'नक्कली लेटरप्याड' र 'अनाधिकृत कार्य' ठहर गरेको छ ।
बुधबार बसेको अनुशासन समितिको बैठकले प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ का क्रममा पार्टी अनुशासन उल्लंघन गर्नेहरूविरुद्ध उजुरी दिने म्याद पनि थप गरेको छ ।
यसअघि चैत मसान्तभित्र उजुरी दिन निर्देशन दिइएकोमा अब त्यसको समयसीमा २०८३ वैशाख मसान्तसम्म लम्ब्याइएको संयोजक गुरुङले बताए ।
तोकिएको उक्त म्यादपछि प्राप्त हुने कुनै पनि उजुरीमाथि कारबाही नहुने उनले स्पष्ट पारेका छन् ।
View : 117
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved