सडकको विरुवा र पानी हाल्दै पारुल क्षेत्री । तस्वीर : कमल/उद्घोष
विराटनगर । एक मजदुरले घामको रापबाट जोगिन हत्केलाले आँखा छोपेको दृश्य देखेपछि विराटनगरका पारुल क्षेत्रीको मनमा एउटा प्रश्न उठ्यो– आखिर सहरमा मानिसलाई शीतलता दिने रुख किन छैनन् ? त्यही प्रश्नले उनलाई सडक किनारमा बिरुवा रोप्ने अभियानतर्फ डोराएको छ ।
आज त्यही सानो सुरुवात विराटनगरका सडकमा १५ हजार बिरुवासम्म पुगिसकेको छ । पारुल अहिले एक लाख बिरुवा हुर्काउने लक्ष्यका साथ अभियानलाई विस्तार गरिरहेका छन् ।
हिजोआज उनी हरेक दिन अपराह्न ४ बजेदेखि ७ बजेसम्म तीन घण्टा सडक किनारका बिरुवाको हेरचाहमा बिताउँछन् ।
बिहानै दुई वटा प्लास्टिकका जार बोकेर बिरुवा नजिकका घरघरमा पानी भर्न पुग्नु पनि उनको दैनिक काम जस्तै बनेको छ ।
सुख्खा मौसममा बिरुवालाई दैनिक पानी आवश्यक पर्छ । त्यसैले पारुल हरेक दिन सडक किनार पुगेर बिरुवामा पानी हाल्ने, मल हाल्ने र लड्न नदिन बाँसको टेको लगाउने काममा व्यस्त हुन्छन् ।
विराटनगरको मुनालपथमा दुई–चार वटा बिरुवा रोपेर सुरु भएको उनको प्रयास विस्तारै बढ्दै गयो ।
सुरुमा एक हजार बिरुवा रोप्ने लक्ष्य बनाएका पारुल अहिले विराटनगर प्रवेशद्वारदेखि भन्सार नाकासम्मको दुईतर्फी सडक किनारमा हजारौं बिरुवा हुर्काइरहेका छन् । उनले रोपेका शिरिस फुल्न थालेका छन् । फुल देखेर मानिसले फोटो खिच्दा उनको मन आनन्दित हुन्छ ।
‘बिरुवा रोप्नु मात्र उद्देश्य होइन, त्यसलाई हुर्काउनु अझ ठूलो जिम्मेवारी हो । रोप्नु सजिलो छ, तर हुर्काउन गाह्रो हुन्छ,’ उनी भन्छन् । कतिपयले बिरुवा उखेल्ने, भाँच्ने वा बेवास्ता गर्ने समस्या पनि आउने गरेको उनले अनुभव गरेका छन् ।
उनको अभियानलाई स्थानीय बासिन्दाले पनि साथ दिएका छन् । कसैले जन्मदिन वा विवाहजस्ता कार्यक्रममा हुने खर्च बचाएर बिरुवा किनेर दिएका छन् भने कसैले नगद सहयोग गरेका छन् ।
बिरुवाका लागि आवश्यक मल र पानी ल्याउने भाडासमेत सहयोगबाट जुट्न थालेपछि पहिले जस्तो उनलाई आफ्नै खर्चबाट बिरुवा किन्नुपर्ने अवस्था छैन ।
विराटनगरको धरान रोड, हुलाकी मार्ग, बिभिन्न वडाका भित्री सडक र नहर किनारमा अहिले करिव ७० प्रजातिका बिरुवा रोपिएका छन् ।
जापानमा पाइने सकुरा, भारतको सुखसयल र सिंदुर, औषधीय महत्वका अर्जुन, नेपालका चिउरी, हर्रो, बर्रो, तथा मौरीका लागि उपयोगी कल्की फूलजस्ता बिरुवाले सडकलाई हरियाली बनाउँदै लगेका छन् ।
राजनीतिक रूपमा सक्रिय पारुल तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) विराटनगर महानगर कमिटीका अध्यक्षसमेत थिए । तर बृक्षारोपण अभियानमा पूर्ण रूपमा सक्रिय भएपछि अहिले उनी पार्टी गतिविधिबाट लगभग टाढा छन् ।
२०६२–०६३ को जनआन्दोलनताका चर्चित विद्यार्थी नेताका रूपमा चिनिएका पारुल अहिले ‘संकल्प हरेक विराटनगर’ अभियानमार्फत सामाजिक अभियन्ताका रूपमा परिचित छन् ।
विराटनगरभित्र १५ हजार बिरुवा हुर्कदै गर्दा अब उनले पूर्वतर्फको सिंघिया र पश्चिमतर्फको केशलिया खोला आसपासका क्षेत्रमा पनि बृक्षारोपण अभियान विस्तार गर्दैछन् । बुढीगंगा गाउँपालिकाको केही भागमा पनि उनी यो अभियान लिएर पुगे ।
विराटनगरदेखि इटहरीसम्म हरियाली बनाउने सोचमा उत्तरतर्फ लागेका उनलाई सुनसरीमा स्थानीय सरकारले साथ नदिने बताएपछि विराटनगरमै केन्द्रित छन् ।
उनको विश्वास छ, यदि बिरुवालाई रोपेर छोड्ने होइन, माया गरेर हुर्काउने हो भने सहर आफै हरियो बन्छ ।
चर्को घाममा सडक किनारा हिंड्दा थाकेको मजदुरले अब सानो भए पनि बिरुवाको छहारीमा केही बेर अडिन शितल छायाँ पाउन थालेका छन् । पारुल यही दृश्य नै आफ्नो अभियानको सफलता ठान्दछन् ।
View : 74
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved