Biratnagar, Morang, Nepal
४ भदौ २०८३, बिहिवार
+977 21 450305, 515728, 578305
समाज

न्यूरो अस्पतालमा विराट व्यापार संघका सदस्यलाई उपचारमा छुट

उद्‌घोष संवाददाता
४ भदौ २०८३, बिहिवार

Advertisement

विराटनगर । पूर्वी नेपालको अग्रणी स्वास्थ्य संस्था न्यूरो कार्डियो एण्ड मल्टिस्पेसियलिटी अस्पताल, विराटनगर र प्रतिष्ठित व्यावसायिक संगठन विराट व्यापार संघबीच एक महत्वपूर्ण द्विपक्षीय समझदारी पत्रमा हस्ताक्षर भएको छ । 

यस समझदारीसँगै मोरङका उद्योगी–व्यवसायी, तिनका परिवार तथा कार्यरत कर्मचारीहरूका लागि गुणस्तरीय स्वास्थ्य सेवा अझ सहज र पहुँचयोग्य बनेको छ । 

अस्पताल परिसरमा आयोजित एक विशेष कार्यक्रमका बीच दुवै पक्षका प्रतिनिधिहरूले समझदारी पत्रमा हस्ताक्षर गर्दै औपचारिक साझेदारिको सुरुवात गरेका हुन् । 

सम्झौता अनुसार विराट व्यापार संघमा आबद्ध सम्पूर्ण सदस्यहरू, उनीहरूमा पूर्ण रूपमा आश्रित परिवारका सदस्यहरू र संघ अन्तर्गतका व्यावसायिक फर्म तथा प्रतिष्ठानहरूमा कार्यरत कर्मचारीहरूले न्युरो अस्पतालबाट प्रवाह हुने विभिन्न स्वास्थ्य सेवाहरूमा विशेष छुट सुविधा प्राप्त गर्नेछन् ।

कार्यक्रममा सम्झौताका विषयमा विस्तृत जानकारी गराउँदै अस्पताल प्रशासनले सो अस्पतालका विभिन्न जाँचहरू, साधारण शय्या शुल्कदेखि एमआरआई, सीटी स्क्यान, एन्जियोग्राफी, शल्यक्रिया तथा अन्य उपचारात्मक सेवाहरूमा अधिकतम २५ प्रतिशतसम्म छुटको व्यवस्था गरिएको छ ।

न्यूरो अस्पतालका अप्रेशन इञ्चार्ज राजेश भट्टराईले अस्पतालको सामाजिक उत्तरदायित्व र आगामी योजनाबारे स्पष्ट पार्दै भने, ‘हाम्रो मुख्य उद्देश्य केवल उपचार सेवा प्रदान गर्नु मात्र नभई उत्कृष्ट र अत्याधुनिक स्वास्थ्य प्रविधिलाई समाजका हरेक वर्ग र तहसम्म पु¥याउनु हो । 

विराट व्यापार संघसँगको यो सहकार्यले स्थानीय आर्थिक गतिविधिमा योगदान पुर्याइरहेका व्यवसायी र श्रमजीवी वर्गलाई प्रत्यक्ष लाभ पुग्नेछ । 

न्यूरो हस्पिटल सदैव ‘सबैका लागि सुलभ र गुणस्तरीय स्वास्थ्य सेवा’ भन्ने मूल मर्मका साथ सक्रिय रूपमा कार्य गरिरहेको छ र आगामी दिनमा पनि यस्ता सामुदायिक पहुँच कार्यक्रमहरूलाई निरन्तरता दिइनेछ ।’

विराट व्यापार संघका अध्यक्ष प्रमोद जिन्दल लगायतका पदाधिकारीहरूले अस्पतालको यस कल्याणकारी कदमको उच्च प्रशंसा गर्दै धन्यवाद ज्ञापन गरेका छन् । 

संघका प्रतिनिधिहरूले छुट सम्झौताले आफ्ना सदस्यहरू, तिनका आश्रित परिवार र दैनिक खट्ने कर्मचारीहरूलाई ठूलो आर्थिक राहत पुग्ने विश्वास व्यक्त गरे ।

View : 25

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved