Biratnagar, Morang, Nepal
२१ असोज २०८३, बुधवार
+977 21 450305, 515728, 578305
राजनीति

कांग्रेस महाधिवेशनमा गगनको प्रस्ताव

युवलाई सुन्न ‘यूथ’ र अनुभव लिन ‘विज्डम’ काउन्सिल

सभापति थापाले कांग्रेसले अंगालेको समाजवादी नीतिको नयाँ व्याख्या पनि गरेका छन् ।
उद्‌घोष संवाददाता
२० असोज २०८३, मङ्गलवार

Advertisement

विराटनगर । नेपाली कांग्रेसको काठमाडौंमा जारी १५औँ महाधिवेशनमा सभापति गगन थापाले पार्टीको संगठन र विचार दुवैलाई बदलिँदो पुस्ता र अर्थतन्त्रसँग जोड्ने प्रस्ताव अघि सारेका छन् । 

सोमबार बन्द सत्रमा थापाले पेश गरेको राजनीतिक प्रस्तावमा कांग्रेस अब पुरानो पुस्ताको अनुभव र नयाँ पुस्ताको आकांक्षाबीच पुल बन्नुपर्ने धारणा अघि सारिएको छ । त्यसका लागि उनले पार्टीभित्र ‘युथ काउन्सिल’ र ‘विसडम काउन्सिल’ बनाउने प्रस्ताव गरेका छन् । 

१८ वर्ष पूरा गरेका तर २१ वर्ष नपुगेका युवालाई समेटेर युथ काउन्सिल बनाउने प्रस्ताव छ । अर्कोतर्फ, लामो राजनीतिक तथा सामाजिक अनुभव बोकेको पाको पुस्ताको ज्ञान र अनुभव पार्टीले संस्थागत रूपमा उपयोग गर्न विज्डम काउन्सिलको अवधारणा ल्याइएको छ । यी दुवै संरचना सभापतिसँग प्रत्यक्ष संवाद र परामर्श गर्ने संयन्त्रका रूपमा प्रस्तावित छन् ।  काउन्सिलबाट आएका सुझावलाई पार्टीको औपचारिक निर्णय प्रक्रियासँग जोड्ने प्रस्ताव पनि थापाले गरेका छन् । 

कांग्रेसमा पुस्ता फेरिँदै जाँदा पुरानो पुस्ताको अनुभव हराउने र नयाँ पुस्ता पार्टीसँग जोडिन नसक्ने समस्यालाई एउटै संरचनाबाट सम्बोधन गर्ने प्रयास थापाको प्रस्तावमा उल्लेख छ । यही कारण थापाले कांग्रेसलाई ‘पाँच पुस्ता सँगै लिएर हिँड्ने पार्टी’ बनाउने अवधारणा अघि सारेका छन् । 

उनले कांग्रेसको पुरानो वैचारिक आधार मानिँदै आएको लोकतान्त्रिक समाजवादलाई आजको आर्थिक र सामाजिक परिस्थितिसँग जोडेर नयाँ ढंगले व्याख्या गर्ने प्रयास गरेका छन् । 

बीपी कोइरालाको समयको कांग्रेस र अहिलेको कांग्रेसले सामना गरिरहेका समस्या एउटै छैनन् । बीपीको राजनीतिक चिन्तनमा भूमिसुधार, निरक्षरता र ग्रामीण गरिबी प्रमुख प्रश्न थिए । 

अहिले कांग्रेसले वैदेशिक रोजगारीका लागि भइरहेको युवाको पलायन, कमजोर उत्पादन, आयातमा बढ्दो निर्भरता, सीपको अभाव र सामाजिक सुरक्षाको बढ्दो दायित्वलाई नयाँ चुनौतीका रूपमा प्रस्तुत गरेको छ । थापाको प्रस्तावले बीपीको ‘हलो जोतिरहेको किसान’को प्रतीकलाई आजको ‘हातमा पासपोर्ट बोकेको युवा’सँग जोडेको छ ।

प्रस्तावको मूल तर्क छ—समाजवादको आधारभूत मूल्य छाड्नुपर्ने होइन, त्यसलाई कार्यान्वयन गर्ने उपाय भने समयअनुसार बदलिनुपर्छ । थापाको दस्तावेजले लोकतान्त्रिक समाजवादलाई राज्यले सबै आर्थिक गतिविधि नियन्त्रण गर्ने व्यवस्थाका रूपमा व्याख्या गरेको छैन । 

नागरिकले शिक्षा, स्वास्थ्य, सीप, रोजगारी, उद्यम र सामाजिक सुरक्षाजस्ता अवसर पाउने अवस्थालाई पनि वास्तविक स्वतन्त्रतासँग जोडिएको छ ।

आर्थिक न्यायलाई पनि केवल धनीबाट गरिबतर्फ स्रोत बाँड्ने विषयका रूपमा सीमित नगर्ने प्रस्तावमा उल्लेख छ । 

मानिसले जीवन सुरु गर्ने अवस्थादेखि नै शिक्षा, स्वास्थ्य, अवसर र उत्पादनका साधनमा पहुँच पाउने कि नपाउने भन्ने प्रश्नलाई कांग्रेसको नयाँ आर्थिक दृष्टिकोणसँग जोडिएको छ । यसले कांग्रेसको समाजवादसम्बन्धी पुरानो बहसमा एउटा नयाँ शब्द थपेको छ—‘पूर्ववितरण ।’ 

अर्थात्, असमानता सिर्जना भइसकेपछि मात्र राज्यले राहत बाँड्ने होइन, असमानता पैदा हुने आधारमै हस्तक्षेप गर्ने नीति लिने थापाको प्रस्तावमा उल्लेख छ । 

शिक्षा, स्वास्थ्य, सीप, उत्पादन, रोजगारी र बजारमा प्रवेशको अवसर विस्तार गर्ने विषयलाई आर्थिक न्यायको पूर्वशर्त मान्ने प्रस्तावको आशय छ ।

कांग्रेसले समानताको अर्थ सबै नागरिकको परिणाम एउटै बनाउने नभई अवसरमा निष्पक्ष पहुँच र क्षमता विकासको आधार तयार गर्ने रूपमा व्याख्या गरेको छ । यो व्याख्यासँगै बजार र राज्यको सम्बन्धबारे पनि कांग्रेसले आफ्नो धारणा प्रस्ट्याउन खोजेको छ । 

प्रस्तावमा निजी क्षेत्रलाई आर्थिक वृद्धि र रोजगारीको प्रमुख संवाहक मानिएको छ । 

राज्यले आफैं व्यापारी वा व्यवसायी बन्नुभन्दा नियमन, पूर्वाधार, सार्वजनिक सेवा र समान अवसर सुनिश्चित गर्ने भूमिका निर्वाह गर्नुपर्ने धारणा अघि सारिएको छ । 

कांग्रेसले आफ्नो नयाँ आर्थिक मार्गचित्रलाई निजी क्षेत्रमैत्री, उच्च आर्थिक वृद्धिमुखी र सामाजिक न्यायकेन्द्रित बनाउनुपर्ने प्रस्ताव गरेको छ ।

थापाको प्रस्तावमा संगठनभित्र समावेशिताको प्रश्न पनि उठाइएको छ । पार्टीका हरेक तहमा कम्तीमा एक तिहाइ पदाधिकारी महिला हुने गरी संरचनागत सुधार गर्ने प्रस्ताव छ । 

त्यससँगै युवा, श्रमिक, मधेसी, दलित, आदिवासी जनजाति, थारू, मुस्लिम, अपांगता भएका व्यक्ति तथा लैंगिक र यौनिक अल्पसंख्यकको सहभागिता निश्चित गर्ने प्रस्तावमा उल्लेख  छ । 

बन्दसत्रमा सोमबार चार वटा प्रतिवेदन पेश भएका छन् । महाधिवेशनको दोस्रो दिन बन्दसत्रमा सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश भएको हो । यसअघि उनले बन्दसत्रकै हलमा प्रतिवेदनबारे बोलेका थिए । 

त्यस्तै, उपसभापति विश्वप्रकाश शर्माको समसामयिक प्रतिवेदन पेश भएको छ । महामन्त्री गुरुराज घिमिरेले सांगठनिक प्रतिवेदन र कोषाध्यक्ष उमेश श्रेष्ठले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका छन् ।

View : 31

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved