Biratnagar, Morang, Nepal
१८ असार २०८३, बिहिवार
+977 21 450305, 515728, 578305
साहित्य

प्रतिभा पुरस्कार प्रतिष्ठानद्वारा सात स्रष्टा र संस्था पुरस्कृत

उद्‌घोष संवाददाता
१८ असार २०८३, बिहिवार

प्राध्यापक कविराज न्यौपाने

Advertisement

विराटनगर  । प्रतिभा पुरस्कार प्रतिष्ठान, विराटनगरले प्रत्येक वर्ष प्रदान गर्दै आएको पुरस्कार यस वर्ष विभिन्न छ जना स्रष्टा तथा  एक  संस्थालाई प्रदान गर्ने निर्णय गरेको छ।

 

प्रतिष्ठानका अध्यक्ष कविराज न्यौपानेका अनुसार, नेपाली भाषा–साहित्यमा पुर्‍याएको लामो योगदानको कदर गर्दै २०८२ सालको ‘प्रतिभा पुरस्कार’ पाँचथरका उपन्यासकार मनु योङहाङ लिम्बूलाई प्रदान गरिने भएको छ।

 

त्यसैगरी, ‘लीलानाथ विश्वमञ्जरी बराल प्रतिभा पुरस्कार’ झापाको शिवसताक्षीस्थित सरस्वती कन्या गुरुकुलम्लाई, ‘ज्वालाप्रसाद पोखरेल प्रतिभा पुरस्कार’ काठमाडौँकी कवि प्रभा भट्टराईलाई र ‘दीनबन्धु उषादेवी गोयल प्रतिभा पुरस्कार’ काठमाडौँका नाट्यकर्मी घिमिरे युवराजलाई प्रदान गर्ने निर्णय गरिएको छ।

यी चारवटै पुरस्कारको राशि जनही ५० हजार रुपैयाँ रहेको छ।

 

यसैगरी, २१ हजार रुपैयाँ राशिको ‘विराटलक्ष्मी प्रतिभा पुरस्कार’ मोरङका कवि उमानाथ भट्टराईलाई प्रदान गरिनेछ भने सोही राशिको ‘षडानन्द प्रतिभा पुरस्कार’ उदयपुरका निबन्धकार पुण्य कार्की र मोरङ झोराहाटका कवि उमेश लुइँटेललाई संयुक्त रूपमा प्रदान गरिने प्रतिष्ठानले जनाएको छ।

 

वि.सं. २०३९ सालमा निजी स्तरमा स्थापना गरिएको यस प्रतिष्ठानले हालसम्म १२८ भन्दा बढी स्रष्टालाई पुरस्कृत गरिसकेको छ। साथै, प्रतिष्ठानले विभिन्न लेखकका पाँच दर्जनभन्दा बढी कृतिसमेत प्रकाशन गरिसकेको छ।

 

प्रतिष्ठानका अध्यक्ष कविराज न्यौपानेको अध्यक्षतामा बुधबार बसेको समितिको बैठकले उक्त निर्णय गरेको हो। पुरस्कृत स्रष्टाहरूलाई आगामी २०८३ साल असार २९ गते सोमबार भानु जयन्तीका अवसरमा विराटनगरमा आयोजना गरिने विशेष साहित्यिक समारोहका बीच पुरस्कार समर्पण गरिनेछ।

View : 60

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved