विराटनगर । ‘फुटबलको पर्व, विराटनगरको गर्व, विराट गोल्डकप’ भन्ने मूल नाराका साथ ३८औं विराट गोल्डकप फुटबल प्रतियोगिताको तयारी तीव्र पारिएको छ ।
चैत २८ गतेदेखि २०८३ वैशाख ५ गतेसम्म विराटनगरस्थित शहीद रंगशालामा सञ्चालन हुने यो सिजनको प्रतियोगिता भव्य रूपमा सम्पन्न गर्ने लक्ष्य राखिएको आयोजक विराट गोल्डकप फुटबल ट्रष्टले जनाएको छ ।
यसपटक पनि विगत वर्षहरूझैं ट्रष्ट आफैंले सम्पूर्ण व्यवस्थापन गर्दै प्रतियोगिता सञ्चालन गर्न लागेको बुधबार आयोजित पत्रकार सम्मेलनमा जनाइएको छ ।
प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको विराट गोल्डकप फुटबल ट्रष्टका अध्यक्ष किशोरबहादुर शाहीले बताए ।
प्रतियोगिताका लागि शहीद रंगशालाको मैदान मर्मत तथा सरसफाइ सम्पन्न भइसकेको र रंगशाला परिसरभित्र तथा बाहिर ब्यानर, होर्डिङ बोर्ड र प्रवेशद्वार निर्माणको काम भइरहेको उनले जानकारी दिए ।
रात्रीकालीन खेललाई ध्यानमा राख्दै फ्लडलाइट परीक्षणको कार्यसमेत जारी रहेको बताए ।
यस वर्षको प्रतियोगितामा नेपालका विभागीय खेलटोलीसहित कुल ८ वटा टोली सहभागी हुने छन् ।
यस सिजनको प्रतियोगितामा नेपालका तीन विभागीय टोलीहरू नेपाल पुलिस क्लब, नेपाल एपीएफ फुटबल क्लब र त्रिभुवन आर्मी फुटबल क्लबसहित मच्छिन्द्र फुटबल क्लब, चर्च ब्वाइज फुटबल क्लब, झापा–११ फुटबल क्लब खेल्दैछन् ।
स्थानीय क्लव प्रवद्र्धनका लागि यसपटक सम्राट स्पोर्टिङ क्लव समेटिएको छ ।
आमन्त्रित विदेशी टोलीका रूपमा भारतको अल झारखण्ड बिर्सा मुण्डा फुटबल एकेडेमीले प्रतियोगिता खेल्ने भएकोले प्रतियोगितालाई अझ प्रतिस्पर्धात्मक र आकर्षक बनाउने अपेक्षा गरिएको अध्यक्ष शाहीले बताए ।
ट्रष्ट आफैंले प्रतियोगिता आयोजना गर्न लागेका कारण निकै मेहेनतका साथ तयारी गरिरहेको जनाइएको छ ।
आर्थिक मन्दीका कारण प्रायोजन जुटाउन केही कठिनाइ भए पनि प्रतियोगिताको पहिचान जोगाउनकै लागि चुनौती सामना गर्दै अघि बढिरहेको आयोजकको भनाइ छ ।
प्रतियोगिता सम्पन्न गर्न कोशी प्रदेश सरकार, प्रदेश खेलकुद विकास बोर्ड, विराटनगर महानगरपालिका र राष्ट्रिय खेलकुद परिषद लगायतका निकायसँग सहकार्य गरिएको जनाइएको छ ।
प्रतियोगिता सञ्चालनका लागि १ करोड ५ लाख रूपैयाँ खर्च लाग्ने अनुमान गरिएको आयोजकले जनाएको छ ।
प्रतियोगिताको विजेता टोलीले नगद ११ लाख रूपैयाँसहित ट्रफी उचाल्ने छ । उपविजेताले ५ लाख रूपैयाँ प्राप्त गर्नेछ ।
त्यसैगरी उत्कृष्ट खेलाडीलाई ५१ हजार, उत्कृष्ट प्रशिक्षक, उत्कृष्ट गोलरक्षक र सर्वाधिक गोलकर्तालाई जनही १५ हजार रूपैयाँ प्रदान गरिनेछ ।
प्रत्येक खेलको उत्कृष्ट खेलाडीलाई ११ हजार रूपैयाँ पुरस्कार दिइने व्यवस्था गरिएको छ ।
यसपटक ट्रष्टले कसैलाई पनि पास नबाँड्ने घोषणा गरेको छ । अध्यक्ष शाहीले पास नै नछापिएको जानकारी दिए । मुख्य प्रायोजक घोषणा गरिएको नोबेल मेडिकल कलेजले ११ लाख रूपैयाँ दिएको जनाइएको छ ।
अन्य वस्तु तथा सेवाका उत्पादकहरूले समेत गोल्डकपमा सहकार्य गरेको जनाइएको छ ।
प्रतियोगिता अवधिमा दर्शकलाई आकर्षित गर्न प्रत्येक दिन मैदानमा उपस्थित दर्शकमध्येबाट ‘लक्की ड्र’ मार्फत उपहार वितरण गरिने आयोजकले जनाएको छ ।
कोशी प्रदेश फुटबल संघका अध्यक्ष किशोर राईले प्रदेशभित्र सञ्चालन भइरहेका फुटबल प्रतियोगितालाई सवैको सल्लाहमा साझा तालिकामा राखेर दिगो रूपमा सञ्चालन गर्नुपर्ने धारणा राखेका थिए ।
View : 189
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved