विराटनगर । नेकपा एमालका अध्यक्ष केपी शर्मा ओलीले पदबाट राजीनामा दिन लगातार दिइरहेको दबाब झेलेर नदिने अडान देखाइरहेका कोशीका मुख्यमन्त्री हिक्मतकुमार कार्की नेताहरुसँग छलफल गर्न मंगलबार काठमाडौं जाने भएका छन् । अध्यक्ष ओलीले महासचिव शंकर पोखरेलमार्फत कार्कीलाई काठमाडौं डाकेका हुन् ।
‘उहाँ नेताहरुसँग छलफल गर्न मंगलबार काठमाडौं जाँदै हुनुहुन्छ,’ मुख्यमन्त्री निकट एमाले स्रोतले भन्यो ‘अध्यक्ष ओलीले महासचिवमार्फत उहाँलाई काठमाडौं बोलाउनुभएको हो । अब त्यहाँ अहिलेको विवादबारे छलफल हुनेछ ।’
अध्यक्षले राजीनामा दिन दबाब बढाइरहँदा कोशीका मुख्यमन्त्री कार्की भने राजीनामा नदिने अडानमा दृढ देखिन्छन् । ‘व्यक्तिको आदेश होइन, संस्थागत निर्णय मात्रै मान्ने’ बताउँदै आएका मुख्यमन्त्री कार्कीले सोमबार यसको प्रष्ट संकेत पनि दिएका छन् । तर, काठमाडौंमा हुने छलफलले उनको मुख्यमन्त्री पदको आयु निर्धारण गर्ने एमाले नेताहरु बताउँछन् ।
‘महासचिव शंकर पोखरेलसहितका नेताहरुसहित उहाँले अध्यक्षसँग छलफल गर्ने कुरा बुझिएको छ,’ मुख्यमन्त्री निकट स्रोतले भन्यो ‘सम्भवतः त्यो छलफलले मुख्यमन्त्री टिक्ने कि छोड्ने तय होला ।’
एमालेका सचिवसमेत रहेका मुख्यमन्त्री कार्कीलाई पार्टी रुपान्तरण अभियान चलाइरहेका विष्णु पौडेल, शंकर पोखरेलहरुको साथ छ ।
काठमाडौंमा हुने छलफलमा सहमति जुटे मुख्यमन्त्रीले मार्गप्रशस्त गर्ने, सहमति नजुटे अहिलेकै अवस्थाले निरन्तरता पाउने नेताहरुको भनाइ छ । अहिलेसम्म भने मुख्यमन्त्री कार्की अडानमा टिकिरहेका छन् ।
मुख्यमन्त्री कार्कीको आत्मविश्वासका पछाडि दुईवटा आधार रहेको उनी निकटहरुको भनाइ छ । पहिलो, उनले नेतृत्व गरिरहेको सरकार संविधानको धारा १६८(५) अन्तर्गत बनेको सरकार हो ।
यस्तो सरकारको राजनीतिक र संवैधानिक प्रकृति सामान्य बहुमतको सरकारभन्दा फरक भएकाले केवल पार्टीको मौखिक निर्देशनले सरकार परिवर्तन हुने अवस्था छैन भन्ने उनको बुझाइ छ ।
दोस्रो, एमालेभित्र पछिल्लो समय संस्थागत निर्णय प्रक्रिया हुनुपर्ने माग चर्किएको छ । अध्यक्ष ओलीको इच्छामात्रै पर्याप्त नहुने, सचिवालय वा अन्य सक्षम पार्टी निकायको औपचारिक निर्णय आवश्यक पर्ने धारणा पार्टीभित्रै बलियो बन्दै गएको छ ।
पार्टीभित्र पुनर्गठनको बहस चलिरहेका बेला अध्यक्ष ओलीका विश्वासपात्र मानिने केही शीर्ष नेताहरू पनि संस्थागत निर्णय प्रक्रियाको पक्षमा उभिएको चर्चा छ । यही शक्ति सन्तुलनले पनि कार्कीलाई तत्काल राजीनामा नदिने आत्मविश्वास दिएको एमालेकै नेताहरू बताउँछन् ।
अध्यक्ष ओली भने कोशीमा नेतृत्व परिवर्तन गरेर संसदीय दलका उपनेता तिलकुमार मेन्याङ्बोलाई मुख्यमन्त्री बनाउने पक्षमा छन् ।
काठमाडौंमा ओलीसँग छलफल भएपछि पनि कार्की अडानमा टिकिरहलान् ? यसबारे केही निश्चित नभएको उनी निकटहरुको भनाइ छ ।
‘उपाध्यक्ष विष्णु पौडेल, महासचिव शंकर पोखरेलहरुको कस्तो धारणा बन्छ भन्ने कुरामा यो विषय निर्भर होला,’ एमालेका एक नेताले भने ‘अहिलेसम्मको अवस्था हेर्दा सहजै यो तनाव साम्य हुने देखिन्न । यदि नेताहरुबीचको छलफलले निकास निकाल्यो भने साम्य होला ।’
पार्टीका प्रदेश इञ्चार्ज तथा सचिव शेरधन राई ओलीको सन्देश लिएर विराटनगर आएपछि सोमबार बसेको एमाले प्रदेश संसदीय दल र प्रदेश नेतृत्वको संयुक्त छलफलपछि कार्कीले सार्वजनिक रूपमा दिएको अभिव्यक्तिले उनी अहिलेसम्म अडानबाट पछि नहटेको देखिन्छ ।
विराटनगरस्थित पार्टी कार्यालयमा भएको छलफलपछि उनले सञ्चारकर्मीसँग आफू संविधानको धारा १६८ को उपधारा (५) अन्तर्गत बनेको मुख्यमन्त्री भएकाले सामान्य राजनीतिक दबाबले सरकार परिवर्तन नहुने सन्देश दिएका थिए ।
‘म संसदीय दलको नेता मात्र भएर मुख्यमन्त्री भएको होइन,’ उनले भने ‘ ६५ भन्दा बढी प्रदेशसभा सदस्यको विश्वासको मत लिएर सरकार बनेको हो । यो संविधानको धारा १६८ को उपधारा (५) को सरकार हो र आफ्नै ढंगले अगाडि बढ्छ ।’
उपधारा ५ अनुसार बनेको सरकार आफ्नै ढंगले अघि बढ्ने बताएर कार्कीले खुला रुपमा ओलीलाई चुनौती दिएका छन् । यो उपधारा अनुसार बनेको मुख्यमन्त्रीले प्रदेशमा विश्वासको मत नपाए प्रदेशसभा विघटनतिर अग्रसर हुने जोखिम हुन्छ । सम्भवतः कार्कीले त्यही संकेत गर्दै सरकार आफ्नै ढंगले अघि बढ्ने बताएका हुन् ।
पछिल्ला केही सातादेखि एमालेभित्र कार्कीको विकल्प खोजिएको, संसदीय दलमा हस्ताक्षर संकलन भइरहेको र नयाँ नेतृत्वको तयारी भइरहेको चर्चा चलिरहेका छन् । तर कार्कीले ती सबै चर्चालाई हल्ला सुनेको र यसबारे आफूलाई जानकारी नभएको पनि बताए ।
‘दलको नेता पनि म नै हुँ, मुख्यमन्त्री पनि म नै हुँ । मिडियामा आएका विभिन्न कुराहरू सत्य होइनन्,’ उनले भने । उनले पार्टीभित्र तीनबुँदे सहमति कार्यान्वयनबारे छलफल भइरहेको स्वीकारे पनि नेतृत्व परिवर्तन बारे कुरा नभएको उल्लेख गरे ।
बरु प्रदेश इञ्चार्ज शेरधन राईले उल्लेख गरेको सानो गाँठोलाई सामान्य रूपमा व्याख्या गर्दै उनले भने, ‘एउटा सानो गाँठो फुक्न बाँकी छ भनिएको छ । त्यो प्रदेश सरकारको नेतृत्व कसले गर्छ भन्ने विषय हुन सक्छ । तर त्यसमा कुनै ठूलो समस्या छैन । गाँठो रहेछ भने पनि चाँडै फुक्छ ।’
मुख्यमन्त्री कार्कीले अर्को महत्वपूर्ण सन्देश पार्टी अध्यक्ष ओलीसँगको सम्बन्धबारे पनि दिए । अध्यक्ष ओलीले आफूलाई मार्गप्रशस्त गर्न भनेको चर्चा अस्वीकार गर्दै उनले यस्तो कुनै प्रत्यक्ष निर्देशन नआएको दाबी गरे ।
‘उहाँ र मेरो बीचमा अहिले त्यस्तो कुरा भएको छैन । उहाँले कसरी अगाडि बढ्ने भनेर सोध्नुभएको छ । मैले पनि आफ्ना कुराहरू स्पष्ट पारेको छु,’ उनले भने ।
संसदीय दलमा अविश्वास प्रस्ताव दर्ता गर्न हस्ताक्षर संकलन भइरहेको हल्लाबारे पनि उनले आफूलाई कुनै आधिकारिक जानकारी नभएको बताए ।
‘हल्लाखल्ला सुनेको छु, तर त्यसको चाल पाएको छैन,’ उनले भने । अन्य केही एमाले नेताहरुले पनि हस्ताक्षर संकलन नभएको बताएका छन् । संविधान अनुसार मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव लैजाँदा जोखिम हुने देखेपछि तत्कालै अविश्वास प्रस्ताव लैजाने तयारीसहित विराटनगर आएका शेरधन राई अन्ततः हच्केका छन् ।
प्रदेश इञ्चार्ज राईले भने सरकार नेतृत्वको विवाद धेरै नलम्बिने बताए । उनका अनुसार एमाले र नेकपाबीच भएको तीनबुँदे सहमति कार्यान्वयन गर्ने क्रममा देखिएको जटिलता अब केही दिनमै समाधान हुनेछ ।
‘हामीले केही दिनदेखि परेको सानो गाँठोलाई फुकाउँछौं । एक–डेढ हप्ताभित्र सहमतिको कार्यान्वयन गरेर नयाँ निष्कर्षमा पुग्छौं,’ राईले भने । यो गाँठो सरकारको नयाँ नेतृत्वबारे हो भनेर सोध्ला शेरधनले त्यो पनि हो भनेका थिए ।
उनले सरकारको नेतृत्व एमालेकै रहने निर्णय भइसकेको तर नेतृत्व कार्कीले निरन्तरता दिने कि परिवर्तन हुने भन्ने विषयमा मात्रै छलफल भइरहेको बताए ।
‘सरकारको नेतृत्व एमालेले नै गर्ने कुरा टुंगिसकेको छ । तर नेतृत्व अहिलेका मुख्यमन्त्री कार्कीले नै गर्नुहुन्छ कि नेतृत्व परिवर्तन हुन्छ भन्ने विषयमा छलफल गरिरहेका छौं,’ उनले भने ‘केही दिनमै यो विषय टुंग्याउँछौं ।’ राईले बाहिर प्रचार गरिएजस्तो एमालेभित्र विभाजन वा गम्भीर टकराव नरहेको दाबी पनि गरे । ‘सवाल व्यक्तिको होइन, पार्टीको हो । हामी पार्टीको निर्देशन र आदेशमा चल्छौं’ उनले भने ।
View : 73
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved