विराटनगर। काठमाडौंको पुतलीसडकस्थित प्रतिष्ठित शैक्षिक संस्था हिमालयन ह्वाइटहाउस इन्टरनेशनल कलेजको प्राचार्यमा प्रा.डा. यादवराज कोइराला नियुक्त भएका छन् । पूर्वाञ्चल विश्वविद्यालयका पूर्व उपकुलपति समेत रहेका कोइरालालाई कलेज प्रशासनले हालै एक भव्य समारोहका बीच स्वागत गर्दै जिम्मेवारी सुम्पिएको हो ।
लामो समयसम्म विराटनगरस्थित स्नातकोत्तर क्याम्पसमा प्राध्यापन गराएका कोइराला नेपालको उच्च शिक्षा क्षेत्रमा एक अनुभवी र दूरदर्शी नेताका रूपमा चिनिन्छन् । त्रिभुवन विश्वविद्यालयबाट अनिवार्य अवकाश प्राप्त गरेपछि पनि उनी व्यवस्थापन संकाय अन्तर्गतका विभिन्न अनुसन्धानात्मक र प्राज्ञिक कार्यहरूमा सक्रिय रहँदै आएका थिए ।
अनुभव र नेतृत्वको नयाँ संगम
डा. कोइरालाको नेतृत्वसँगै ह्वाइटहाउस कलेजले प्राज्ञिक उचाइमा नयाँ फड्को मार्ने विश्वास लिएको छ । कलेजद्वारा जारी विज्ञप्तिमा भनिएको छ, "विशिष्ट प्राज्ञिक करियर र उच्च शिक्षाको विकासमा उहाँको दुरगामी दृष्टिकोण कलेजका लागि अमूल्य सम्पत्ति हुनेछ । उहाँको अनुभवले कलेजमा नवप्रवर्तन र गुणस्तरीय शिक्षाको नयाँ युगको सुरुवात गर्नेछ ।"
विराटनगर र कोशी प्रदेशको शैक्षिक विकासमा महत्वपूर्ण योगदान पुर्याएका कोइरालाको काठमाडौं गमन र निजी क्षेत्रको प्रतिष्ठित कलेजसँगको आबद्धतालाई शैक्षिक वृत्तमा चासोका साथ हेरिएको छ । कलेज परिवारले उनकाे कार्यकालमा संस्थाले थप उचाइ लिने भन्दै हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेको छ ।
View : 1446
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved