विराटनगर । सुनसरीको देवानगन्ज गाउँपालिका–३ कप्तानगञ्जमा आइतबार राति भएको गोलीकाण्डमा घाइते भएका अर्का एक युवकको उपचारका क्रममा मृत्यु भएको छ । यससँगै घटनामा ज्यान गुमाउनेको संख्या दुई पुगेको प्रहरीले जनाएको छ ।
मोरङ प्रहरीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मकेन्द्रकुमार मिश्रका अनुसार देवानगन्ज–३ का २२ वर्षीय जयप्रकाश मेहताको बिहीबार दिउँसो विराटनगरस्थित न्यूरो अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको हो ।
प्रहरीका अनुसार जयप्रकाशको पेटमा गोली लागेको थियो । घटनाको भोलिपल्ट सोमबार उनको शल्यक्रिया गरिएको भए पनि अवस्था गम्भीर रहेकाले भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो । उनको शव हाल न्युरो अस्पतालमै राखिएको प्रहरीले जनाएको छ ।
यसअघि सोही घटनामा गोली लागेर गम्भीर घाइते भएका देवानगन्ज–४ का २५ वर्षीय ओमप्रकाश मेहताको आइतबार राति नै मृत्यु भएको थियो । उनको शव पनि सोही अस्पतालमा राखिएको प्रहरीले जनाएको छ ।
कप्तानगञ्जमा दुई समुदायबीच उत्पन्न विवाद आइतबार राति झडपमा परिणत भएपछि स्थिति नियन्त्रणमा लिन सशस्त्र प्रहरीले हवाई फायर गरेको जनाएको छ । घटनामा गोली लागेर १० जना युवा घाइते भएका थिए ।
तीमध्ये दुई जनाको मृत्यु भइसकेको छ भने अन्य आठ जना विभिन्न अस्पतालमा उपचाररत छन् । घटनापछि सोमबार र मंगलबार सुनसरीका विभिन्न स्थानमा आगजनी, तोडफोड, लुटपाट तथा व्यक्ति लक्षित आक्रमणका घटना भएपछि जिल्लाको सुरक्षा अवस्था थप तनावग्रस्त बनेको थियो ।
स्थिति नियन्त्रणमा लिन स्थानीय प्रशासनले जारी गरेको कर्फ्यू आदेश अझै जारी छ । सुनसरी प्रहरीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक चन्द्रबहादुर खड्काका अनुसार बुधबारदेखि सुरक्षा निकायको कडा परिचालनपछि सुनसरीको अवस्था क्रमशः सामान्य बन्दै गएको छ ।
यद्यपि, मोरङसहित केही जिल्लामा प्रदर्शनकारीहरू भने सडकमा निस्किएका छन् । मोरङ प्रशासनले पनि सामाजिक सद्भाव कायम राख्न सबै पक्षसँग संयमता अपनाउन अपिल गरेको छ । नेपाल न्यूज बैंक
View : 37
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved