Biratnagar, Morang, Nepal
२३ जेठ २०८३, शनिवार
+977 21 450305, 515728, 578305
समाज

चरिमाया र पनियाको ज्योति फर्काउने चौदण्डीगढीको बृहत् आँखा शिविर

उद्‌घोष संवाददाता
२९ पुष २०८२, मङ्गलवार

बेल्टार । अन्धकारमा बितेका दिनहरू जब अचानक उज्यालोमा परिणत हुन्छन्, त्यो केवल आँखाले देख्ने क्षण मात्र हुँदैन । त्यो जीवन नै फेरि जन्मिएको अनुभूति हुन्छ । उदयपुरको रौतामाई गाउँपालिका–२ बोदेकी चरिमाया तामाङका लागि यस्तै चमत्कारिक क्षण बन्यो चौदण्डीगढी नगरपालिकाले आयोजना गरेको बृहत् निःशुल्क आँखा शिविर ।

तीन वर्षदेखि आँखाको दुवै ज्योति गुमाएकी चरिमायाको जीवन अन्धकारबाट उज्यालोमा फर्किएको हो ।

‘आफू त सबैका लागि बोझ बनेको महसुस हुन्थ्यो,’ उनले शिविरमा उपचारपछि भनिन्, ‘आज मेरो अवस्था पूर्ण रूपमा फेरिएको छ, फेरि आफ्नै आँखाले संसार देख्न पाएको छु ।’

तीन वर्षदेखि श्रीमती चरिमायालाई डोहोर्याएर हिँड्दै आएका कृष्णबहादुर तामाङले पनि श्रीमतीले आफूलाई अहिले देख्न पाउँदा घरै उज्यालो भएको अनुभूति सुनाए ।

आठ महिनाअघि दुवै आँखाको ज्योति गुमाएकी चौदण्डीगढी–९ डुंगाहाकी ५० वर्षीया पनिया सदाले पनि यही शिविरबाट ज्योति पाएकी छन् ।

चौदण्डीगढी नगरपालिकाको पहलमा तिलगंगा आँखा अस्पतालसँगको सहकार्यमा आँखा शिविर सञ्चालन गरिएको मेयर कालुमान लामाले जानकारी दिए । शिविरमा जिल्लाभरिका मानिसहरूले आँखाको उपचार गर्ने अवसर प्राप्त गरेको उनले बताए । मेयर लामाका अनुसार नगरपालिकाले तीन वर्षयता तिलगंगासँगको सहकार्यमा बृहत् आँखा शिविर सञ्चालन गर्दै आएको छ ।

हालसम्म शिविरबाट सात हजारभन्दा बढीले आँखा परीक्षण तथा उपचार सेवा पाएको जनाइएको छ । एक हजारभन्दा बढीको आँखाको सफल शल्यक्रिया भइसकेको मेयर लामाले बताए ।

आँखा उपचारका लागि चर्चित चिकित्सक डा. सन्दुक रुइतले शिविरमा सेवा दिएका थिए । शिविरमा धेरै व्यक्तिमा मोतियाबिन्दुका बिरामीको पहिचान भएको जनाइएको छ ।

‘डा. रुइतको टोली आउने खबर पाएपछि टाढा–टाढाबाट पनि बिरामीहरू उपचारका लागि आए,’ मेयर लामाले भने, ‘स्थानीय स्तरमै गुणस्तरीय रूपमा आँखाको उपचार सेवा उपलब्ध गराउन सहयोग पुगेको छ ।’

यसपटक पुस १९ गतेदेखि सुरु भएको शिविरमा करिब साढे चार सय जना मोतियाबिन्दुका बिरामी पहिचान भएका छन् । उनीहरूको शल्यक्रिया सोमबारदेखि सुरु गरिएको जनाइएको छ । पहिलो दिनमै १५१ जनाको आँखाको शल्यक्रिया सम्पन्न हुँदा चरिमाया र पनियाले पनि आँखाको ज्योति पुनः प्राप्त गरेका हुन् ।

View : 271

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved