Biratnagar, Morang, Nepal
२५ फागुन २०८२, सोमवार
+977 21 450305, 515728, 578305
साहित्य

चेतना प्रतिष्ठानद्वारा विभिन्न क्षेत्रका व्यक्ति पुरस्कृत

उद्‌घोष संवाददाता
२७ माघ २०८१, आइतवार

विराटनगर । चेतना संरक्षण प्रतिष्ठान नेपाल विराटनगरले २० औं वार्षिकोत्सवको अवसर पारेर विभिन्न क्षेत्रका व्यक्तिहरूलाई पुरस्कृत गरेको छ ।

शनिबार विराटनगरमा आयोजित विशेष समारोहमा प्रतिष्ठानले साहित्य, पत्रकारिता, धर्मसंस्कृति, कलालगायतका विभिन्न विधाका पुरस्कार समर्पण गरेको हो । 

प्रतिष्ठानले १ लाख ५१ हजार नगद राशिको धर्मानन्द–रामप्यारी सिटौला साहित्य चेतना पुरस्कार यस वर्ष साहित्यकार चूडामणि बन्धुलाई समर्पण गरेको छ । त्यस्तै जनही ५१ हजार राशिको बालकिशन–नर्वदादेवी मुन्दडा सनातन मानवीय धर्मसंस्कृति चेतना पुरस्कार भानुभक्त जोशी (बझाङ), ओमप्रकाश गोयल समाजसेवा चेतना पुरस्कार इन्दिरा राना मगर (झापा)लाई प्रदान गरिएको छ । राना मगर प्रतिनिधिसभाकी उपसभामुखसमेत हुन् । 

त्यस्तै जनही ५१ हजार राशिकै नरेश सुवेदी साहित्यिक पत्रकारिता पुरस्कार पत्रकार कमल पौडेल (मोरङ), भूपेन्द्र–शोभा रिजाल ललितकला चेतना पुरस्कार कलाकार सन्तोष पन्त (काठमाडौं), डा. नरेन्द्र–योगमाया–भवानीशंकर चापागाईं युवा प्रतिभा चेतना पुरस्कार युवा प्रतिभा रामजी राम (रौतहट), केदारनाथ–मञ्जु सत्याल बाल प्रतिभा चेतना पुरस्कार बालप्रतिभा आभाष ढकाल (स्याङ्जा) लाई प्रदान गरिएको छ ।

यसै वर्षदेखि वितरण गर्न थालिएको १ लाख १ हजार राशिको जगतबन्धु–अञ्जु कार्की साहित्य सेवा चेतना पुरस्कार महाकाव्यकार सोमराज अभयलाई प्रदान गरिएको छ । 

पुरस्कृत व्यक्तिलाई महेन्द्र मोरङ क्याम्पसका पूर्वप्रमुख प्रा.डा. बाबुराम तिम्सिना, आयोजक संस्थाकी अध्यक्ष गंगा सुवेदी, पुरस्कारका संस्थापक दीनबन्धु गोयल, हरिभक्त सिटौला, दिनेश सुवेदी, बेनिगोपाल मुन्दडा, अञ्जु कार्की, सरला चापागाईंलगायतले दोसल्ला ओढाएर सम्मानपत्र र नगद राशि प्रदान गरेका थिए ।

View : 352

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved