Biratnagar, Morang, Nepal
१५ भदौ २०८३, सोमवार
+977 21 450305, 515728, 578305
कोशी

भोटेकोशी बाढीको विपत्ति : कोशीका १७६ जना बेपत्ता, २२ जना सम्पर्कमा

आइतबार साँझसम्ममा ७८८ जनाको शव फेला परेको छ भने २ हजार ५०२ जना अझै सम्पर्कविहीन अवस्थामा छन् ।
उद्‌घोष संवाददाता
१५ भदौ २०८३, सोमवार

भोटेकोशी बाढीका कारण थुनिएका हाइड्रोपावरभित्र हराइरहेका मानिसहरुको खोजीका लागि परिचालित उद्दार टोली ।

Advertisement

विराटनगर । भोटेकोशी बाढीले निम्त्याएको विपत्तिको आइतबार  पाँचौ दिन पूरा भएको छ । 

मध्य नेपालका रसुवा, चितवन, धादिङ, तनहुँ, गोरखा, नुवाकोट र नवलपरासी पूर्वलगायतका ठाउँमा लगातार रुपमा शव फेला परिरहेका छन् ।

कोशी प्रदेशसहित देशभरका विभिन्न जिल्लाका मृतकहरुको शव फेला परिरहे पनि धेरै शवको  सनाखत हुनै सकेको छैन । 

तिब्बती हिमालमा गएको हिमपहिरोपछि अचानक बाढी आएको कारणबारे जलवायु विज्ञ, हिमाल र हिमनदीका विशेषज्ञहरू अध्ययनमा जुटेका छन् । 

जोखिम सधैं उच्च रहेको मानिने हिमाली क्षेत्रमा त्यस्तै खतरा अझै रहेको विज्ञहरुले चेतावनी दिँदै आएका छन् । 

बाढी प्रभावितको उद्धारका लागि नेपाली सेनासहितका स्वयंसेवकहरू घाइतेहरूको उद्धार तथा खोजीमा जुटिरहेका छन् । अधिकांश उद्धार उडानहरू रसुवा, टिमुरे, त्रिशूली तथा धुन्चे क्षेत्रमा केन्द्रित छन् ।

धनजनको अकल्पनीय क्षति भएको यो घटनामा अहिलेसम्म कतिको मृत्यु भयो, कति घाइते छन् र कति सम्पर्कबाहिर छन् भन्ने एकमुष्ठ विवरण अझै यकिन हुन सकेको छैन । यद्यपि आइतबार साँझसम्ममा  फेला परेको शवको संख्या  ७८८ पुगेको छ । 

नेपाल प्रहरीले दिएको जानकारी अनुसार आइतबार साँझसम्ममा यति शव फेला परिसकेका छन् । जसमा कोशी प्रदेशका एक जना छन् । 

नेपाल प्रहरीले दिएको जानकारी अनुसार आइतबार साँझसम्ममा ८ हजार ७३० जनाको उद्धार भइसकेको छ । सम्पर्कविहीनको संख्या २ हजार ५०२ छ । सरकारले १९ हजार ८९५ सुरक्षाकर्मीलाई उद्धारमा परिचालन गरेको छ । 

भोटेकोशी–त्रिशूली नदी जलाधार क्षेत्रमा आएको भीषण बाढीमा  परेर  कोशी प्रदेशका विभिन्न जिल्लाबाट रोजगारी, व्यवसाय तथा भ्रमणका लागि पुगेका १७६ जना अझै बेपत्ता अवस्थामा छन् ।

कोशी प्रदेश प्रहरी कार्यालयको आइतबार साँझसम्मको  अद्यावधिक तथ्यांक अनुसार बाढी प्रभावित क्षेत्रमा खोजी तथा उद्धार कार्य जारी रहँदा हालसम्म २२ जना सकुशल सम्पर्कमा आएका छन् भने इलामका एक जनाको मृत्यु भएको पुष्टि भएको छ । 

घाइते अवस्थामा उद्धार गरिएका इलाम फाकफोकथुम गाउँपालिका–१ का ४० वर्षीय बेनु थेगिमको हाल काठमाडौंस्थित राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।

बाढीमा परी मृत्यु हुनेमा इलाम सन्दकपुर गाउँपालिका–३ भुतुलुङका ३५ वर्षीय दिवानन्द सुवेदी (दिवस सुवेदी) छन् ।  यात्रु लिएर गाडी चलाएर रसुवा पुगेका सुवेदीको शव फेला परेपछि परिवारले गण्डकी अस्पतालको शवगृहबाट बुझेर अन्तिम संस्कार गरिसकेका छन् । 

कोशी प्रदेश प्रहरीको जिल्लागत विवरण अनुसार हालसम्म सबैभन्दा धेरै सोलुखुम्बुका ४२ जना र ओखलढुङ्गाका २७ जना सम्पर्कविहीन छन् । 

सोलुखुम्बुका ३ र ओखलढुङ्गाका २ जना सम्पर्कमा आएका छन् । यसैगरी उदयपुरका २१ जना बेपत्ता छन् । 

उदयपुरका ५ जना सम्पर्कमा आएका छन् । त्यस्तै सुनसरीका २० जना अझै बेपत्ता छन् भने ५ जना सम्पर्कमा आएका छन् । 

झापाका १३ जना बेपत्ता हुँदा १ जना, खोटाङका ११ जना बेपत्ता बन्दा १ जना सम्पर्कमा आएको प्रहरीको विवरणमा उल्लेख छ । 

ताप्लेजुङका ५ जना बेपत्ता छन् भने ३ जना सकुशल सम्पर्कमा आउन सफल भएका छन् । त्यस्तै मोरङका १६, इलामका १२ जना बेपत्ता छन् ।

इलामका २ जना सम्पर्कमा आएका छन् । संखुवासभाका ३, भोजपुरका ३, धनकुटाका २ र पाँचथरका १ जना बेपत्ताको सूचीमा छन् ।

बाढी तथा पहिरोमा परेका अधिकांश नागरिक रसुवास्थित माथिल्लो त्रिशूली–१, चिनियाँ हाइड्रो प्रोजेक्ट र लाङटाङ हाइड्रोपावर जस्ता जलविद्युत आयोजनामा कार्यरत प्राविधिक, स्काभेटर अपरेटर तथा मजदुरहरू छन् । 

यसबाहेक स्याफ्रुबेसी तथा टिमुरे क्षेत्रमा होटल तथा व्यापार व्यवसाय सञ्चालन गरिरहेका व्यवसायी, चालक र गोसाइँकुण्ड तीर्थयात्रा तथा घुमघामका लागि पुगेका पर्यटकहरू पनि सम्पर्कविहीन भएका छन् । नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, कर्मचारीहरु र विदेशी नागरिक पनि उल्लेख्य संख्यामा हराइरहेका छन् ।

View : 47

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved