Biratnagar, Morang, Nepal
५ चैत २०८२, बिहिवार
+977 21 450305, 515728, 578305
कोशी

प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिता

सुजन थपलियाको कप्तानीमा कोशीको टोली घोषणा

उद्‌घोष संवाददाता
४ चैत २०८२, बुधवार

विराटनगर । चैत १० गतेदेखि हुने प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताका लागि कोशी प्रदेशबाट सुजन थपलियाको कप्तानीमा टोलीको घोषणा भएको छ ।

कोशी प्रादेशिक क्रिकेट संघका अध्यक्ष सर्वजीत पाण्डेले थपलियाको कप्तानीमा १५ खेलाडीसहित प्रशिक्षक, टोली व्यवस्थापक र फिजियोसहित १८ सदस्यीय टोलीको घोषणा गरेका हुन् । 

प्रतियोगिताका लागि अंकित सुवेदीलाई कप्तानीबाट विश्राम दिदैं झापाका सुजन थपलियालाई नयाँ कप्तानको जिम्मेवारी दिइएको छ । 

टोलीमा झापाबाट ६, मोरङबाट ४, उदयपुरबाट ३, सुनसरी र इलामबाट समान १÷१ खेलाडी अटाएका हुन् । थपलियाको कप्तानीमा कोशी प्रदेशको टोलीले सुखद् नतिजा दिने अपेक्षा गरिएको अध्यक्ष पाण्डेले बताए ।

टोलीमा मोरङबाट उपकप्तानमा शाकिव हक, फिर्दोष अन्सारी, दिपेश कँडेल, प्रेम कामत समेटिएका छन् । झापाबाट कप्तान थपलियासहित समिर कार्की, अंकित सुवेदी, ज्ञमनेन्द्र श्रेष्ठ, आशिक राना मगर र विपिन महतो छन् । 

सुनसरीबाट रोहन साह, इलामबाट शिवांश बजगाईँ तथा उदयपुरबाट सोनु अन्सारी, प्रभात किरण हाङ्खिम र सुमन श्रेष्ठ समावेश भएको जनाइएको छ ।

प्रशिक्षकको जिम्मेवारी राजकुमार प्रधानले गर्नेछन् । टिम व्यवस्थापकमा शशिशेखर झा र फिजियो विपिन भट्टाराईले जिम्मेवारी पाएका छन् । 

बागमती र मधेश प्रदेशको संयुक्त आयोजनामा यो पटकको प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिता आयोजना गरिएको छ । कोशी प्रदेशले प्रतियोगितामा ९ वटा खेल खेल्नेछ । कुल ४६ वटा खेल हुने प्रतियोगिताको फाइनल बैशाख ४ गते वीरगञ्जमा हुने जनाइएको छ ।

प्रतियोगितामा सातै प्रदेशका टोली र नेपाल पुलिस, सशस्त्र प्रहरी र त्रिभुवन आर्मीको बिभागीय टोली खेल्नेछन् ।

View : 57

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved