Biratnagar, Morang, Nepal
७ असोज २०८३, बुधवार
+977 21 450305, 515728, 578305
राजनीति

पेलेरै अघि बढ्ने मुडमा ओली

‘अध्यक्षता अध्यक्षको हुने भइहाल्यो, आज त बैठक सञ्चालन पनि उहाँले नै गर्नुभयो । प्रतिवेदन पनि आफ्नो मात्रै पेश गर्नुभयो । कर्ण थापाले पेश गर्न खोज्नुभएको थियो उहाँले समय दिनुभएन । कृष्णगोपालले तरिका भएन भनेको उहाँले सुन्नुभएन ।’ –दीपक कार्की, केन्द्रीय सदस्य
उद्‌घोष संवाददाता
६ असोज २०८३, मङ्गलवार

Advertisement

विराटनगर । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली पार्टीभित्र उठिरहेको नेतृत्व परिवर्तन र पुनर्गठनको बहसलाई अस्वीकार गर्दै आफ्नै नेतृत्वमा अघि बढ्ने संकेतसहित केन्द्रीय कमिटी बैठकमा प्रस्तुत भएका छन् । 

सोमबार सुरु भएको केन्द्रीय कमिटीको तेस्रो बैठकमा ओलीले पार्टी पुनर्गठनको मागलाई परिस्थितिसँग नमिलेको बहसका रूपमा व्याख्या गरेका छन् । नेतृत्व विस्थापनलाई मात्र पुनर्गठनका रूपमा बुझ्न नहुने भन्दै ओलीले अहिलेको एमाले त्यस्तो अवस्थामा नरहेको दाबी गरेका छन् ।

राष्ट्रिय राजनीति, पार्टीभित्र देखिएका समस्या र आगामी कार्यभारबारे आफ्नो धारणा समेटेर तयार पारेको राजनीतिक प्रतिवेदनमा ओलीले विगतमा एमाले धारमा भएका पुनर्गठनका घटनालाई समेत उदाहरणका रूपमा प्रस्तुत गरेका छन् । 

केशरजंग रायमाझीको दरबारसँगको निकटतादेखि झापा आन्दोलन र २०७५ सालपछिको पार्टी पुनर्गठनसम्मका घटनालाई उनले फरक–फरक परिस्थितिका उदाहरणका रूपमा अघि सारेका छन् । 

‘के हो पुनर्गठन ? कस्तो अवस्थामा हुन्छ ? के नेतृत्व विस्थापन गर्ने कुरालाई पुनर्गठन भनिन्छ ? हाम्रो धारको आन्दोलनमा कति पल्ट र कहिले कहिले पुनर्गठन भएको छ भन्ने कुरा हामीले राम्ररी बुझ्न जरुरी छ ।

पार्टी पुनर्गठन कुनै रहर वा लहडको विषय होइन,’ ओलीले प्रतिवेदनमा भनेका छन् ‘यति बेला चले, चलाइएको पुनर्गठनको हल्लाले शब्दार्थ वा भावार्थ केही पनि बोक्दैन र औचित्य, आवश्यकता र समय सन्दर्भसँग पनि विल्कुलै मेल खाँदैन,’ उनले भनेका छन् ।’

पार्टीभित्र नेतृत्व परिवर्तनसँगै उठिरहेको रूपान्तरण, हस्तान्तरण र पुस्तान्तरणको बहसलाई पनि ओलीले आफ्नै ढंगले व्याख्या गरेका छन् । 

उनका अनुसार रूपान्तरण भनेको पार्टीको इतिहास, विचार, संघर्ष र संगठनात्मक परम्परा मेट्नु होइन । बरु कार्यशैली, जनतासँगको संवाद, निर्णय प्रक्रिया र संगठन सञ्चालनको तौरतरिका बदल्नु हो । 

‘पुरानो रूखमा नयाँ पालुवा ल्याउन जरा काटिँदैन । जरालाई पोषण दिएर नयाँ पालुवा हुर्काइन्छ । एमालेको इतिहास जरा हो, नयाँ पुस्ता पालुवा हो,’ ओलीले भनेका छन्, ‘हस्तान्तरण पद खाली गर्ने आकस्मिक र मनमौजी घटना होइन ।’

ओलीले प्रतिवेदनमार्फत नेतृत्व परिवर्तनको मागलाई अस्वीकार गरिरहेका बेला सोमबार बसेको केन्द्रीय कमिटी बैठकमै उनको बैठक सञ्चालन शैलीलाई लिएर नेता कृष्णगोपाल श्रेष्ठले आपत्ति जनाएका छन् । 

बैठकमा सहभागी केन्द्रीय सदस्य दीपक कार्कीका अनुसार महासचिव शंकर पोखरेललाई बैठक सञ्चालनबाट अलग राखिएको विषयमा श्रेष्ठले असन्तुष्टि जनाएका थिए ।

एमालेका बैठक सामान्यतः महासचिवले सञ्चालन गर्दै आएका थिए । तर, पछिल्लो समय पार्टी पुनर्गठनका लागि नेतृत्व छोड्नुपर्ने धारणा राख्न थालेपछि ओली र पोखरेलबीच असन्तुष्टि बढेको नेताहरूको भनाइ छ ।

‘अध्यक्षता अध्यक्षको हुने भइहाल्यो, आज त बैठक सञ्चालन पनि उहाँले नै गर्नुभयो,’ कार्कीले भने ‘प्रतिवेदन पनि आफ्नो मात्रै पेश गर्नुभयो । कर्ण थापाले पेश गर्न खोज्नुभएको थियो उहाँले समय दिनुभएन ।

कृष्णगोपालले तरिका भएन भनेको उहाँले सुन्नुभएन ।’ कार्कीले मंगलबारबाट अरु नेताहरुले बोल्ने कार्यक्रम छ ।

View : 57

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved