इटहरी । नेपाली कांग्रेस रामधुनीका निवर्तमान नगर सभापति सुदीप अधिकारीले सुनसरी क्षेत्र नम्बर २ को क्षेत्रीय सभापति पदका लागि बलियो दाबेदारी प्रस्तुत गरेका छन् ।
दुई दशक लामो राजनीतिक यात्रा पार गरिसकेर युवा नेतृत्वका रुपमा स्थापित बनेका अधिकारीले बदलिँदो राजनीतिक वातावरणमा पुरानै कार्यशैली र विगतका गल्ती दोहोर्याएर नयाँ परिणाम हासिल गर्न नसकिने निष्कर्शसहित क्षेत्रीय सभापतिको उम्मेदवार बनेका हुन् । उनले पार्टीमा नयाँ पुस्ताको सोच, आधुनिक प्रविधि र गतिशील कार्यशैलीलाई जोड्न आफ्नो उम्मेदवारी रहेको बताएका छन् ।
‘आजको बदलिँदो राजनीतिक वातावरणमा पुराना गल्ती दोहोर्याएर नयाँ परिणाम हासिल गर्न सकिँदैन,’ अधिकारीले भने, ‘अग्रज नेताहरूको अमूल्य अनुभवलाई मार्गदर्शनका रूपमा लिँदै नयाँ पुस्ताको सोच, आधुनिक प्रविधि र गतिशील कार्यशैलीलाई पार्टीमा जोड्न मेरो उम्मेदवारी हो ।’
अधिकारीले आफू पार्टीभित्र अनुभव र नयाँपनबीचको दरिलो सेतु बन्न चाहेको बताएका छन् । युवामाझ आफ्नो राजनीतिक सक्रियता र संगठनात्मक भूमिकाका कारण परिचित अधिकारीले क्षेत्रीय सभापति निर्वाचित भए पार्टीको संगठनलाई थप व्यवस्थित, पारदर्शी र कार्यकर्तामैत्री बनाउने एजेन्डा अघि सारेका छन् ।
‘नयाँ सोच, अनुभवी मार्गदर्शन’ लाई पहिलो प्राथमिकतामा राखेका छन् । वरिष्ठ नेताहरूको अनुभवसँग नयाँ पुस्ताको सोच, प्रविधि र गतिशील कार्यशैली जोड्ने उनको प्रस्ताव छ ।
त्यस्तै, तल्लो तहमा काम गर्ने कार्यकर्ताको योगदानलाई नीतिगत तहसम्म पुर्याउँदै योगदानको उचित मूल्यांकन गर्ने र पारदर्शी मूल्यांकन प्रणाली विकास गर्ने उनले बताएका छन् ।
अधिकारीले क्षेत्रीय नेतृत्वका लागि स्पष्ट रोडम्याप र जवाफदेहितालाई पनि आफ्नो एजेन्डामा समेटेका छन् । निर्वाचित भएपछि स्पष्ट कार्ययोजना बनाउने र ६–६ महिनामा कार्यप्रगति सार्वजनिक गर्ने उनले प्रतिबद्धता जनाएका छन् ।
त्यसैगरी, पद वा पहुँचभन्दा योगदान, क्षमता र सक्रियतालाई आधार बनाएर अवसर दिने तथा संगठनलाई समावेशी र कार्यकर्तामैत्री बनाउने उनले प्रस्ताव गरेका छन् । जसअन्तर्गत समावेशी र कार्यकर्तामैत्री संगठन निर्माणलाई प्राथमिकता दिने उनले बताए ।
अधिकारीले पार्टीभित्र समूहगत प्रभाव र व्यक्तिगत पहुँचभन्दा विधि, विधान र संस्थागत प्रक्रियालाई प्राथमिकता दिने बताएका छन् । उनले पार्टी सञ्चालनमा व्यक्ति होइन, विधि र विधानलाई केन्द्रमा राखिनुपर्ने बताए ।
‘सबै कार्यकर्ताको साझा संगठन’ निर्माण गर्ने र आफूले विगतमा अवसर नपाएका वा निष्क्रिय रहेका कार्यकर्ताको सहभागिता र अपनत्व बढाउँदै पार्टीलाई साझा घरका रूपमा विकास गर्ने पनि बताए ।
आफ्नो राजनीतिक यात्राका क्रममा पार्टी संगठनमा सक्रिय रहँदै आएका उनले अब क्षेत्रीय तहको नेतृत्वका लागि दाबी प्रस्तुत गरेका हुन् ।
क्षेत्रीय सभापतिमा उम्मेदवारी प्रस्तुत गर्दै अधिकारीले नेपाली कांग्रेसका नेता–कार्यकर्ता, सुनसरी–२ अन्तर्गतका सबै वडाका सभापति तथा सम्पूर्ण क्षेत्रीय प्रतिनिधिहरु समक्ष मतका अपिल गरेका छन् ।
View : 63
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved