Biratnagar, Morang, Nepal
२३ जेठ २०८३, शनिवार
+977 21 450305, 515728, 578305
कोशी

उद्योगी महेश जाजू भन्छन्– सस्तो विद्युत र स्वदेशमै उद्योग

उद्‌घोष संवाददाता
७ जेठ २०८३, बिहिवार

विराटनगर । संघीय सरकार आगामी आर्थिक वर्ष २०८३–८४ को बजेट निर्माणको अन्तिम तयारीमा रहेका बेला विराटनगरका उद्योगी–व्यवसायीहरूले स्वदेशी उद्योग संरक्षण र उत्पादनमुखी अर्थतन्त्र निर्माणलाई प्राथमिकतामा राख्न सरकारलाई सुझाव दिएका छन् ।

उनीहरूले नेपालमा उपलब्ध प्रचुर जलविद्युतलाई सस्तो दरमा उद्योग क्षेत्रलाई उपलब्ध गराएर औद्योगिकीकरणमार्फत अर्थतन्त्रलाई बलियो बनाउनुपर्ने बताएका छन् ।

नेपाल उद्योग वाणिज्य महासंघका पूर्वकेन्द्रीय सदस्य तथा मोरङ उद्योग व्यापार संघका पूर्वअध्यक्ष महेश जाजू नेपालले ऊर्जा उत्पादनमार्फत अर्थतन्त्रमा क्रान्तिकारी परिवर्तन ल्याउन सक्ने सम्भावना रहेको बताउँछन् । 

उद्घोषसँगको कुराकानीमा उनले भने, ‘अब जसरी हुन्छ, स्वदेशमै उत्पादनशील क्षेत्रमा लगानी गर्ने उद्योगलाई सहुलियतपूर्ण दरमा विद्युत उपलब्ध गराउनुपर्छ ।’ 

उनका अनुसार, यसो गर्न सके उद्योगमा लगानी बढ्ने, उत्पादन लागत घट्ने र नेपाली उत्पादन अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धी बन्छ ।

एसियन थाइ फुड्ससहित विभिन्न उद्योग सञ्चालन गरिरहेका जाजू नेपालको जलविद्युत नै उद्योग प्रवद्र्धनको सबैभन्दा ठूलो आधार बन्न सक्ने विश्वास व्यक्त गर्छन् । 

उनका अनुसार उद्योग सञ्चालनका लागि कच्चा पदार्थ जत्तिकै महत्वपूर्ण विद्युतीय ऊर्जा हो ।

नेपालमा धेरैजसो उद्योगका कच्चा पदार्थ विदेशबाट आयात गर्नुपर्ने बाध्यता भए पनि विद्युत भने नेपालमा प्रशस्त उपलब्ध हुने सम्भावना रहेको र त्यसको आपूर्ति पनि सजिलै हुने उनले उल्लेख गरे ।

हाल नेपालले अतिरिक्त विद्युत भारत र बंगलादेशमा निर्यात गरिरहेको भए पनि त्यसबाट अपेक्षाकृत लाभ प्राप्त नभएको जाजूको भनाइ छ । 

‘बिजुली बेच्दा बिजुलीको मात्र पैसा आउँछ’ उनी भन्छन्, ‘त्यही बिजुली नेपालकै उद्योगमा खपत गर्दा उत्पादन वृद्धि हुन्छ, रोजगारी सिर्जना हुन्छ र नेपालमै राजश्व थपिन्छ ।’  

स्वदेशमै उत्पादनशील क्षेत्रमा लगानी गर्ने उद्योगलाई सहुलियतपूर्ण दरमा विद्युत उपलब्ध गराउन सके उद्योगमा लगानी बढ्ने, उत्पादन लागत घट्ने र नेपाली उत्पादन अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धी बन्ने उनको बुझाइ छ ।

नेपालसँग सबैभन्दा ठूलो सम्भावना जलविद्युत क्षेत्रमै रहेको उल्लेख गर्दै भविष्यमा १० हजार मेगावाटभन्दा बढी अतिरिक्त विद्युत विदेश निर्यात गर्नुभन्दा स्वदेशी उद्योगलाई प्राथमिकताका साथ सस्तो दरमा उपलब्ध गराउनु मुलुकको हितमा हुने जाजू बताउँछन् । 

विशेषगरी सिमेन्ट, डन्डी, स्टिल, प्लास्टिक, धागो, जुट, चाउचाउ, बिस्कुट, साबुनलगायत उत्पादनमूलक उद्योगका लागि विद्युत अहिले मुख्य कच्चा पदार्थसरह बनिसकेको जाजूसहितका उद्योगीहरूको भनाइ छ । 

जाजूका अनुसार सरकारले उद्योगका लागि सस्तो र सहुलियतपूर्ण विद्युत नीति ल्याए नयाँ उद्योग स्थापना हुने, रोजगारी सिर्जना हुने, युवाको विदेश पलायन घट्ने, आर्थिक गतिविधि बढ्ने र सरकारको राजस्वसमेत वृद्धि हुने अवस्था सिर्जना हुन्छ ।

उनी उपभोग्य वस्तु उत्पादन गर्ने उद्योग विस्तार गरेर आन्तरिक आवश्यकता स्वदेशमै पूर्ति गर्नुपर्ने आवश्यकता औंल्याउँछन् । 

यसले आयातमा निर्भरता घटाउने, कुल गार्हस्थ्य उत्पादन वृद्धि गर्ने र राष्ट्रिय अर्थतन्त्रलाई आत्मनिर्भरतातर्फ अघि बढाउने उनको भनाइ छ ।

हाल नेपाल आयातमुखी अर्थतन्त्रमा निर्भर भएकाले विभिन्न देशसँगको व्यापार घाटा बढिरहेको उद्योगीहरू बताउँछन् । 

आयात बढ्दै जाँदा विदेशी मुद्राको सञ्चिति घट्ने भएकाले निर्यातमुखी उद्योग विकासमा जोड दिनुपर्ने उनीहरूले बताएका छन् ।

उद्योगी जाजू विश्वव्यापी राजनीतिक परिस्थिति, पेट्रोलियम पदार्थको मूल्यवृद्धि, ढुवानी खर्च र कच्चा पदार्थको महंगीका कारण नेपालले स्वदेशी उत्पादनमूलक उद्योगको विकास नगरेसम्म अर्थतन्त्र बलियो बन्न नसक्ने बताउँछन् । 

यसका लागि बिजुली नै नेपालका लागि सञ्जीवनी बुटी सरह हुने उनी बताउँछन् । 

‘किनकि बिजुली हाम्रो आफ्नो उत्पादन हो’ जाजू भन्छन्, ‘यसलाई सोझै अर्कालाई बेच्नुभन्दा नेपालमै बढीभन्दा बढी खपत गर्नतर्फ सबैको बुद्धि विवेक लगाउनुपर्छ ।’

उद्योगी जाजू उत्पादन गरेरमात्र चित्त बुझाउने पक्षमा छैनन् । उनी भन्छन्, ‘अन्तर्राष्ट्रिय बजार विस्तारका लागि विभिन्न देशमा आयोजना हुने प्रदर्शनीमा नेपाली पर्यटनसँगै औद्योगिक उत्पादनको प्रचार–प्रसार पनि गर्नुपर्छ ।’

राज्यले नीति बनाएर नेपाली समुदाय रहेका देशहरूमा पर्यटन र नेपाली उत्पादनको संयुक्त प्रवद्र्धन गर्न सके अर्थतन्त्रका लागि ठूलो अवसर सिर्जना हुने उनी विश्वास व्यक्त गर्छन् ।

उद्योगी जाजू कृषि, वन, ऊर्जा, पर्यटन र निर्माण क्षेत्रलाई उत्पादनशील क्षेत्रका रूपमा प्राथमिकतामा राखेर बजेटको व्यवस्था गर्नुपर्ने आवश्यकता रहेको बताउँछन् । 

पर्यटनमा पनि उनी धार्मिक पर्यटनको सम्भावनालाई अलिक बढाएर लैजानुपर्नेमा जोड दिन्छन् ।

भारतका विभिन्न राज्यले धार्मिक पर्यटनबाटै राम्रो आर्जन गरेको उल्लेख गर्दै नेपालले पनि मुक्तिनाथ, पाथीभरा, हलेसी, बुद्धको जन्मस्थलजस्ता क्षेत्रलाई धार्मिक पर्यटक गन्तव्य बनाउनुपर्ने जाजू बताउँछन् । 

विदेशी लगानी आकर्षित गर्न नयाँ औद्योगिक नीति आवश्यक रहेको उल्लेख गर्दै उनले कर छुट, सहुलियत तथा अन्य प्रोत्साहन कार्यक्रमसहित उद्योगमैत्री वातावरण बनाउनुपर्ने बताए । 

नेपालमा उपलब्ध जलविद्युत अन्य देशको तुलनामा ३० देखि ४० प्रतिशतसम्म सस्तो दरमा उपलब्ध गराउन सके विदेशी लगानी आकर्षित गर्न सहज हुने उनको भनाइ छ ।

उद्योगी जाजू भारतले विभिन्न राज्य र संघीय स्तरमा पुँजी अनुदान, ढुवानी अनुदान, बैंक ब्याज अनुदान, विद्युत सहुलियत, कर छुट तथा प्रोत्साहन कार्यक्रममार्फत औद्योगिक विकासलाई तीव्रता दिएको उदाहरण नेपालले पनि अनुसरण गर्नुपर्ने बताउँछन् ।

ऊर्जा क्षेत्रमा सरकारले आगामी वर्षहरूमा ३० हजार मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य लिएको छ । 

हाल करिब ४ हजार ३०० मेगावाट विद्युत उत्पादन भइरहेको अवस्थामा भविष्यमा २५ हजार मेगावाटभन्दा बढी अतिरिक्त विद्युत उत्पादन हुने अपेक्षा गरिएको छ । 

पर्याप्त विद्युत उत्पादन भएपछि उद्योग क्षेत्रलाई सस्तो दरमा विद्युत उपलब्ध गराउन सके नेपाल लगानीकर्ताहरूका लागि आकर्षक गन्तव्य बन्न सक्ने उद्योगी जाजू विश्वास व्यक्त गर्छन् ।

View : 616

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved