Biratnagar, Morang, Nepal
५ साउन २०८३, मङ्गलवार
+977 21 450305, 515728, 578305
राष्ट्रिय

भूकम्प प्रभावित क्षेत्रमा विशिष्टको लावालस्करले आतंक मच्चायो : नेता पोखरेल

उद्‌घोष संवाददाता
२३ कार्तिक २०८०, बिहिवार

Advertisement

धनकुटा, २३ कात्तिक : नेकपा एमालेका बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले भूकम्प प्रभावित क्षेत्र जाजरकोट र रुकुम पश्चिममा सरकारी विशिष्ट व्यक्तिको लावालस्करले आतंक मच्चाएको बताएका छन् । 

प्रेस चौतारी धनकुटाले बिहीबार जिल्ला सदरमुकाममा गरेको पत्रकार सम्मेलनमा बोल्दै उपाध्यक्ष पोखरेलले राष्ट्रपति, प्रधानमन्त्री र मन्त्रीहरूको लावालस्करले पर्यटन आतंक खडा गरेको बताएका हुन् ।

राहत लिएर जाने भन्दा पनि रमिता हेर्न जाने क्रम बढी भएकाले भूकम्प पीडितलाई थप समस्या बनाएको नेता पोखरेलको भनाइ छ । विशिष्ट व्यक्तिको हेलिकप्टरको हावाले भूकम्प पीडितको टेन्ट उडाएको उदाहरण दिदैं नेता पोखरेलले अहिले रमिता हेर्न जानेको भन्दा राहत लिएर जानेको खाँचो रहेको बताए । 

‘भूकम्प प्रभावित क्षेक्रमा सरकारका विशिष्ट व्यत्तिहरूको लावालस्करले पर्यटन आतंक खडा गरेको छ,’ नेता पोखरेलले भने, ‘भूकम्प पीडितलाई अहिले रमिता हेर्ने मान्छे हैन, राहत लिएर जाने मान्छे चाहिएको छ, त्यो हामीले विचार गर्नुपर्छ ।’

भूकम्प पीडितलाई राहत र उपचारका क्रममा पनि राजनीतिक पूर्वाग्रह राखिएको गुनासो आएको भन्दै नेता पोखरेलले सरकारले सबैलाई समान व्यवहार गर्नुपर्ने धारणा राखे । 

भूकम्प पीडितको सवालमा एमाले गम्भीर रहेको भन्दै नेता पोखरेलले एमालेले केही दिनभित्र एक हजार स्वयंसेवक सो क्षेत्रमा खटाएर प्रभावितहरूलाई पुनर्स्थापित गर्न सहयोग गर्ने जानकारी दिए ।

प्रेस चौतारी धनकुटाका अध्यक्ष रविन कटेलको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा एमाले केन्द्रीय सदस्य राजेन्द्र राई, प्रदेश उपाध्यक्ष टीकाराम चेम्जोङ, जिल्ला अध्यक्ष इन्द्रमणि पराजुलीलगायत पनि सहभागी थिए । 

नेकपा एमाले धनकुटाको ७ औं जिल्ला अधिवेशन प्रतिनिधि परिषद्को प्रथम बैठकका लागि नेता पोखरेल धनकुटा आएका हुन् । उनी बिहीबार नै काठमाडौं फर्किएका छन् ।

View : 770

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved