विराटनगर । भारतीय पक्षले गुणस्तर परीक्षणका नाममा नेपाली चिया निर्यातमा लगाएको गैर–भन्सार अवरोधका कारण चिया उद्योग संकटमा परेको भन्दै नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशले तत्काल कूटनीतिक पहलमार्फत निकासी सहज बनाउन सरकारसँग माग गरेको छ ।
चिया निर्यातको समस्या जटिल बन्दै गएपछि महासंघका अध्यक्ष राजेन्द्र राउतले बुधबार विज्ञप्ति निकालेर पहलका लागि सरकारसँग माग गरेका हुन् । उनले झापा, इलाम लगायतका जिल्लामा उत्पादित चिया भारतीय नाकामा रोकिंदा उद्योग, किसान, श्रमिक र समग्र स्थानीय अर्थतन्त्र प्रभावित भएको बताएका छन् ।
नेपालको प्रमुख निर्यातजन्य वस्तुका रूपमा रहेको चियाले रोजगारी सिर्जना, वैदेशिक मुद्रा आर्जन, पर्यटन प्रवद्र्धन तथा वातावरणीय सन्तुलनमा महत्वपूर्ण योगदान पुर्याउँदै आएको अध्यक्ष राउतले बताए । उनले हालको अवरोधले उद्योग क्षेत्रलाई गम्भीर संकटमा धकेलेको भन्दै तत्काल सहजीकरणको प्रक्रिया अघि बढाउन आग्रह गरेका छन् ।
भारतीय पक्षको अवरोधका कारण ठूलो परिमाणमा तयारी चिया सीमाक्षेत्रमै रोकिएको छ । यसबाट उद्योगहरूमा मौज्दात बढ्दै गएको, नगद प्रवाहमा समस्या उत्पन्न भएको तथा हजारौं किसान, श्रमिक र उद्यमी प्रत्यक्ष मारमा परेको महासंघको भनाइ छ ।
नेपालमा करिब १० हजार हेक्टर क्षेत्रफलमा चिया खेती हुँदै आएको छ । वार्षिक २ करोड ७४ लाख केजी चिया उत्पादन हुने नेपालबाट भारतमा मात्रै करिब २ करोड ५६ लाख केजी चिया निर्यात हुने गरेको तथ्यांक महासंघले उल्लेख गरेको छ । चिया उद्योगसँग प्रत्यक्ष रूपमा २० हजारभन्दा बढी मानिसको रोजगारी जोडिएको छ ।
अध्यक्ष राउतले निर्यात अवरोधका कारण चिया उद्योगहरू विगत तीन दिनदेखि अनिश्चितकालीन बन्दको अवस्थामा पुगेको बताए ।
उद्योग सञ्चालन प्रभावित हुँदा किसानले हरियो पत्ती बिक्री गर्न नसक्ने, श्रमिकको रोजगारी जोखिममा पर्ने र चिया उत्पादन शृंखलामै असर पर्ने अवस्था सिर्जना भएको छ ।
पछिल्लो समय भारतले नेपाली चियाको निर्यातका लागि अतिरिक्त गुणस्तर प्रमाणीकरण र परीक्षणसम्बन्धी प्रक्रिया अनिवार्य गर्न खोजेपछि पूर्वी नाकाहरूमा चिया ढुवानी रोकिएको हो ।
उद्योगीहरूका अनुसार यसअघि वर्षौंदेखि निर्यात हुँदै आएको चियामा अचानक थप प्राविधिक शर्त लगाइँदा व्यापारिक अनिश्चितता बढेको छ । यसले नेपाल–भारतबीचको स्थापित व्यापार प्रणालीमै असर पारेको उनीहरूको गुनासो छ ।
महासंघले विगतमा यस्ता समस्या आपसी संवाद र कूटनीतिक पहलबाट समाधान हुँदै आएको उल्लेख गर्दै यसपटक पनि नेपाल सरकारले उच्चस्तरीय पहल गरी निकासीको वातावरण सहज बनाउन आग्रह गरेको छ ।
साथै, नेपाल उद्योग वाणिज्य महासंघ केन्द्रले समेत सम्बन्धित निकायसँग आवश्यक समन्वय गरी नेपाली चिया उद्योग, किसान र श्रमिकको हित संरक्षणका लागि सक्रिय भूमिका खेल्नुपर्ने माग गरेको छ ।
महासंघले चिया क्षेत्र नेपालको निर्यात अर्थतन्त्रको महत्वपूर्ण आधार भएकाले यसको संरक्षण र प्रवद्र्धनमा सरकार, निजी क्षेत्र तथा कूटनीतिक संयन्त्र सबैको संयुक्त पहल आवश्यक रहेको जनाएको छ ।
View : 176
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved