Biratnagar, Morang, Nepal
१९ वैशाख २०८२, शुक्रवार
+977 21 450305, 515728, 578305
साहित्य

लेखक दिवसमा स्रष्टा सम्मान

उद्‌घोष सम्वाददाता
१८ वैशाख २०८२, बिहिवार

विराटनगर । तेस्रो लेखक दिवसका अवसर पारेर नेपाली लेखक संघ कोशी प्रदेश र उदयपुर शाखाले स्रष्टा सम्मान तथा रचना वाचन कार्यक्रम गरेको छ । 

उदयपुरको सदरमुकाम गाईघाटमा आयोजित कार्यक्रममा भाषा, साहित्य र संस्कृतिको क्षेत्रमा योगदान पुर्याउने दुईजना स्रष्टालाई सम्मान गरिएको थियो । 

कार्यक्रममा गोवर्द्धन तामाङ र तेजनारायण शेर्पा ‘रञ्जन’ लाई सम्मान गरिएको हो । 

कार्यक्रममा वरिष्ठ साहित्यकार प्राडा गोपाल भण्डारी, लेखक संघ कोशी प्रदेश अध्यक्ष गोकुल अधिकारी, संघका प्रदेश महासचिव समेत रहेका प्रेस युनियन कोशी प्रदेश अध्यक्ष मीनकुमार नवोदित, उदयपुर शाखा अध्यक्ष वासुदेव पोखरेललगायतले दोसल्ला ओढाएर सम्मानपत्र प्रदान गरेका थिए । 

तामाङ र शेर्पा विगत साढे ६ दशकभन्दा लामो समयदेखि भाषा, साहित्य, संस्कृतिका क्षेत्रमा सक्रिय छन् । 

सोही अवसरमा आयोजित सिर्जना वाचनमा कार्यक्रममा  प्रकाश विमित, हरिशरण खतिवडा, कौशल चेम्जोङ, लक्ष्मी रायमाझी, सुमन पोखरेल, मुनाल पोखरेल, अञ्जु अश्रु, कृष्ण अधिकारी, कुमार कोइराला, कृतिबहादुर खत्री, महेन्द्र राई, पेशलकुमार दाहाल, रविन्द्र शाहीलगायतल तीन दर्जनभन्दा बढीले आ–आफ्ना सिर्जना प्रस्तुत गरेका थिए ।

मोरङमा पनि विविध कार्यक्रम

नेपाली लेखक संघ मोरङ र गुराँस पुस्तकालयको संयुक्त आयोजनामा ‘बीपीको साहित्यमा समाजवाद’ विषयमा विशेष बहस कार्यक्रम गरिएको छ । 

गुराँस पुस्तकालयको सभाकक्षमा आयोजित विशेष बहस कार्यक्रममा प्राध्यापक कविराज न्यौपाने  प्रमुख अतिथि र साहित्यकार बलराम पोखरेल विशिष्ट अतिथिको रूपमा उपस्थित थिए । 

 साहित्यकार सीमा आभासले विश्वेश्वरप्रसाद कोइरालाको साहित्यमा समाजवादी विचारधाराको अभिव्यक्ति कसरी देखिन्छ भन्ने विषयमा विश्लेषण प्रस्तुत गरेकी थिइन् । बहससँगै साहित्यिक रचनावाचनसमेत गरिएको थियो । 

कार्यक्रमको स्वागत मन्तव्य लक्ष्मी पोखरेलले दिएकी थिइन् भने कार्यक्रमको उद्देश्यबारे चूडामणि नेपाल ‘अकिञ्चन’ ले प्रकाश पारेका थिए । 

कविहरू रोहिणी रसिक, भवानीप्रसाद पोखरेल, पुष्पा सायरा, राधा भट्टराई, प्रिन्स प्रमोद, बाबुराम पोखरेल, रञ्जना भट्टराई, प्रमिला प्याकुरेल, प्रतिमा निरौलालगायतले रचना वाचन गरेका थिए । 

कार्यक्रमको सञ्चालन नेपाली लेखक संघ मोरङकी सचिव शुभलक्ष्मी लम्सालले गरेकी थिइन् ।

View : 29

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved