Biratnagar, Morang, Nepal
२५ फागुन २०८२, सोमवार
+977 21 450305, 515728, 578305
स्वास्थ्य

रानी आँखा अस्पतालको निःशुल्क मोतियाबिन्दु शल्यक्रिया

उद्‌घोष संवाददाता
१६ फागुन २०८२, शनिवार

विराटनगर । विराटनगरस्थित रानी आँखा अस्पतालले ज्येष्ठ नागरिक, विपन्न तथा असहाय नेपाली नागरिकलाई लक्षित गर्दै प्रत्येक दिन तीन जनासम्मको मोतियाबिन्दु शल्यक्रिया निःशुल्क रूपमा गर्ने भएको छ ।

निःशुल्क शल्यक्रिया सेवा लिन ६५ वर्ष उमेर नाघेका नेपाली नागरिक हुनुपर्ने अस्पतालले जनाएको छ । तर एकल महिला तथा अपाङ्गता भएका व्यक्तिहरूका हकमा भने उमेर हद लागू नहुने व्यवस्था गरिएको अस्पतालकी प्रशासन प्रमुख प्रतिक्षा बाँस्तोलाले जानकारी दिइन् ।

स्थापना भएको छोटो समयमै गुणस्तरीय सेवा दिन सफल भएकै कारण सामाजिक उत्तरदायित्वअन्तर्गत यस्तो निःशुल्क सेवा सुरु गर्न सकिएको उनले बताइन् । 

उनका अनुसार यो सेवा लिन एकल महिला तथा अपाङ्गता भएका व्यक्तिहरूका लागि भने उमेर हद लागू हुने छैन ।

निःशुल्क सेवा लिने सूचीमा पर्नेहरू एकै दिन धेरै भए दैनिक तीन जनाका दरले अर्को दिन पनि सेवा दिने व्यवस्था गरिएको अस्पतालका वरिष्ठ नेत्र रोग तथा कोर्निया विशेषज्ञ डा.अभिषेक सुवालले जानकारी दिए ।

निःशुल्क सेवा नेपाली नागरिकलाई मात्रै भएको र यो सेवा लिन आउने ज्येष्ठ नागरिक, विपन्न तथा असहायले आफ्नो परिचय खुल्ने नागरिकता र राष्ट्रिय परिचयपत्र लिएर आउनुपर्ने अस्पतालले स्पष्ट पारेको छ ।

View : 67

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved