Biratnagar, Morang, Nepal
२३ जेठ २०८३, शनिवार
+977 21 450305, 515728, 578305
कोशी

मोरङमा तोकिए मुख्य निर्वाचन र निर्वाचन अधिकृत

उद्‌घोष संवाददाता
२२ पुष २०८२, मङ्गलवार

विराटनगर । निर्वाचन आयोगले आगामी फागुन २१ गते तोकिएको प्रतिनिधिसभा निर्वाचनका लागि ७७ वटै जिल्लामा मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतहरू तोकेको छ । आयोगले ७७ जना जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत तोकेको हो । 

आयोगले निर्वाचनका लागि अन्य ३६ जना जिल्ला न्यायाधीशलाई जगेडामा समेत राखेको उल्लेख गरेको छ । 

आयोगले पुस २५ गतेदेखि लागू हुनेगरी प्रतिनिधिसभा सदस्य ऐन २०७४ को दफा ८ बमोजिम न्याय परिषद्को परामर्शमा ८८ जना मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत नियुक्त गरेको जनाएको छ । 

कोशी प्रदेशको सबैभन्दा धेरै छवटा निर्वाचन क्षेत्र रहेको मोरङसहित १४ वटै जिल्लामा मुख्य निर्वाचन अधिकृत तोकिएका छन् । 

मोरङ जिल्ला अदालतका न्यायाधीश भीष्मराज प्रसाईं मुख्य निर्वाचन अधिकृतका साथै क्षेत्र नम्बर (६) को निर्वाचन अधिकृतसमेत तोकिएका हुन् । 

क्षेत्र नम्बर (१) मा उपन्यायाधिवक्ता प्रकाश घिमिरे, क्षेत्र नम्बर (२) मा जिल्ला सरकारी वकिल कार्यालय सोलुखुम्बुका जिल्ला न्यायाधीश रुद्रप्रसाद आचार्य, क्षेत्र नम्बर (३) मा सर्वोच्च अदालतका इजलास अधिकृत रुद्रप्रसाद अर्याल, क्षेत्र नम्बर (४) मा सर्वोच्चका इजलास अधिकृत घनेन्द्र अधिकारी र क्षेत्र नम्बर (५) मा सर्वोच्चकै इजलास अधिकृत मदनप्रसाद पराजुली निर्वाचन अधिकृत तोकिएका छन् ।

यसरी नियुक्त भएका मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतलाई आउँदो माघ २ गतेदेखि निर्वाचन क्षेत्रमा खटिनसमेत निर्देशन दिंदै मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरी निर्वाचनका कार्यक्रम सञ्चालन गर्न आयोगले निर्देशन दिएको जनाइएको छ ।

२७५ सदस्यीय प्रतिनिधिसभाका लागि प्रत्यक्ष निर्वाचन प्रणालीबाट १६५ जना र समानुपातिक निर्वाचन प्रणालीमार्फत ११० जना निर्वाचित हुनेछन् । 

कोशी प्रदेशमा २८ वटा प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा निर्वाचन हुनेछ ।

View : 258

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved