विराटनगर । विराटनगर–७ स्थित कोशी अस्पताल परिसरमा रहेको नेपाल क्षयरोग निवारण संस्थालाई अस्पतालले १५ दिनभित्र जग्गा खाली गर्न पत्र काटेपछि विवाद उत्पन्न भएको छ ।
कोशी अस्पतालले असार ५ गते काटेको पत्र असार ८ गते संस्थालाई बुझाएपछि आबद्ध पदाधिकारीहरूले पत्रकार सम्मेलन गरी उचित व्यवस्थापन बिना हट्न नसक्ने बताएका हुन् ।
कोशी प्रदेशको एकमात्र यो टीबी अस्पतालले कोशी, मधेश प्रदेश र भारतको पटनासम्मका बिरामीहरूलाई निःशुल्क उपचार सेवा प्रदान गर्दै आएको छ ।
२०१६ सालमा स्थापना भएको सो संस्था स्वायत्त रूपमा सञ्चालनमा रहे पनि २०२२ सालको नापीका क्रममा कोशी अस्पतालले संस्था रहेको परिसरसमेत आफ्नो नाममा दर्ता गराएको संस्थाका पदाधिकारीको भनाइ छ ।
संस्थाका सचिव भविशकुमार श्रेष्ठका अनुसार मानवीय सेवामा समर्पित संस्थालाई अकस्मात खाली गर्न पत्र काट्दा बिरामी र पदाधिकारीहरूमा अन्योल छाएको बताए ।
पत्रकार सम्मेलनमा बोल्दै संस्थाका कार्यवाहक सभापति भैरव क्षेत्रीले जटिल प्रकृतिका क्षयरोगीहरू आवासीय सुविधासहित उपचाररत रहेको अवस्थामा उचित विकल्पबिना हटाउन खोज्नु गलत भएको बताए ।
उनका अनुसार उच्च अदालतले समेत २०७७ माघ २६ गते ‘उचित व्यवस्थापन गरेर मात्र जग्गा खाली गराउनू’ भनी आदेश दिएको थियो ।
त्यस्तै, २०७६ फागुन १४ गते बसेको सर्वदलीय बैठकले पनि संस्थालाई उपयुक्त स्थानमा स्थानान्तरण गर्ने निर्णय गरेको थियो ।
सभापति क्षेत्रीले गम्भीर प्रकृतिका क्षयरोगीहरूलाई बिना तयारी जहाँ पायो त्यहीं सार्दा सिङ्गो समाज नै सङ्क्रमित हुन सक्ने जोखिम रहेकाले संस्थाको उपचार कार्यलाई उचित स्थानमा ब्यवस्थापन गरेर मात्र सार्न माग गरे ।
विगतमा ६ कट्ठाभन्दा बढी जग्गामा उपचार केन्द्र, बिरामी आवास, प्रयोगशाला र कार्यालय सञ्चालन गर्दै आएको संस्थाले यसअघि नै साढे ३ कट्ठा जग्गा छाडिसकेको छ ।
हाल बाँकी रहेको ३ कट्ठा क्षेत्रफलको संरचनाबाट सेवा प्रवाह भइरहेको छ ।
संस्थाले दातृ निकायको सहयोग र परिसरमा रहेका सटरहरूको भाडाबाट व्यवस्थापकीय खर्च धान्दै आएको छ भने नेपाल सरकारले संस्थालाई टीबीको औषधि निशुल्क उपलब्ध गराउँदै आएको छ ।
हाल सो संस्थामा स्वास्थ्यकर्मी र कर्मचारीसहित २७ जना कार्यरत छन् भने १८ जना आवासीय र ३० जना नियमित फलोअपका बिरामीले उपचार पाइरहेका छन् ।
संस्थाले उपचारपछि विरामीको पुनस्र्थापना गर्ने कार्यसमेत गर्दै आएको छ ।
कोशी अस्पतालले क्षयरोग निवारण संस्थाका अतिरिक्त आफ्नो परिसरमा रहेका नेपाल रेडक्रस सोसाइटी, देवकोटा पुस्तकालय, गणेश मन्दिर र वनसखण्डी मन्दिरलाई समेत जग्गा खाली गर्न पत्र काटेको बुझिएको छ ।
View : 51
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved