विराटनगर । मोरङको ग्रामथान गाउँपालिकाका अध्यक्ष नमोनारायण माझीले शिक्षकहरूको जथाभावी सरुवा गरेका छन् ।
उनले आफ्नो एकल निर्णयमा नियम विपरित शिक्षक सरुवा गरेपछि शिक्षा शाखाका कर्मचारीले सरुवाको पत्रमा हस्ताक्षर गर्न नमान्दा आफैंले हस्ताक्षर गरेर पत्र पठाएका हुन् ।
अध्यक्ष माझीले शिक्षा समितिको निर्णय भन्दै वडा नम्बर ६ स्थित पब्लिक माध्यमिक विद्यालयमा अध्यापनरत निमावि गणित विज्ञान विषयका शिक्षक अशोक खतिवडालाई दुराशयपूर्ण रुपमा काज सरुवा गरेका हुन् ।
आफूखुसी रुपमा शिक्षक कर्मचारीको दरबन्दी मिलान तथा समायोजन सम्बन्धि कार्यविधि पारित भएको बताउँदै सोही अनुसार शिक्षक खतिवडालाई वडा नम्बर २ स्थित सरस्वती माविमा काज सरुवा गर्ने निर्णय भएपछि विद्यार्थी र अभिभावकहरूले विरोध जनाएका छन् ।
शिक्षक खतिवडा सो विद्यालयमा २०७९ सालमा शिक्षक सेवा आयोग उत्तीर्ण गरेर पोष्टिङ भएका थिए ।
विद्यालयको शैक्षिक सुधारका लागि शिक्षक खतिवडाले समुदायको समेत मन जितेर काम गरिरहेको बेला मेयर माझीले प्रतिशोधपूर्ण रुपमा उनको सरुवा गरेका हुन् ।
शिक्षक सरुवाको विरोधमा उत्रिएका विद्यार्थी र अभिभावकहरूले ‘शिक्षामा राजनीति गर्ने दलालहरू कुर्सी छोडेर भागिहाल, शिक्षकमाथिको दुव्र्यवहार अन्त्य गर, राजनीति र भ्रष्टाचारलाई वाहवाही, असल शिक्षकलाई कारवाही’ भन्दै विरोध जनाउँदै आएका छन् ।
विद्यालयको सुधारमा लागिरहेका शिक्षकलाई विद्यालयसँग कुनै परामर्श नगरी अध्यक्ष माझीले सरुवा गरेपछि ध्यानाकर्षण गराउन पुगेका विद्यार्थीहरूलाई भौतिक आक्रमण गर्ने धम्की दिएको विद्यार्थीहरू गुनासो गरेका छन् ।
शिक्षक खतिवडाले अध्यक्ष माझीले भने आफूमाथि पूर्वाग्रह राखेर सरुवा गरेको गुनासो गरेका छन् ।
उनले विभिन्न स्वार्थ समूह आफूविरुद्ध सक्रिय रहे पनि विद्यालय, अभिभावक र विद्यार्थीको सहयोग भने पाइरहेको बताए ।
शिक्षक खतिवडाले गलत तरिकाले गरिएको सरुवाविरुद्ध कानुनी लडाईँ लड्नसमेत तयार रहेको बताए ।
यता, अध्यक्ष माझीले भने पब्लिक माविमा शिक्षक खतिवडाको कुनै योगदान नरहेको बताए ।
पालिकाको शिक्षा समितिको बैठकले काज सरुवा गरेको बताउँदै विद्यालयमा भएको शिक्षक कर्मचारीको दरबन्दी मिलान र समायोजन गर्ने कार्यविधि बनाएर त्यसमा टेकेर कुनै स्कुललाई भेदभाव नगरी निर्णय गरेको दाबी गरे ।
पालिका स्रोतका अनुसार अध्यक्ष माझीले नियमविपरित शिक्षा सरुवा गरेपछि शिक्षा शाखाका कर्मचारीले सरुवा पत्रमा हस्ताक्षर गर्न नमान्दा आफैंले हस्ताक्षर गरेर विद्यालय र शिक्षकहरूलाई पत्र पठाएका छन् ।
अध्यक्ष माझीले शिक्षक खतिवडासहित अन्य विद्यालयका एक दर्जन शिक्षकहरूको समेत नियम विपरित विभिन्न विद्यालयमा सरुवा गरेको जनाइएको छ ।
View : 815
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved