Biratnagar, Morang, Nepal
२३ जेठ २०८३, शनिवार
+977 21 450305, 515728, 578305
कोशी

वनमन्त्री पराजुलीले सार्वज्निक गरे सय दिने १०० उपलब्धि

उद्‌घोष संवाददाता
२७ वैशाख २०८३, आइतवार

विराटनगर । कोशी प्रदेश सरकारको पर्यटन, वन तथा वातावरण मन्त्रालयले १०० दिनको अवधिमा पर्यटन प्रवद्र्धन, वन व्यवस्थापन र पूर्वाधार विकासका क्षेत्रमा उल्लेखनीय उपलब्धि हासिल गरेको जनाएको छ । 

मन्त्रालयले सार्वजनिक गरेको ‘१०० दिनका १०० उल्लेखनीय कार्य’ मा प्रदेशका विभिन्न जिल्लामा भएका विकास तथा संरक्षणका गतिविधिहरू समेटिएका छन् ।

शुक्रबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै मन्त्रालयले ओखलढुङ्गाको हर्कपुरमा पर्यटन सूचना केन्द्र स्थापना गर्दै पर्यटन पूर्वाधार विस्तारलाई प्राथमिकता दिएको जानकारी दिएको छ । 

कोशी प्रदेशले गण्डकी, बागमती र मधेश प्रदेशसँग अन्तरप्रदेशीय पर्यटन प्रवद्र्धनका लागि समझदारी गर्दै धार्मिक, सांस्कृतिक तथा साहसिक पर्यटनलाई संयुक्त रूपमा प्रचार गर्ने सहमति गरेको मन्त्री भीम पराजुलीले बताए । 

मन्त्री पराजुलीले पोखरा–विराटनगर सिधा हवाई सेवा, पर्यटकीय बस सञ्चालन तथा रामधुनीलाई रामायण सर्किटसंग जोड्ने पहल समेत अघि बढाइएको  बताए ।

त्यस्तैगरी नेपाल पर्यटन बोर्डसँगको सहकार्यमा कोशी प्रदेश पर्यटन वर्ष २०८२ लाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा ब्रान्डिङ गर्ने अभियान सञ्चालन गरिएको मन्त्रालयले जनाएको छ । 

कोशी प्रदेशका होमस्टे प्रवद्र्धनका लागि विभिन्न प्रदेशका व्यवसायीहरूको अवलोकन भ्रमण गराइएको र इलाम, ताप्लेजुङ र खोटाङमा सञ्चालकहरूलाई सीप विकास तालिम प्रदान गरिएको मन्त्रीले बताए । 

संघीय सरकार र स्वीस विकास सहयोगको साझेदारीमा ४६.९ किलोमिटर पदमार्ग निर्माण तथा मर्मत सम्पन्न भएको र विभिन्न स्थानमा १३२ वटा संरचना निर्माण भएको उनले जानकारी दिए ।

मन्त्रालयले मुन्दुम अल्ट्रा ट्रेल र लालीगुराँस महोत्सव जस्ता कार्यक्रमले पर्यटक आकर्षित गरेको दाबी गरेको छ । 

वन व्यवस्थापनतर्फ ७७ वटा सामुदायिक वनको कार्ययोजना नवीकरण गरिएको र वन पैदावारबाट ६ करोडभन्दा बढी राजश्व संकलन गरेको मन्त्रालयले जनाएको छ । 

मानव–हात्ती द्वन्द्व न्यूनीकरणका लागि झापा, मोरङ र सुनसरीमा ड्रोनमार्फत गस्ती सञ्चालन गरिएको र वन्यजन्तु पीडित १ हजार ६६ जनालाई २ करोड १८ लाख रूपैयाँभन्दा बढी राहत वितरण गरिएको मन्त्री पराजुलीले बताए ।

हाब्रे (रेडपाण्डा) संरक्षण र वन डढेलो नियन्त्रणका लागि विभिन्न जिल्लामा उपकरण वितरण र सञ्जाल गठन गरिएको मन्त्रालयले जनाएको छ ।

 मन्त्रालय र प्रदेश वन निर्देशनालयले चालु आर्थिक वर्षमा बेरूजु शून्य कायम गरेको र ७२.५ प्रतिशत भौतिक प्रगति हासिल गरेको बताइएको छ  । 

प्रदेशका १२ जिल्लामा अनुगमन गरी सेवा प्रवाहलाई जनमैत्री बनाउन निर्देशन दिएको मन्त्री पराजुलीले जानकारी दिए ।

View : 145

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved