विराटनगर । कोशी प्रदेश सभाका सभामुख अम्बरबहादुर विष्टले पछिल्ला दिनहरूमा सुनसरीको देवानगञ्ज गाउँपालिका–स्थित कप्तानगञ्जमा भएको दुःखद घटनापछि विभिन्न जिल्लामा विकसित घटनाक्रम र बढ्दो सामाजिक तनावप्रति गम्भीर चिन्ता व्यक्त गर्दै सामाजिक सद्भाव, शान्ति र संयमता कायम राख्न सबै पक्षसँग अपिल गरेका छन् ।
सभामुख विष्टले नेपाली समाज भाषा, धर्म, संस्कृति र समुदायबीचको आपसी भाइचारा, सहिष्णुता र एकतामा आधारित रहेको उल्लेख गर्दै विविधताभित्रको एकता नेपालको वास्तविक शक्ति र पहिचान भएको बताएका छन् । कुनै पनि प्रकारको हिंसा, तनाव र अविश्वासले समाजलाई कमजोर बनाउने र विकासको गतिमा अवरोध सिर्जना गर्ने भएकाले यस्ता गतिविधिबाट टाढा रहन उनले आग्रह गरेका छन् ।
उनले कुनै पनि समस्या, असहमति वा विवादको समाधान शान्तिपूर्ण संवाद, परस्पर सम्मान र कानुनको पालना मार्फत मात्र सम्भव हुने उल्लेख गर्दै उत्तेजना र आवेगमा नआई संयमता अपनाउन सबै पक्षलाई आग्रह गरेका हुन् ।
उनले नागरिक समाज, राजनीतिक दल, धर्मगुरु, बुद्धिजीवी तथा युवा वर्गलाई धैर्य, संयम र आपसी सद्भाव कायम राख्दै सामाजिक शान्ति सुदृढ बनाउन सक्रिय भूमिका खेल्न अनुरोध पनि गरेका छन् ।
सभामुख विष्टले देवानगञ्ज घटनामा ज्यान गुमाएका ओमप्रकाश मेहता, जयप्रकाश मेहता र सिरहाका गणेश यादवप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गरेका छन् । साथै, घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् ।
उनले देवानगञ्ज घटनामा ज्यान गुमाएका परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउने तथा घाइतेहरूको निःशुल्क उपचार गर्ने नेपाल सरकारको निर्णय अविलम्ब कार्यान्वयन गर्न समेत सरकारसँग आग्रह गरेका छन् ।
View : 42
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved